भूकम्प जाँदा के गर्नुपर्छ, के गर्नु हुँदैन

  • ख-
  • ख+

टर्की र सिरियामा सोमवार आएको ७.८ म्याग्निट्यूडको भूकम्प यो दशकको सबैभन्दा घातक भूकम्प हुनसक्ने सम्भावना छ। शुक्रवार बिहानसम्म दुवै देशमा गरेर झन्डै २०,००० भन्दा बढीको मृत्युभएको पुष्टि भएको छ।

टर्की विनाशकारी भूकम्पको जोखिमयुक्त क्षेत्रमा अवस्थित छ। सन् १९३९ देखि १९९९ सम्म त्यहाँ पाँचवटा ठूला भूकम्प गइसकेको छ।

सन् १९०० देखि हालसम्म ७६ वटा भूकम्पमा परी ९० हजारभन्दा बढीले ज्यान गुमाएका छन्। तीमध्ये आधाको मृत्यु सन् १९३९ र १९९९ मा भएका थिए।

विगत दुई दशकमा अन्य ठूला घातक भूकम्प मध्ये २०२१ मा हाइटीमा २,२०० जनाभन्दा बढीको मृत्यु भएको थियो भने २०१८ मा इन्डोनेशियामा ४,३०० जनाभन्दा बढीको ज्यान गएको थियो।

इरानमा २०१७ को भूकम्पमा परी ४०० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो।

नेपालमा सन् २०१५ मा गएको भूकम्पमा परेर झन्डै ९,००० जनाले ज्यान गुमाएका थिए।

भूकम्पको पूर्वानुमान सम्भव छ?
वैज्ञानिकहरूका अनुसार भूकम्प कहाँ जाने सम्भावना छ भन्ने थाहा भए पनि कहिले जान्छ भन्ने अनुमान गर्ने कुरामा हामी धेरै पछाडि छौँ। त्यसोभए के भूकम्पको भविष्यवाणी गर्न सकिन्छ त ?

”दुःखको कुरा सकिँदैन,” इम्पेरीअल कलेज लन्डनका भूकम्पविद् डा. स्टीफन हिक्स भन्छन्।

”तर हामी भूकम्पको पूर्वानुमान गर्न सक्छौँ, सम्भावना देखाउन सक्छौँ। जस्तैः अमेरिकाको क्यालिफोर्निया र जापानमा भूकम्पको पूर्वानुमान धेरै नै गर्न सकिने हुँदै छ।”

त्यसोभए सुरक्षित रहन के गर्न सकिन्छ र के गर्नु हुँदैन ?

तयारी अवस्थामा रहनुहोस्
भूकम्प कहिले जान्छ भनेर अनुमान गर्न सजिलो नभए पनि विज्ञहरूका अनुसार हामी सधैँ तयार रहनुपर्छ अर्थात् भूकम्प जाने सम्भावनालाई हेरेर योजना तयार पारेर राख्नुपर्छ।

”यदि तपाईँ धेरै भूकम्प जाने क्षेत्रमा बस्नुहुन्छ भने आफ्नो घरमा आपत्कालीन अवस्थामा चाहिने कुरा राख्दा उपयोगी हुन्छ,” डा. हिक्स भन्छन्।

उनका अनुसार त्यस्ता कुरामा अतिरिक्त पानी, टर्च, प्राथमिक उपचार किट र केही खानेकुरा हुनुपर्छ।

रेडक्रसका अनुसार त्यस्ता कुरामा अतिरिक्त नगद र औषधिको सूची जस्ता महत्त्वपूर्ण व्यक्तिगत कागजपत्रहरूको प्रतिलिपि पनि हुनुपर्छ।

यदि तपाईँ बसेको भवन सुरक्षित छ भने अन्यत्र नजानुहोस्
अमेरिका सरकारको भौगर्भिक निकाय यूएसजीएसका अनुसार यदि तपाईँ जहाँ हुनुहुन्छ त्यहीँ बस्नुभयो भने तपाईँलाई चोटपटक लाग्ने सम्भावना कम हुन्छ।

