कथा: शवयात्रा

  • ख-
  • ख+

(तस्विर सांकेतिक)

हुतमणि अधिकारी । एक समयको कुरा हो – त्यस देशका राष्ट्रपति र प्रधानमन्त्री देश र जनताको अबस्था बुझ्न हुलिया बदलेर गाउँ शहर डुल्ने गर्थे । यस्तै क्रममा एक दिन उनीहरू राजधानी देखि अलि टाढाको शहरमा सडकै सडक हिँड्दै थिए । बिहानको समय , सडक छेउमा एउटा मान्छे लडिरहेको थियो र मान्छेहरु त्यो केही थाहा नपाए झैँ आ आफ्नै धुनमा मस्त र व्यस्त थिए । उनीहरू नजिकै पुगे र हेर्दा थाहा भयो – अघि भर्खरै सवारी दुर्घटनामा परी स्पट डेथ भएको बयस्क पुरुषको लास रहेछ । हुनसक्छ कुनै सवारीसाधनको ठक्करबाट त्यो भएको थियो । सबैभन्दा अचम्म यो थियो – आलो दुर्घटनामा मान्छेको ज्यान गएको थियो र पनि त्यहाँ मान्छेको कुनै भीड थिएन , सवारी जाम गरिएको थिएन, यस्तो देखिन्थ्यो – त्यहाँ केही भएकै थिएन । मान्छेहरु त्यो नदेखे झैँ , थाहा नपाए झैँ थिए । पसलहरु खुल्ला थिए , मान्छेको चहलपहल पनि थियो । तर कसैले लडिरहेको लास तिर ध्यान दिएका थिएनन् । बाटो हिँड्नेहरु त्यो लास तिर फर्केर सम्म नहेरी तर्केर अघि गइरहेका थिए । यो सब देखेर राष्ट्रपति र प्रधानमन्त्री छक्क परे । मानवीय स्वभाव विपरीत किन यो व्यक्ति र यो लास प्रति यस्तो अपत्यारिलो व्यवहार भइरहेछ ? अचम्मित नहुने कुरै थिएन ।

उनीहरु त्यो लास कसको हो , किन दुर्घटनामा परी मृत्यु हुँदा पनि कसैले वास्ता गरिरहेको छैन भन्ने पत्ता लगाउन नजिकैको खाद्यान्न पसलेसंग , होटल वालासंग , मेडिकल हल वालासंग , बाटोमा हिँडिरहेका विभिन्न थरि मान्छेहरु जस्तो कर्मचारी , नेता , शिक्षक, बिद्यार्थी , किसान , बेरोजगारहरु लगायत भेटिएका मान्छेहरुसित एक एक गरि सोध्दै गए । सबैको जवाफ लगभग एउटै थियो – त्यो असाध्यै खराब मान्छे थियो , सबैलाई सताएको हुनाले मान्छेहरु उ मर्दा पनि हाइ सन्चो मानेर बेवास्ता गरेका हुन् , लास सम्म नउठाएका हुन् । राष्ट्रपति र प्रधानमन्त्रीले त्यो व्यक्तिको ठेगाना सोधी परिवारलाई जिम्मा दिन लास लिइ उसको घरमा पुगे । त्यहाँ पुगे पछि थाहा भो – उनका सन्तान रहेनछन् , घरमा श्रीमती मात्र रहिछन् । पतिको लास देखेर उनी अलाप बिलाप गरेर रुन थालिन् ।

