तनहुँ क्षेत्र नं २ मा प्रतिनिधि सभा सदस्यको आकांक्षी बने ईन्जिनियर श्रीराम न्यौपाने

सर्वज्योति
  • ख-
  • ख+

म इन्जिनियर श्रीराम न्यौपाने तनहुँ -२ बाट प्रतिनिधि सभा सदस्यका लागि राष्ट्रिय स्वतन्त्र पार्टीको घन्टी चुनाव चिन्हबाट आकांक्षीको रुपमा प्रस्तुत भएको छु।

मेरो आकांक्षा किन त ?

१. तनहुँमा जन्मेको, हुर्केको अनि भूगोल र जनजीवनसँग प्रत्यक्ष परिचय र उपस्थिति
विगत दुई महिनादेखि तनहुँ क्षेत्र नं. २ का ४३ वटै वडाका अधिकांश भूभागमा प्रत्यक्ष पुगेर कृषक, महिला, वृद्ध, बालबालिका, दलित, जनजाति, विद्यार्थी, शिक्षक, भू पू सैनिक, कर्मचारी, स्वास्थ्यकर्मी, व्यवसायी तथा स्थानीय अगुवासँग संवादका माध्यमबाट स्थानीय समस्या पहिचान गर्ने अवसर प्राप्त भयो।

यो क्षेत्र मेरो लागि कागजी नक्सा होइन—अनुभूत गरिएको यथार्थ बनेको छ।

२. समस्या मात्र होइन, समाधानको ब्लु-प्रिन्ट सहितको उम्मेदवारी
तनहुँ क्षेत्र नं. २ ले दशकौँदेखि भोग्दै आएको

राजमार्ग छेउका बस्तीहरूको सुरक्षा संकट,

१० वर्षदेखि अलपत्र परेका विकास निर्माण आयोजना,

खानेपानी, सडक, सिंचाइ देखि ठूला परियोजनाबाट स्थानीयले नपाएको न्यायोचित लाभ,

वालवालिका, असाहय, ज्येष्ठ नागरिक र वैदेशिक रोजगारीमा गएका युवाहरूको पिडा,

नयाँ सोंच, नयाँ नीति, लक्ष्य, उद्देश्य, संस्थागत संरचनामा सुधार र भावि रणनीति

यी सबै विषयलाई मैले इन्जिनियरिङ ज्ञान, योजना र कार्यान्वयन क्षमता सहित समाधान गर्ने स्पष्ट खाका अगाडि सारेको छु।

३. ऊर्जाको उत्पादन र खपत, पर्यटकीय गन्तव्य, निर्माण सामाग्री उत्पादनको औद्योगिक केन्द्र र कृषिको राष्ट्रिय सम्भावना
तनहुँ क्षेत्र नं. २ केवल निर्वाचन क्षेत्र होइन,
यो देशकै आर्थिक रूपान्तरणको सम्भावनायुक्त केन्द्र हो।

तनहुँ जलविद्युत आयोजनाबाट निर्माण हुने २१ कि मी लामो जलाशयलाई

पर्यटकीय हब (मानुङकोट, जलाशय र टार क्षेत्र)

मत्स्यपालन

जलक्रीडा

होमस्टे, रिसोर्ट लगायत स्थानीय रोजगारी
सँग जोड्ने बहुउपयोगी मोडेल।

कालीगण्डकी कोरिडोरसँगैको रिसिङ–घिरिङका करिब १० हजार हेक्टर समथर भर्जिन टारमा

स्मार्ट भिलेज

डाटा सर्भर स्टेसन

स्टिल प्रोसेसिङ

म्यानुफ्याक्चरिङ प्लान्ट

हाइड्रोजन इनर्जी

रासायनिक मल कारखाना

विस्फोटक पदार्थ

सिमेन्ट उद्योग

गिटी–बालुवा प्रशोधन केन्द्र (शुक्लागण्डकीको समेत)

को स्थापना गरी राष्ट्रिय निर्माण सामग्री हब तथा राष्ट्रिय औद्योगिक रणनीतिक केन्द्र बनाउन सकिने स्पष्ट अवधारणा सहितको भिजन प्रस्तुत गरी नेपाल सरकारलाई ज्ञापनपत्र बुझाइ सकिएको छ।

सुन्तला, अदुवा, अंगुर आदि उत्पादन गरी निर्यात गर्न सकिन्छ भने धान, मकै, गहुँ, कोदो, मास, पिडालु, अमिलो, मह, तोरी, मासु र दुग्धजन्य लगायतका उत्पादनमा आत्मनिर्भर क्षेत्रको रुपमा विकास गर्न सकिन्छ ।
यो भिजन बोल्न होइन, नीति निर्माणदेखि कार्यन्वयन गर्न सक्ने योग्यता, दक्षता, अनुभवका साथै प्राविधिक र प्रमाणित नेतृत्व क्षमता मसँग छ।

४. पेशागत, शिक्षा, स्वास्थ्य र सामाजिक उत्तरदायित्वमा व्यवहारिक र नतिजामुखी संलग्नता
मेरो उम्मेदवारी भाषणमा सीमित छैन।
मैले तनहुँ क्षेत्र नं. २ मा—

