बहुमुखी प्रतिभाका धनि किशन भुजेल ‘विशम’ गण्डकी प्रदेशसभा सदस्यको उमेदवार

  • ख-
  • ख+

बाबुराम नेपाली । आँबुखैरेनी , तनहूँ । आजभन्दा चार दशक अगाडी म आफ्ना साथीहरुसँग ढाबको रह तथा कटुसेको रहमा पौडी खेल्न जान्थेँ । ढाबमा हाम्रो खेत थियो । मेरो हजुरबा र आमा लगभग सधैं जसो त्यही खेतमा नै व्यस्त हुनुहुन्थ्यो । भिरालो खेत स-साना गह्राहरु , थोरै अन्न भित्र्याउन धेरै मेहनत गर्नुपर्ने । मेरो खेतको ठिक पारीपट्टी करीब ५/६ वटा झुप्राझुप्री घरहरु भएको बस्ती थियो त्यसलाई घर्तीगाउँ भनिन्थ्यो । त्यहाँ डोको, डालो, नाङ्लो, भकारी बुन्ने सीप भएका भुजेलहरु बस्थे । कला र सीपको हिसाबले वरपरका बासिन्दामध्ये सबैभन्दा धनी तर सम्पत्ति र पैसाको हिसाबले सबैभन्दा गरीब बस्ती । त्यहीँ बच्चा रोएको, आमाले बच्चालाई गाली गरेको सबै हाम्रो खेतबाट प्रष्ट सुनिन्थ्यो । लगभग मेरै उमेर समुहको एक जना मङ्गली नाम गरेको साथी हुनुहुन्थ्यो । उहाँलाई उहाँको आमाले लामो लेग्रो तानेर ”एय ! मङ्गली” भनेर बोलाएको आवाज अझैपनी मेरो मनमा गुन्जिरहन्छ ।
भुजेलहरु खोलामा गँगटा, माछा मार्न र सिकार गर्न अति माहिर थिए । प्राय जसो नाङ्गै खोला खोलामा डुलीहिंड्ने बच्चाहरूसँग हाम्रो भेट प्राय कटुसे रहमा हुन्थ्यो । २०४२ सालमा म दस वर्षको हुँदा कक्षा ५ मा पढ्थेँ मेरो र त्यो साथी मङ्गलीको उमेर उस्तै हो । कटुसे रहमा पौडी खेल्ने क्रममा उनले मलाई सोधे ” तँ कति कक्षामा पढ्छ्स ? ” मैले ”५ कक्षामा” भनेर जवाफ दिँदा उनले मलाई झण्डै कुटेनन् खाली खुट्टा लुगा नै नलगाई खोला पहरा कुदीहिँड्ने भुजेलहरुसँग हाम्रो बलको दाँजो नै हुन्थेन ।
त्यसपछी मैले एस एल सी दिनेबेलासम्म पनि भुजेल गाउँका केटाकेटीहरुले पढेर उच्च शिक्षा हासिल गर्लान भनेर सोचेको थिइन । पछि त्यहाँ सरकारी स्कुलको स्थापना भयो। धेरै पछि एकजना भुजेल नै त्यहाँ शिक्षक हुनुभयो भन्ने पनि सुनेँ , सुन्दा नै मन आल्हादित भयो । मलाई उहाँसँग भेट्ने रहर थियो र यी हरफहरु लेखिरहँदासम्म पनि उहाँसँग प्रत्यक्ष भेटेको छैन तर भौतिक भेट मात्रै भेट होइन । मैले उहाँको ज्ञान देखेको छु , उहाँको उर्जा अनुभव गरेको छु र उहाँको भावी कार्यायोजनाको झल्को महसुस गरेको छु ।
भुजेलले त्रिभुवन विश्वविद्यालयबाट मानविकी संकायमा स्नातकोत्तर गर्नुभएको छ। उहाँ भाषा बिज्ञानमा पनि पोख्त हुनुहुन्छ ।

विभिन्न अन्तरास्ट्रिय गैरसरकारी संस्थाहरुमा संलग्न रहेर काम गर्नुभएको उहाँले आफैले अध्ययन गरेको श्री आँधी बाराही स्कुल तथा एभरेस्ट एकेडेमी मध्य बानेश्वरमा शिक्षण गरिसक्नुभएको छ ।

