(गल गुरुगं ‘दिपु’ प्रवक्ता , जिल्ला समन्वय समिति , तनहूँ)
तनहूँ जिल्लाको उत्तरी र दक्षिणी भेग स्थलगत अनुगमनका अनुभवहरु
चालु आर्थिक वर्षमा संचालित विकासे आयोजनाहरुको स्थलगत अनुगमन भर्खरै सप्पन्न गरियो। गण्डकी प्रदेश सभा सदस्य ज्युहरु, जिल्ला समन्वय समिति तनहूँका प्रमुख ज्यु, पूर्वाधार विकास कार्यालय तनहूँका प्रशासकीय अधिकृत ज्यु, ईन्जिनियरहरु सहितको टिम तनहूँका विभिन्न पालिकाहरुमा निर्वाचन क्षेत्र पुर्बधार बिकास कार्यक्रम २०७६ अन्तर्गत आ. व. २०७७/२०७८ मा संचालित आयोजनाहरुको स्थलगत अनुगमनको क्रममा केही दिन अगाडि तनहूँको पश्चिम दक्षिणी भेग ऋषिङ गाउँ पालिका देखि घिरिङ गाउँ पालिका हुँदै भिमाद नगरपालिकाको स्याङ्जा बोर्डर छुने बडहरभञ्ज्याङ् वडा नम्बर १ र अर्को स्याङ्जाको बोर्डर छुने भिमादकै वडा न. ९ भानुमती सखेपसम्म पुग्यौं ।
कुनै पनि आयोजनाको अनुगमनको लागि गाडिबाट पैदल हिंड्नु परेन सबै आयोजनाहरुको सहज तवरले अनुगमन सम्पन्न गरियो। पछिल्लो समय विशेष गरेर गण्डकी प्रदेशमा परेको अविरल वर्षाका कारण तनहुँमा अधिकांश ठाउँमा क्षति पुर्याएको छ। यो समय वर्षाका कारण धेरै ठाउँमा पहिरो गएका कारण सदरमुकामबाट जिल्लाको कुनै पनि ठाउँमा सहज रूपमा आवागमन गर्न सक्ने अवस्था छैन भन्ने कुरा त विभिन्न मिडियाहरुले सम्प्रेषण गरेको फोटो समाचारबाट पनि थाहा पाउन सक्छौं। तर यस्तो प्रतिकूल समयमा पनि हामीले सवारी साधनबाटै अनुगमन गर्न सक्यौं।
यसले यातायात सुगमता बढाएको कुरालाई पुष्टि गरेको छ। तर पनि सबै ठाउँमा बाह्रैमास सहज यातायात चल्ने अवस्था भने विकास हुन सकिरहकेो छैन। यस्तोमा बाटाघाटामा हालिने बजेटमा बुद्धिमत्ता पुर्याउने हो भने तनहुँ सहज यातायात सञ्जाल भएको जिल्लामा दरिन सक्छ।
विकासे बजेट सिध्याउनलाई जहाँ पायो त्यही बिजुली खम्बा गाड्ने जहाँ पायो तेतै डोजर लगाएर खन्ने गर्नु भन्दा विज्ञ ल्याएर सम्बन्धित ठाउँको सामान्य भौगोलिक स्थिति अध्ययन गरेर सडक सञ्जाल विस्तार र बिजुलीको खम्बाहरु गाडियो भने अहिलेको स्थितिबाट धेरै राहत हुने थियो।
कछार भनेर चिनिने उत्तरले गरेको विकासबाट त्यो भन्दा अघि विकासमा पाईला बढी लम्काएको दक्षिणको सिको गर्नु जरुरी छ। समयमै यसबारेमा गम्भीरतापूर्वक नसोचिने हो भने दक्षिणले उत्तरलाई नजित्ला भन्न सकिन्न।
पहिला पहिला उत्तरी भेगका हामीले म अनुगमनमा पुगेको ठाउँहरुलाई एकदम दुर्गम, कछाड भनेर सम्बोधन गथ्यौं। हाम्रो उत्तरी भेगमा बत्तीको लाईन र मोटर घोरेटो बाटो कोरिदा यो भेगमा गोरेटो बाटो अनि बत्तीको लाइनको नामोनिसान थिएन अहिले यस्तो अवस्थामा पनि यो भेगको विभिन्न ठाउँहरुमा अनुगमनको क्रममा पुग्दा कतै पैदल हिंड्न नपर्दा आफैंलाई अचम्म लाग्यो। यो संघीयता पछि देखिएको परिवर्तन हो।
हाम्रो उत्तरी भेगमा २९/३० वर्ष अगाडि कोरिएको मोटर मार्ग अहिले पनि ज्युँका त्युँ छन्। दक्षिणी भेगमा एक वर्ष अगाडि अनुगमनमा जाँदा कोरिएका मोटर मार्ग अहिले अनुगमन जादा पक्की भएको देख्न पाइयो। यो भेगका जनताले सडक सञ्जालको मात्रा हैन सबै खाले विकासको अनुभव गर्न पाएका छन् भन्ने उनीहरुकै मुखबाट प्रत्यक्ष सुन्न पाईयो। त्यसैले साविक क्षेत्र न १ उत्तरी भेगका जनता एकजुट भएर सबै पार्टीका नेतृत्वलाई आ आफ्नो ठाउँबाट खबरदारी गर्न अग्रसरता देखाउन आवश्यक देखिन्छ। हैन भने साविक क्षेत्र न १ उत्तरी भेगका जनताले संघीयता र बिकासको महसुस गर्न धेरै समय कुर्न नपर्ला भन्न सकिन्न।
कछार भनेर चिनिने उत्तरले गरेको विकासबाट त्योभन्दा अघि विकासमा पाईला बढी लम्काएको दक्षिणको सिको गर्नु जरुरी छ। समयमै यसबारेमा गम्भीरतापूर्वक नसोचिने हो भने दक्षिणले उत्तरलाई नजित्ला भन्न सकिन्न।
गल गुरुगं ‘दिपु’
प्रवक्ता , जिल्ला समन्वय समिति , तनहूँ








