(लेखक बिशिष्ट श्री भट्टराई)
धेरैपछि व्यास पालिका भित्रका केहि युवा, व्यवसायी तथा विभिन्न पेशामा संलग्न सरोकारवालाहरुसग आफ्नो जन्मभुमी, आफ्नो थलो व्यास नगरपालिकामा देखिएको द्धन्दको बारेमा केहि अन्तर्क्रीया भए । आम नगरवासीको जस्तै मेरो पनि निष्कर्ष उहि थियो, जनजीविका तथा व्यवस्थित र योजनावद्ध बिकासमा स्थानिय नेतृत्वको ध्यान पटक्कै छैन । उहि ठेक्कापट्टा, बिकास निर्माणका कामहरुमा लागत ईष्टिमेट बढाएर ठेकेदारहरुसग गरिने सेटिगं, सार्वजनिक खरिद ऐन अन्त्रगत खरिद गरिने वस्तुहरुको मुल्य, मात्रा र गुणस्तरमा देखिने अन्तराल , नेतृत्व तथा आसेपासेको स्वार्थसग बाँझिने क्षेत्रमा योजना तथा लगानी ज्वलन्त उदाहरणहरु हुन् जस्ले स्थानिय स्तरमा भ्रष्टाचार संस्थागत गरेको छ ।
जननिर्वाचित नेतृत्वको काम नीति निमार्ण हो । कर्मचारीहले उपलब्ध नीति तथा योजना कानुनको दायराभित्र बसेर कार्यान्वयन गर्ने हो, जसले सार्वजनिक सेवा प्रवाहलाई चुस्त दुरस्त बनाई जनतालाई सुशासनको प्रत्याभुति गराउछन् । स्पष्ट कार्य र कार्यक्षेत्र भएका कर्मचारीहरुबिच व्यासमा किन द्धन्द बढ्यो त ? कार्यालय प्रमुखले आफ्ना मातहतका कर्मचारीहरुलाई नीति नियमभित्र रहेर काम लगाउन नपाउने ? यो सतहमा देखिएको मुद्धा भयो । कतै पर्दा पछाडि बसेर स्वार्थ समुह खेल्दै त छैनन् ? वा जननिर्वाचित नेतृत्व र कर्मचारी नेतृत्वबिचको भागवण्डा वा अन्य निहित स्वार्थको लडाई त होइन ? कतै बर्षौदेखि सिण्डिकेट चलाएर बसेका नेतृत्व र स्थानिय कर्मचारीहरुको मिलेमतो त होईन ? यस द्धन्दले धेरै प्रश्नहरु जन्माएको छ । तर सकारात्मक पक्ष एकपछि अर्को व्यास नगरपालिकाभित्रका विकृति, विसंगतिहरु सतहमा आएका छन् , जुन बिषयहरु हामी आम सर्वसाधारणले बुझ्नैपर्छ र आवश्यक खवरदारी पनि ।
विगतमा पनि केहि प्रसंगहरु सुनिने गर्थे स्थानिय निकायका बजेट हिनामिनाका सन्दर्भमा । कार्यक्रमहरुमा आवश्यकताभन्दा बढि रकम विनियोजन गर्ने, कम रकममा काम सक्ने अरु विल तथा शिर्षक मिलाएर खाने । केन्द्रदेखि जिल्ला तहका सिमित नेतृत्व तथा आसेपासेहरुलाई पेट्रोल, डिजेलका कुपन बाँड्ने, आफ्ना गुटका नेताहरुको सवारीमा अगुवा, पछुवा सहितको खाजा, खाना, होटल, ह्विस्कि , ब्राण्डिहरुको विल, घरघरमा प्याकिगं गरि लगिएको खाजा, खानाको विल, अतिथि सत्कार तथा मसलन्दका नाममा चढ्ने आदि आदि । स्थानिय तहका कर्मचारी तथा नेतृत्वको दैनिकी यहि हो त ? गाउँ गाउँमा सिंहदरवार भन्ने नाराका साथ विकेन्द्रीत काम, कर्तव्य र अधिकारको अभिप्राय जनउत्तरदायित्व र जवाफदेहिता केहि रहदैन ? द्धन्द छ, समस्याहरु छन् जनताले जान्न र बुझ्न पाउने कि नपाउने ?