त्यसैले भूकम्पको समयमा बाहिर वा अन्य कोठातिर भाग्ने प्रयास नगर्न उसले सुझाव दिएको छ।

”ड्रप, कभर र होल्ड अन” अर्थात् ”निहुरिनु, छेकिनु र रोकिनु ” सुरक्षित रहन मूलमन्त्र भएको विशेषज्ञहरू बताउँछन्।

आफ्नो हातलाई तल पारेर घुँडा टेकेर बस्दा तपाईँ माथिबाट झर्ने वस्तुबाट जोगिन सक्नुहुन्छ। यदि नजिकै कुनै अन्य आश्रयस्थल नभएमा टेबल वा डेस्कमुनि बसेको बेला भूकम्प नरोकिँदासम्म समातेर बस्ने सल्लाह पनि दिइएको छ।

जोगिने प्रारम्भिक उपायमध्ये ढोकामुनि उभिनु पनि हो। तर विज्ञहरू भन्छन् यदि तपाईँ तुलनात्मक रूपमा पुरानो घरमा बस्नुहुन्छ भने तपाईँ टेबलमुनि सुरक्षित हुनुहुनेछ।

घरका झ्याल र अग्रभाग प्रायः पहिलो चरणमै भत्किन्छन्। त्यसैले यस्ता खतरायुक्त क्षेत्रहरूबाट टाढा बस्न सल्लाह दिइन्छ।

बाहिर निस्किँदा सुरक्षित भइन्छ भन्ने छैन
एक पटक भूकम्प बन्द भएपछि भवन भत्किएको अवस्थामा खुला क्षेत्रमा बाहिर निस्कनु सामान्यतया सुरक्षित मानिन्छ।

यो तपाईँ भित्र भएका बेला भूकम्प जाँदाको कुरा भयो। तर तपाईँ बाहिर हुँदा भूकम्प गयो भने के गर्ने ?

”तपाईँ जहाँ हुनुहुन्छ, त्यहीँ बस्नुहोस्,” विज्ञहरू भन्छन्।

घर बाहिर हुँदा विद्युत् वा इन्टरनेटआदिका तार, इन्धन र ग्यास लाइनबाट टाढा जाँदा चोटपटकको जोखिम कम हुन्छ।

त्यस्तै रूख, टेलिफोनका पोल र भवनबाट टाढा खुला ठाउँमा जानु राम्रो हुन्छ।

खतराबाट टाढा रहनुहोस्
अर्थक्वेक कन्ट्री अलायन्सका अनुसार अधिकांश घाइते र मृत्युको कारण टेलिभिजन, बत्ती, गिलास र पुस्तक राख्ने दराजजस्ता वस्तुहरू खसेर वा उडेर लाग्दा हुने गरेको छ।

चोटपटकबाट बच्ने एउटा तरिका भनेको लचकदार फित्ताहरूले गह्रौँ फर्निचरहरूलाई बाँधेर सुरक्षित गर्नु हो।

अर्को सम्भावित खतरा भनेको भूकम्पपछि फुटेका पाइपबाट ग्यास चुहिनु हो।

डा. हिक्सले सन् १९०६ को सान फ्रान्सिस्को भूकम्पको उदाहरण दिए।

उक्त भूकम्पमा ३,००० भन्दा बढी मानिसको मृत्यु भएको थियो।

”भवन भत्किएरभन्दा धेरैजसो मृत्यु ग्यास पाइपलाइन विस्फोटनका कारणले भएको थियो,” उनले भने।

उनी कुनै पनि ज्वलनशील पदार्थहरूबाट टाढा रहन सल्लाह दिन्छन्।

डा. हिक्सले भूकम्पीय अभ्यासको महत्त्वलाई पनि जोड दिए।

”केही देशहरूमा भूकम्पसम्बन्धी पूर्वाभ्यासहरू हुन्छन्। त्यहाँ सबैले के गर्ने भन्ने अभ्यास गरिन्छ। तर सम्भवतः टर्कीको त्यो भागमा भएको थिएन किनभने त्यहाँ लामो समयसम्म भूकम्प गएको थिएन।” (बिबिसि)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्