भुजेलले विभिन्न पुस्तक एवम् कृतिहरुको पनि रचना गर्नुभएको छ । सन् २०१९ मा प्रकाशित ”नेपालमा पहिचानको संघर्ष ” मा सह सम्पादक, २०१९ मा प्रकाशित ”भुजेल जाती र सभ्यता” तथा सन् २०२०मा प्रकाशित ”भुजेल जातिको वंशावली” मा सम्पादकको भुमिकामा काम गरिसक्नुभएको भुजेलले नेपालमा रेकर्डेड पहिलो भुजेल गीत ”नीर ह्पुगाल (हामी भुजेल ) ” सहित गीति एल्वम ”च्योवन ह्पुगाल (उठौं भुजेल)” को रचना पनि गर्नुभएको छ । उहाँले तयार पार्नुभएको कक्षा १,२,३ को लागि ”भुजेल मातृभाषा पुस्तक” र भाषासम्बन्धी पुस्तक ”भाषासुचकू” प्रकाशित भइसकेको छ भने क्रान्तिकारी कथा संग्रह ”आगोको खोरिया” प्रकाशोन्मुख रहेको छ तथा भुजेल भाषाको निर्माणोन्मुख चलचित्र ”अस्तित्वको खोजीको” कथा लेख्नुभएको छ । विभिन्न न्युज पोर्टलहरुमा उहाँको ५ दर्जन जति लेख रचनाहरु प्रकाशित भैसकेका छन् ।

साहित्यकार तथा भाषाविद भुजेल विभिन्न राजनितिक तथा सामाजिक अभियानमा पनि उत्तिकै सकृय हुनुहुन्छ । २०६२ सालमा एस एल सी परीक्षा उतीर्ण भएपछी एमाले निकट अनेरास्ववियुबाट राजनीतिक जीवनमा प्रवेश गर्नुभएको भुजेलले भुजेल युवा संघ केन्द्रिय महासचिव , अग्रगामी विद्यार्थी युनियन, तनहूँ जिल्ला उपाध्यक्ष तथा केन्द्रिय सदस्य , समाजवादी विद्यार्थी फोरम केन्द्रिय सदस्य , समाजवादी विद्यार्थी युनियन केन्द्रिय सदस्य एवम् गण्डकी प्रदेश अध्यक्ष , जसपा मगरात समन्वय समिति सचिव, जसपा, तनहूँ जिल्ला सचिवालय सदस्य तथा आदिवासी जनजाति आन्दोलन संघर्ष समितीको प्रतिनिधि रहेर आफ्नो कार्यकुशलता प्रदर्शन गरिसक्नुभएको छ ।

नेपालमा व्याप्त जात व्यवस्था अनुसार दमाई , कामी र सार्किलाई पानी नचल्ने अछुत जात भनिन्छ र भुजेलहरुलाई छुत र पानी चल्ने भनिएपनी बिभेदको नजरले उनीहरुलाई दलित जत्तिकै स्तरमा विभेद हुने गरेको छ । बाध्यताले हो वा रहरले हो भुजेल र सार्किहरुले सिनो खाने प्रचलन थियो र अझैसम्म पनि त्यसको अवशेष रहिरहेको छ । त्यही विषयलाई लिएर आजसम्म पनि भद्दा उखान र जोकको प्रहार निरन्तर खेप्दै अगाडी बढ्नु भएको किशन भुजेल अध्ययनको क्रममा अगाडी बेन्चमा बस्दा कथित उच्च जातिय शिक्षकले घर्ती भएर अगाडी बेन्चमा बसेको भनेर दुर्व्यवहार गरेपछि समाज परिवर्तनको लागि आफुलाई अभियानमा होमेको बताउनुहुन्छ ।

यीनै विद्वान , संघर्षशील, उर्जावान युवा भुजेल पिँधमा रहेका सीपले र जाँगरले भरिपुर्ण भएर पनि सधैं गरीबीमा बाँच्न विवश श्रमजीवी तथा वास्तविक उत्पिडित नेपाली जनताको मुक्तिको आवाज बोकेर आगामी प्रदेश सभाको निर्वाचनमा तनहुँ क्षेत्र नं. १ (ख) बाट प्रदेश सभा सदस्यको उमेदवार हुनुहुन्छ । समाजमा साँच्चै परिवर्तन चाहने हो बुढा , असक्षम तथा भ्रष्ट नेताहरुलाई गालीगरिरहने र चुनाव चिन्ह हेरेर तीनैलाई चुन्नुको साटो उर्जाशील र स्पष्ट भिजन भएका योग्य युवालाई चुन्नुपर्ने हुन्छ । ( किशन भुजेल ‘विशम’सगको वार्तामा आधारित लेख)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्