मन्त्री श्रेष्ठको अग्रसरतामा वैदेशिक रोजगारको क्षेत्रमा हुनसक्ने ठगी नियन्त्रण गर्न र्‍यापिड रेस्पोन्स टिम गठन

  • ख-
  • ख+

सरकारले वैदेशिक रोजगारको क्षेत्रमा हुनसक्ने ठगी नियन्त्रण गर्न शीघ्र प्रत्युत्तर टोली ( र्‍यापिड रेस्पोन्स टिम) गठन गरेको छ।

वैदेशिक रोजगार विभागका महानिर्देशकको प्रत्यक्ष अनुगमनमा रहने गरी तथा सम्बन्धित अन्तर्निकायको प्रतिनिधित्व हुने गरी टोली गठन भएको हो।

वैदेशिक रोजगार विभागका निर्देशकको संयोजकत्वमा गठन गरिएको टोलीमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार बोर्ड सचिवालय, नेपाल प्रहरीका प्रतिनिधि सदस्य छन्। त्यस्तै वैदेशिक रोजगार विभागका अनुसन्धान अधिकृत सदस्य सचिव छन्।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारसम्बन्धी आउने गुनासोलाई तत्काल निराकरण गर्न, राहत, उद्धार तथा क्षतिपूर्तिको सिफारिस गर्न तथा अन्तर निकाय समन्वयका लागि यो टोली गठन गरेको बताए।

वैदेशिक रोजगारीलाई व्यवस्थित, मर्यादित, सुरक्षित बनाउने क्रममा यस क्षेत्रको व्यवस्थापनमा सुधार गरी सुशासनको अभिवृद्धि गर्न टोली गठन गरेको मन्त्री श्रेष्ठले बताए।

यसले वैदेशिक रोजगार व्यवस्थापनमा कुनै सेवा प्रदायक निकाय, संघ(संस्था तथा व्यक्तिले बदनियतपूर्वक काम गरिरहेको वा गर्न लागेको कुनै सूचना प्राप्त भएमा छानविन गर्न, आवश्यक निर्देशन दिन तथा थप अनुसन्धानका लागि सिफारिस गर्नेछ।

वैदेशिक रोजगार सम्बन्धी कामलाई व्यवस्थित तथा मर्यादित बनाउने तथा कानुनको प्रभावकारी कार्यन्वयन गराउन र यस क्षेत्रमा आउने गुनासोको तत्काल सम्बोधन र्‍यापिड रेस्पोन्स टिमले गर्नेछ।

अहिले नेपाली युवाहरूको रोजगारीको प्रमुख स्रोतको रूपमा वैदेशिक रोजगारीले स्थान लिएको छ। तर यसक्रममा ठगिने, दुःख, हण्डर व्यहोर्नुपर्ने र सुशासनका दृष्टिले समेत नकारात्मक चित्रण हुने गरेकोले यसको छवी सुधार्ने प्रयासका रूपमा टोली गठन गरिएको मन्त्रालयले जनाएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्