देशमा आएको राजनैतिक परिवर्तनसगै बिकास र सुशासनको लागि हामीले राजनैतिक नेतृत्वको मुख ताक्यौ ताकि सामाजिक आर्थिक अवस्थामा परिवर्तनको नेतृत्व हुन्छ भनेर तर समयक्रमसगै विधी सिद्धान्त र दायित्व भुलेर केन्द्रदेखि तल्लो तहका नेतृत्वहरु गुट, धन्दा र शक्तिको उन्मादमा रमाउदा आँशा गरिएको परिवर्तन सम्भव भएको छैन । अब प्रश्न उठेका छन् कतै नेतृत्वको बौद्धिकताको स्तर, कार्यशैली, अग्रगामी सोच भुत्ते नै त होईन ? यहि भुत्ते मानसिकताबाट कतै हामीले बढि नै आशा गर्यौ कि ? आज एउटा सानो योजना , थोरै लगानी, थोरै केन्द्र, प्रदेश वा स्थानिय तहबाट सिफारिस गराउदा सोसल मिडियामा त्यसको जस लिने होड, एक अर्काको अस्तित्वलाई स्विकार गर्न नसकि तल्लो स्तरको गालि गलौजमा उत्रने हाम्रो समाज र त्यसलाई नेतृत्व गर्ने वर्गको बौद्धिकता छर्लगं भएको छ । त्यसमाथि सिमित झोले कार्यकर्ताले मिडिया तथा अन्य सोसल मिडियाबाट आफ्ना गुटका नेताहरुको देवत्वकरण गर्दै हरेक गतिविधिहरु सगर्व प्रस्तुत गर्ने परम्पराले हाम्रो समाज, राजनीति र हाम्रो बौद्धिकस्तरलाई कहाँ पुर्याउदैछ त ?
हरेक सामाजिक सेवा प्रदान गर्ने निकाय र त्यसका कर्मचारीहरु जनताको लागि छिटो, छरितो र सर्वसुलभ सेवा प्रदान गर्न बसेका छन् । तर बिडम्वना पियन पालेको रोजगारीदेखि बैदेशिक रोजगारीसम्म , स्कुल, कलेजमा भर्ना देखि हस्पिटलका टिकट बेडसम्म राजनीतिक भनसुनले चल्ने अवस्थाले हाम्रो सार्वजनिक सेवा प्रवाहलाई गिज्याईरहेको छ । यी र यस्ता गतिविधिहरुमा रमाउने नेताहरुको शैलीले नीति निर्माण गर्ने जिम्मेवारी बोध नै नभएको, नबुझेको आभाष हुन्छ । त्यसैले आफ्नो कार्यक्षेत्रको ज्ञान नभएका, कर्मचारीतन्त्रलाई निर्देशन दिन नसक्ने, उल्टै प्राविधिक र कर्मचारीवर्गसग रमाउने, दुनो सोझ्याउने, अदक्ष वर्गको विकल्प नखोजि बिकास र सर्वसुलभ सेवा सम्भव छैन ।
व्यास नगरपालिकामा देखिएको हालको द्धन्दले पनि यीनै कुराहरुको पटाक्षेप गरेको देखिन्छ । यदि निर्वाचित नेतृत्व र प्रमुख प्रशासकिय अधिकृतबिच लेनदेनको भागवण्डा होईन भने सरासर स्थानियस्तरका कर्मचारी उचालेर मानमर्दन गर्ने, अपमानित र अपहेलित गर्नुभन्दा द्धिपक्षिय द्धन्दलाई समाधान गरेर अघि बढ्ने नेतृत्व गर्न निर्वाचित नगर प्रमुख लगायत टिमलाई कसले छेकेको थियो ? विवादलाई छताछुल्ल बनाएर कस्को साख राम्रो भयो ? स्पष्ट बिकासका दिर्घकालिन, मध्यकालिन तथा अल्पकालिन योजना बनाएर कार्ययोजनासहित कर्मचारी प्रशासनलाई डोहोर्याउनु पर्ने नेतृत्व उहि पुरानै शैलीमा ठुला लगानी गर्दै