दार्चुलाको बाढी र पहिरो एकै परिवारका २ सहित ३ जनाको मृत्यु

  • ख-
  • ख+

कैलाली । दार्चुलाको दुहूँ गाउँपालिकामा आइतबार आएको बाढी र पहिरोमा परि एकै परिवारका दुईसहित तीन जनाको मृत्यु भएको छ । दुईजना घाइते भएका छन् ।

निजाङ खोलामा आएको बाढीले दुहूँ गाउँपालिका वडा नम्बर १ बस्पालीका नरसिंह महरा र उनकी श्रीमती कौशीदेवी महराको मृत्यु प्रहरीले जनाएको छ ।

सोही गाउँपालिका-५ दुल्लामा पहिरोले घर पुरिँदा वेपत्ता भएका मनुवा डडाल मृत भेटिएका छन् भने उनकी श्रीमती उजली डडाल र छिमेकी जनकराम पार्की घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

दार्चुला/ तिंकर सडक खण्डको निजाङ खोलाको मोटर पुल बगाएको प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले बताए । अझै क्षतिको विवरण आउन बाँकी रहेको उनले बताए ।

दुहूँ गाउँपालिकामा बाढी पहिरोले तीन घरमा पूर्ण क्षति गरेको छ भने एक दर्जन बढी घरहरुमा आंशिक क्षति भएको स्थानीयले बताएका छन् । तीन वटा झोलुंगे पुल तथा एउटा पक्की पुल बगाएकाले आवतजावतमा समस्या भइरहेको प्रहरीले जनाएको छ ।

उद्दारमा खटिन कानून मन्त्रीको निर्देशन
दार्चुलामा आएको बाढी र पहिरोले समस्यामा परेका नागरिकहरुको उद्दारमा सहयोग गर्न सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशीले स्थानीय प्रशासनलाई निर्देशन दिएकी छन् ।

‘दार्चुला जिल्लामा भएको मानवीय र भौतिक क्षतिले अत्यन्तै दुखित तुल्याएको छ,’ उनले नेपाल प्रेसलाई भनिन्, ‘उद्दार, खोज, राहत , पुनःस्थापना लगायतका काममा स्थानीय सुरक्षा निकाय, प्रशासन, स्थानीय सरकारबीच समन्वय गरी वास्तविक पीडितलाई सहयोग गर्न निर्देशन दिएको छु।’ (नेपाल प्रेस)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्