
(संगम सापकोटा)
खै किन बोल्दैन उ कसैसङ्ग मन खोल्दैन भावुक छ,
दुखी राम दुखिरहेछ, हुनुपर्छ सायद कथा नाजुक छ।
कर्मको तीरले खुशी झार्न सकेन बिचरा एक पात्र,
प्रहार धेरै भो, हार भो, किन उस्को निशाना चुक्छ ?
आफन्तले लुट्नु लुटे उस्लाइ, ग्रह दशाले चुट्नु चुटे,
सान्त्वना दिन आउनेको, देख्छु हातमा नुनचुक छ ।
लुकि रहेछ, आँसु पुछि रहेछ किन ? बल्ल थाहा भयो,
नदेखिएको उस्को, नलेखिएको ब्यथाको ठुलो बुक छ।
धनी भोलिको लागि सोंच्छन, ति गरिब आज साँझको लागि,
जिन्दगी त्यो साहुलाई बुझाउन ऋणको तमसुक छ।
साहुलाई बुझाउन ऋणको तमसुक छ।।
संगम सापकोटा, दमौली , तनहूँ ।