कविताः प्रिय समय !

  • ख-
  • ख+

परिवर्तनको निम्ति घर त्यागेको बा
बन्दुक सँगै पड्किएपछी
मैले आमाको सिन्दुरको काजकृया गरेको हुँ !

बा ले आमालाई हातका औंला काटेर
लगाइदिएका हुन रगतको रातो सिन्दुर

न आमा लाई फाप्यो न बा लाई

आज समाजवादको आँखा
सर्वहारा को छातीमाथि अन्धो बनेर हिडिरहेकै छ !

ती बा आमालाई नफापेको रातो रगतको
एक सानो अंश बाट उम्रेको हुँ म
म भित्र
बा को रातो रगत र आमाको जीवित सपनाका थाकहरु
समानता को उत्तानो भर्याङ बनेर बांचिरहेकै छन

उही समानता को बाटो भएर
उकालो लागिरहेकै छन अवसरवादी दलालहरु !

सत्ताको कुर्चीमा हांसिरहेकै छन काला भूत मान्छेहरु

सुन !
म बा को सीमान्त रगत पोखिएको धर्तीको भूमिपुत्र हुँ

यतिखेर म बा को चिहानको छातीको नापको विवरण
र आमाको सपनाको लिष्ट बोकेर उभिएको छु !

उभिएको छु यहाँ की
भर्खर उभिएको भुइँमा सत्ताको हाँसो सुनेर
बारुद मगमगाइ रहेछ !

किशन भुजेल ”विषम”, तनहूँ

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्