बहुउद्धेश्यिय भवन, स्वार्थ बाँझिने खालका जग्गाहरुमा सरकारी लगानी गर्ने प्रपन्च, बजेटभन्दा बाहिरका शिर्षकहरुमा बजेट बाँड्दै हिड्ने संस्कारले कतै कर्मचारीहरु बिच द्धन्द बढाएर आफ्नो स्वार्थपुर्ति गर्ने डिजाईन त होईन ? नीति नियम बाहिर जान नखोज्ने प्रमु प्रसाशकिय अधिकृत र जसरी पनि स्वार्थ पुरा गर्नुपर्छ भन्ने नेतृत्व बिचको लडाईको मोडमा आएको द्धन्दले थप अनियमितताका कहानीहरु खुल्दै जाउन् भन्ने आमजनताले आशा गरेका छन् ।
सिमित श्रोत र साधनको विवकपूर्ण ढंगले प्रयोग गर्दै समग्र जनताका जनजिविकाका मुद्धा, बिकास र परिवर्तनका अपेक्षा पुरा नभएपनि के यस्ता घटनाहरु ढाकछोपकै अवस्थामा छोड्ने हो र ? निर्वाचित जनप्रतिनिधिसग सम्बन्धित दलका नगर कमिटि र जिल्ला कमिटिहरुमा यो मुद्धा छलफलको बिषय हुन्छन् कि हुदैनन् ? सत्यतथ्य छानविन गरि दोषि उपर छानविन गर्ने साहस राख्छन् कि राख्दैनन् ? अन्यथा द्धन्दको हिलो तत् तत् निकायहरुसम्म पनि पुग्नेछ जिम्मेवार बोध गर्दै सचेत गर्ने कि ?
अन्तमा, कर्मचारी, कर्मचारी वा कर्मचारी र स्थानिय निकायका जनप्रतिनिधिहरु बिचको द्धन्दले व्यास नगरपालिकाभित्र विगतदेखि नै अराजकता बढेको पुष्टि भैसकेको छ । कति बिषय सतहमा आए कति आउदै होलान् । तर अझै पनि समग्र नेतृत्वको सोच उपलब्ध श्रोत र साधनको प्रभावकारी प्रयोग मार्फत जनजिविका र जनचासोका बिषयहरु सर्वसुलभ शिक्षा, स्वास्थ्य उपचारको व्यवस्था, पूर्वाधार बिकासमा निश्चित लक्ष्य र उद्धेश्यका साथ योजनाबद्ध बिकास नै हुनुपर्दछ । खेर गईरहेको श्रम तथा प्राकृतिक श्रोतसाधनको प्रयोग मार्फत गाउँघरमै उद्यमशिलता प्रवद्धर्वन गर्न, रोजगारी र आयआर्जन बढाउन कर्मचारी प्रशासन र स्थानिय नेतृत्वको सोच नै हुनुपर्दछ । यो वा त्यो वहानामा अलमल गर्ने छुट कसैलाई छैन । यदि तपाईहरुको बिकासमा सोच पुग्दैन भने सयौ बिद्धान र युवाहरु तयार छन् योजनाका लागि, कामका लागि । साथै तमाम नगरवासीले पनि आफुले तिरेको करमा जनप्रतिनिधिमुलक संस्थाले गरेको सदुपयोग, दुरुपयोगमा आवाज उठाई सचेत खवरदारी तथा कारवाहीको लागि चनाखो आवश्यक छ । पार्टीको संकुचित दायराभन्दा माथि उठेर गुण र दोषको आधारमा प्यक्ति वा कार्यको मुल्यांकन गर्नु आवश्यक छ अन्यथा लुट्नेले लुटिरहने हामी सर्वसाधारण अभाव र आवाजविहिनतामा पिल्सिरहनुपर्ने अवस्था नबनोस् । (लेखकका निजी विचार)
बिशिष्ट श्री भट्टराई , व्यास ११ रानीगाउँ, (लेखक हाल त्रिचन्द्र बहुमुखी क्याम्पस, काठमाण्डौमा ग्रामिण बिकास बिभागमा उप-प्राध्यापक पदमा कार्यरत हुनुहुन्छ ।)