विद्यालयहरूमा डिजिटल शैक्षिक सामग्रीसहित स्मार्ट बोर्ड जडान,

अपाङ्ग तथा अशक्तलाई व्हीलचेयर वितरण,

आमा समूह तथा टोल विकास समितिलाई स्ट्रेचर वितरण,

विद्यार्थीलाई कापी–कलम र शैक्षिक सामग्री,

विद्यार्थी, शिक्षक र स्थानीय अगुवालाई जलविद्युत आयोजनाको शैक्षिक भ्रमण,

विद्यालय सुधारका उपायहरु बारे सरोकारवाला सबैसंग छलफल, संवाद र अन्तर्क्रिया,

थुप्रै युवाहरुलाई रोजगारी,

साथै मेरो विगतको सफलताको कथाले भविष्यको संभावनालाई झल्काउँछ
विगतमा ०६२/०६३ को आन्दोलन लगत्तै गठित संविधानसभाका ६०१ सदस्यका लागि नि:शुल्क इन्टरनेट इमेल तालिम कार्यक्रम,

सरकारी विद्यालयका शिक्षकहरूलाई निःशुल्क कम्प्युटर तालिम एवं निःशुल्क कम्प्युटर वितरण

७५ वटै जिल्लाका प्रतिनिधि बालबालिका र प्रधानमन्त्रीसंग प्रत्यक्ष अन्तर्क्रिया कार्यक्रम,

तनहुँ र देशभरिका थुप्रै इन्जिनियरिङका विद्यार्थीहरूलाई पुर्ण र आंशिक छात्रवृत्ति प्रदान,

२००० भन्दा बढी इन्जिनियर उत्पादनमा भुमिका,

मेलम्ची खानेपानी आयोजनाको अम्बाथान खण्ड, नागढुंगा सुरुङमार्ग, नेपालकै पहिलो सबस्टेसन सहितका सबै संरचना भुमिगत रहेको जलविद्युत आयोजनामा आयोजना निर्देशक रहि हालसम्म करिब १५ किलोमिटर सुरुङ निर्माणमा नेतृत्वदायी भुमिका निर्वाह गरेको

२ वटा इन्जिनियरिङ कलेजको स्थापनामा महत्त्वपूर्ण योगदान,

देशको ऊर्जा नीति निर्माण,

दर्जनौ मुलुकको भ्रमण, अनुसन्धान, लेखरचना, अन्तर्वार्तामा सहभागी

पञ्चायती व्यवस्थामा स्वतन्त्र विद्यार्थी युनियन, संवैधानिक व्यवस्थामा नेपाल इन्जिनियर्स एसोसिएसन तथा गणतान्त्रिक व्यवस्थामा नेपाल इन्जिनियरिङ काउन्सिलमा गरी ३ वटा निर्वाचनमा भाग लिएर तीन वटै निर्वाचनमा निर्वाचित

राष्ट्रिय गौरवको प्रवल जनसेवाश्री चतुर्थबाट विभूषित

सहित थुप्रै गतिविधिमा संलग्न रहि भोलिका दिनमा देश जनता र विकास हितमा थुप्रै काम गर्न सकिन्छ भन्ने विश्वास निर्माण गरेको छु।

५. पार्टीको मूल्य, जनताको अपेक्षा र मेरो जीवन दृष्टिकोणको एकता
राष्ट्रिय स्वतन्त्र पार्टीले खोजेको

इमानदार

पेशागत दक्ष

भ्रष्टाचारमुक्त

परिणाममुखी नेतृत्व

र मेरो जीवन दर्शन र पेशागत यात्रा पूर्ण रूपमा मेल खान्छ।
त्यसैले यो उम्मेदवारी व्यक्तिगत आकांक्षा मात्र होइन—पार्टी र जनताको साझा आवश्यकता हो।

६. संसद मात्र होइन, कार्यकारी जिम्मेवारी सम्हाल्न सक्ने तयारी
म तनहुँ क्षेत्र नं. २ बाट संसदमा पुगेर

ऊर्जा तथा जलस्रोत क्षेत्र

भौतिक पूर्वाधार

औद्योगिक विकास

जस्ता क्षेत्रमा कार्यकारी भूमिकामा तत्काल परिणाम दिने नेतृत्व दिन सक्छु।

देशलाई चाहिएको आज नारा होइन, सिस्टम चलाउने मान्छे हो।

निष्कर्ष
तनहुँ क्षेत्र नं. २ ले अब यस्तो प्रतिनिधि खोजेको छ—
जो

भुगोललाई चिन्छ,

समस्या बुझ्छ,

समाधानको ब्लूप्रिन्ट बोकेर आउँछ, र

संसद र सरकारमा पुगेर काम गर्न सक्छ।

त्यसैले,
पार्टीको केन्द्रीय ऊर्जा तथा जलस्रोत विभागको प्रमुखका रूपमा प्राप्त जिम्मेवारी, मेरो दीर्घकालीन भिजन, योग्यता, दक्षता, अनुभव तथा प्राविधिक ज्ञानलाई राष्ट्र निर्माणमा केन्द्रित गर्दै म इमानदारपूर्वक काम गर्ने प्रतिज्ञा गर्दछु। वि.सं. २१०० सम्म नेपालमा ५० हजार मेगावाट ऊर्जा उत्पादन र खपतको लक्ष्य हासिल गर्न, प्रतिव्यक्ति आय ५ हजार अमेरिकी डलर र प्रतिव्यक्ति विद्युत् खपत ५ हजार युनिट पुर्‍याउन तथा भौतिक पूर्वाधार निर्माणका काम २४ सै घण्टा सञ्चालन हुने वातावरण निर्माण गर्न म पूर्ण रूपमा प्रतिबद्ध छु। प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारको आकांक्षीका रूपमा यो मेरो स्पष्ट संकल्प र जनताप्रतिको प्रतिज्ञा हो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?