मैले भन्थेँ नि ! मान्छेहरुलाइ आफ्नो सुरमा चल्न दिनुस्, जे मन लाग्छ त्यो गर्न दिनुस् । मान्छेहरुले तपाईंको कुरा मन पराउँदैनन्, तपाईंलाई मन पराउँदैनन् । पछि मर्दा लास बोक्ने मलामी पाउन गार्‍हो हुन्छ । मैले भनेको मान्नु भएन । त्यो बेला मैले भन्दा उल्टो मलाई सम्झाउनु हुन्थ्यो – यिनले कुरा नबुझे पनि ईश्वर छन , ईश्वरले देख्छन् , उनैले बुझ्छन् । मेरो लास देशका राष्ट्रपति , प्रधानमन्त्रीले बोक्छन् । स्वार्थमा अन्धा , आफ्नै हित र अहित नबुझ्नेहरुले जे सुकै भनुन् , जे सुकै सोचुन् , म मेरो कर्तव्य छाड्दिन । मलाई एक दिन राष्ट्रले अबस्य सम्मान गर्छ भन्नू हुन्थ्यो , त्यो सबै झुटो भयो , अहिले कुकुर बिरालाको मराइ भयो , म कसरी बाँच्नु कसरी समाजमा मुख देखाउनु भन्दै फलाकेर – ह्वाँ ह्वाँ डाँको छाडेर रोइरहिन् ।

उनीहरूले ती महिलालाई सम्झाइ बुझाइ गरेर सोधे – तपाईंको श्रीमान असाध्यै खराब र सबैलाई सताउने मान्छे हुनुहुन्थ्यो रे , हो ?

कहाँ हुनु हजुर ! उहाँ अत्यन्तै असल र उपकारी हुनुहुन्थ्यो । मान्छेहरुलाइ सधैँ नैतिक र सदाचारी बन्न आग्रह गर्नुहुन्थ्यो । आफ्नो समय र सम्पत्ति अरुको भलाईमा लगाउनु हुन्थ्यो ती महिलाले भनिन् ।
उसो भए समाजमा भए भरका मानिस किन तपाईंको श्रीमानका बिरोधी र शत्रु हुन पुगेका त ? अचम्म मान्दै उनीहरूले फेरि सोधे ।

