चोभारको सुख्खा बन्दरगाह प्रयोग गर्न किन मान्दैनन् व्यापारी ?

  • ख-
  • ख+

काठमाडौं । २२ चैत २०७८ मा चोभार सुख्खा बन्दरगाह उद्घाटन गर्दै तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंलाई अन्तर्राष्ट्रिय व्यापारको हब बनाउन यो बन्दरगाह कोशेढुंगा हुने घोषणा गरेका थिए ।

उनले सुख्खा बन्दरगाह सञ्चालन आएपछि मुलुकको आयात निर्यातको ठूलो हिस्सा ओगट्ने काठमाडौं उपत्यकाको व्यापार सहज हुने, व्यापारीको लागत घट्ने, वस्तु तथा सेवाको आयात निर्यात थप व्यवस्थित हुने दाबी गरेका थिए ।

तर, बन्दरगाह सञ्चालनको एक वर्ष पुग्न केही साता मात्र बाँकी छ, अहिलेसम्म यो बन्दरगाहबाट जम्मा ४६ करोड रुपैयाँको मात्रै वस्तु आयात भएको छ । बन्दरगाह कार्यालय चोभारका अनुसार १५ फागुनसम्म जम्मा १०९ वटा कन्टेनर बन्दरगाहमा भित्रिएका छन् । यस अवधिमा जम्मा एक करोड ५४ लाख रुपैयाँको वस्तु निर्यात भएको छ ।

काठमाडौंबाट हुने अन्तर्राष्ट्रिय व्यापार सहजीकरणका लागि ऋण अनुदानमा बनाइएको यो पूर्वाधारको सञ्चालन अहिलेसम्म निराशाजनक छ । करिब एक सय वर्ष आयु भएको पूर्वाधारका विषयमा सुरुमै नकारात्मक चर्चा गर्नु उचित नहुने बन्दरगाह सञ्चालन गर्ने निकाय इन्टरमोडल यातायात विकास समितिको भनाइ छ । तर व्यवसायीले भने बन्दरगाहको प्रयोग झञ्झटिलो भएको बताएका छन् ।

व्यवसायी उमेश शर्मा वीरगञ्जमा जाँच पास भएको मालसामान पुनः चोभार लैजानु झञ्झटको उदाहरण भएको बताउँछन् । भारत तथा तेस्रो मुलुकबाट ल्याएको सामान वीरगञ्जमा खसालिसकेपछि पुनः काठमाडौं ल्याउनु व्यापारीका लागि असाध्य झञ्झटिलो भएको शर्माले बताए । ‘यहाँ रेलबाट पल्टी गरेर राख्यो, अनिफेरि काठमाडौं लैजाऊ यो झञ्झटपूर्ण छ’, उनले भने, ‘जिपिएस ट््रयाकिङको नियम ल्याए पनि त्यसको सही मनिटरिङको प्रणाली छैन ।’

उनका अनुसार काठमाडौं सामान लैजाने व्यापारीहरु पनि सुख्खा बन्दरगाह प्रयोग गर्न हिच्किचाएका छन् । काठमाडौंमा बेलुका नभई मालबाहक गाडी प्रवेश गर्न नपाउने, वीरगञ्जमा दोहोरो पल्टी र महँगो लागत र सिपिङ कम्पनीहरुको असहयोग चोभार सुख्खा बन्दरगाह सञ्चालनका अवरोध हुन् ।

नेपालमा मालसामान आयात गर्ने व्यापारी ऋषि नाडाल कलकत्ता वा विशाखापटनमबाट सिधै चोभार कन्टेनर आउने अवस्था नभई चोभार बन्दराह चल्न मुस्किल रहेको बताउँछन् ।

उनका अनुसार अहिले नेपाली व्यवसायीले आयात गर्ने मालसामान दोहोरो, तेहोरो पल्टीका कारण लागत मूल्य बढिरहेको छ । यसबाट व्यवसायी र उपभोक्ता दुवै मारमा परेको नाडाल बताउँछन् ।

तेस्रो मुलुकबाट नेपाल आयात गरिएको सामान पहिले पानीजहाजले श्रीलंकाको कोलम्बो लैजान्छ । त्यसपछि थोरै सामान बोक्ने अर्को जहाजले कोलकातासम्म ल्याउँछ । नाडालका अनुसार ठूलो जहाजले झरेको सामान सानो जहाजमा लोड गरेर कोलकाता ल्याउनुपर्छ । कोलकातामा पानीजहाजले झारेपछि वीरगञ्जसम्म रेल वा कन्टेनरमा ल्याइन्छ । ‘वीरगञ्जसम्म रेलबाट आएको कन्टेनर पुनः काठमाडौं पठाउँदा अर्को ठूलो लागतको समस्या हो । त्यस कारण आयातकर्ताहरु उत्साहित भइरहेका छैनन्’ नाडाल भन्छन्, ‘भारतका अन्य ठूला बदरगाह प्रयोग गर्न नपाइने र भएका बन्दरगाहसम्म पनि चोभार सिधै नजोडिएपछि समस्या भएको छ ।’ सरकारले जसरी भएपनि चोभारलाई भारतीय बन्दरगाहसम्म जोड्नु पर्ने उनको भनाइ छ ।

नेपाल फ्रेटफरवार्ड एशोसिएसनका महासचिव अशोकमान कपाली पनि चोभार बन्दरगाह व्यापार पूर्वाधारसंग राम्रोसँग नजोडिएको बताउँछन् । ‘चोभारको व्यापार पूर्वाधार चल्नका लागि कनेक्टिभिटी के हो रु’ उनले भने ‘राम्रो पूर्वाधार बिनै बनेको बन्दरगाह सञ्चालन हुन केही समय पक्कै लाग्छ ।’

वीरगञ्ज र विराटनगर जस्ता बन्दरगाह चल्नुको कारण उनीहरुको कनेक्टिभिटी रेल र भारतीय बन्दरगाहसम्म रहेको उनले बताए । चोभारलाई पनि यस्तै कनेक्टीभिटी आवश्यक रहेको बताए ।

त्यसो त अन्तर्राष्ट्रिय व्यापार र भन्सार नाका सञ्चालन गर्ने भन्सार विभागले पनि चोभारका लागि थप कानुनी सुधार गर्नुपर्ने महशुस गरेको जनाएको छ । विभागका कार्यबाहक सूचना अधिकारी राम मैनाली भन्सारमा मालसामान ल्याउन भुक्तानी प्रणालीले अप्ठ्यारो परेको गुनासो पनि आएको बताउँछन् ।

‘हामीले एलसीमा आएका सामान मात्रै सुख्खा बन्दरगाह आउने भनेका रहेछौं’, मैनालीले भने, ‘यसलाई सुधार गरेर टीटी लगायतमा भुक्तानी प्रणालीका आयात पनि चोभार भन्सार भित्र्याउन दिने गरी छलफल गरेका छौं ।’ सरकारले ठूलो लगानी गरेर बनाएको पूर्वाधार सञ्चालनका लागि विभागले पनि पहल गरिरहेको र छिट्टै नतिजा देखिने सुख्खा बन्दरगाह भन्सार कार्यालयले जनाएको छ ।

(अनलाईन खबर)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्