ती महिलाले भनिन् – हजुर ! उहाँ व्यापारीलाई कालो बजारी नगर , कृत्रिम अभाव सिर्जना गरेर मुल्य बृद्दि नगर , मिसावट नगर , जनता र उपभोक्ताको शोषण नगर भन्नुहुन्थ्यो , कर्मचारीलाई घुस कमिशन नखाउ, जनताबाट उठाइएको करमा तर नमार भन्नुहुन्थ्यो , किसानलाई कृषि गर्ने भए पशुपालनमा जोड देउ, अल्छी नगर , तरकारी फलफूलमा बिषादि प्रयोग गरि आम मान्छेको स्वास्थ्य माथि खेलबाड नगर भन्नुहुन्थ्यो , शिक्षकलाई पढाउन छाडेर राजनीति नगर , टिउसनको खेती उँभो लाउन बिद्यार्थीलाई झार नबनाउ, निशुल्क शिक्षाको मर्म बिपरित अभिभावक माथि भार र मार नखन्याउ भन्नुहुन्थ्यो , डाक्टरलाई , मेडिकल वालाहरुलाइ माफियाको गोटी बनेर जनतालाई नलुट , पैसाका लागि नैतिकता , मानवीय संवेदनशीलता नभुल , सेवा भाव राख भन्नुुहुन्थ्यो , नेतालाई नैतिकता सिकाउनु हुन्थ्यो , सदाचारी बन्नुपर्छ , तिमीहरू जनताको सेवक हौ आफुलाइ मालिक र हाकिम जस्तो नठान, सरकारी सम्पत्ति र सरकारी सुविधाको पद , कमाइ हुने जागिर आफ्नो , आफ्ना आफन्त , चाकडीवाजको पेवा नठान, कानुनको पालन गर , अधिकारको दुरुपयोग नगर भन्नुहुन्थ्यो , युवाहरुलाइ , बिद्यार्थीहरुलाई अनुशासनमा बस, जिम्मेवार बन, बिबेकी बन, नेता पार्टीको झोले नबन , रक्सी , मासु , पेट्रोल र पैसामा नबिक, चेतना र नैतिकता नबेच, कर्तव्य छाडेर नभाग , कसैको बहकाउ र स्वार्थमा लागेर समाज र देशलाई नभुल , अश्लील काम कुरामा , दुर्व्यसनमा नफस , सिर्जनात्मक काममा लाग भन्नुहुन्थ्यो , मान्छेहरुलाइ रक्सी चुरोट नखाउ, तास जुवा नखेल , खेलेको नहेर , दिनभर क्यारमबोर्ड र लुँडोमा नभुल भन्नुहुन्थ्यो ।
पसल पसलमा गएर अब आइन्दा रक्सी नबेच भनेर रक्सी पोखिदिने , बोतल फुटाइदिने गर्नुहुन्थ्यो , त्यसको परेको मुल्य तिरिदिनु हुन्थ्यो , बारमासे जुवा खेल्न बन्द गराइदिने , तास च्यातिदिने , क्यारम र लुँडो फुटाइदिने र तिनको किन्दा र व्यवस्था मिलाउँदा लागेको खर्चको पैसा तिरिदिनु हुन्थ्यो , यस्तो मान्छे बिगार्ने काममा नलाग, अरु सिर्जनात्मक काममा लाग भनेर वाचनालय, पुस्तकालय खोलिदिनु हुन्थ्यो , सामुदायिक सिकाइकेन्द्र , सूचना केन्द्र स्थापना , सामुदायिक संस्था , भवन निर्माण गरि गराइ सत्संग, व्यक्तित्व , क्षमता , सीप बिकास तालिम , स्वावलम्वन, आयआर्जन र उद्यमी तालिम लिन – दिन प्रेरित गर्नुहुन्थ्यो , खेलकुद , संगीत , कला, साहित्य तर्फ प्रेरित गर्नुहुन्थ्यो , कहीँ कसैले अन्याय , अत्याचार , अपराध गरेमा तेरो मेरो नभनी सजाय दिलाउनु हुन्थ्यो । बोल्ने एक थोक व्यवहार अर्को थोक गर्नेलाई उहाँ सातो खानहुन्थ्यो । उहाँले गरेको गल्ती यही हो हजुर , कसैलाई केही नभनेको भए हुन्थ्यो कसैलाई केही नगरेको , मन माफिक चल्न दिएको भए हुन्थ्यो । यस्तै भन्ने यस्तै गर्ने भएकोले सबै मानिस उहाँको बैरी भए , आज लास पर्दा फर्केर हेर्ने , मलामी जाने मान्छे पनि पाउनु भएन ती महिलाले रुँदै भनिन् ।
चिन्ता नगर्नुस् , हामी यो देशका राष्ट्रपति र प्रधानमन्त्री हौँ । देशको बास्तबिक समस्या र अबस्था बुझ्न परिचय लुकाएर हिँडेका । हामीले बुझ्यौँ , सबै थाहा पायौं – तपाईंको पति असल हुनुहुन्थ्यो , सच्चा नागरिक र आदर्श व्यक्ति हुनुहुन्थ्यो । उहाँले भन्नुभएको सही थियो – हामी उहाँको लासलाइ काँध दिन्छौं , उहाँको राष्ट्रिय सम्मानसाथ अन्त्येष्टि हुनेछ , देशभर उहाँको अनुकरणीय , प्रेरणादायी कामको गुणगान र प्रचारप्रसार गरिनेछ । तपाईंले उहाँलाई धर्म पत्नीका रुपमा जीवनभर साथ र हौसला दिनुभयो यसकारण तपाईंलाई राज्यले सम्मान र भरणपोषण गर्नेछ । ती महिलालाई उनीहरुले सान्त्वना दिए । उत्निखेरै त्यहाँ सरकारी सेना, पुलिस, प्रशासनका मान्छे आइपुगे , सर्वसाधारणको पनि ठूलो घुइँचो लाग्यो । हेर्दाहेर्दै एकछिन पछि त्यहाँ राजकीय सम्मानका साथ एउटा महापुरुषको शवयात्रा निस्कियो त्यो शहरका त्यो देशका हजारौं हजार मानिसहरु त्यसमा सहभागी भइरहेका थिए , सबै जना विषाद मानेर रोइरहेका थिए , सके त्यो लास माथि चढाउन होला – सबैका हातमा फूल माला थिए ।
२०७८।१०।२१ मणिगृह , तनहूँ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्