स्ववियु निर्वाचनमा भिमादको क्याम्पसका सञ्चालक समितिका सदस्य आचार संहिता विपरित भोट माग्न व्यस्त

  • ख-
  • ख+

तनहूँ । त्रिभुवन विश्वविद्यालयका क्याम्पसमा हुने स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनले देशभरका विद्यालयमा चहलपहल बढेको छ ।

करिब एक दशकदेखि हुन नसकेको स्ववियु निर्वाचन भोलि आइतबार हुँदैछ । निर्वाचनमा आङ्गिक क्याम्पसतर्फ करिब एक लाख ६३ हजार ८२ विद्यार्थी मतदाता रहेका छन् ।

स्ववियु निर्वाचन आचारसंहिताअनुसार बिहीबार राति १२ बजेदेखि मौन अवधि सुरु भइसकेको छ । उम्मेदवारले सो समयदेखि स्ववियु चुनावको प्रचार–प्रसार गर्न पाइनेछैन । निर्वाचन हुनुभन्दा ४८ घण्टा अगाडि प्रचार–प्रसार बन्द गरिएको हो । यही चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि पाँच दिनको लागि मात्र प्रचार–प्रसारको समय छुट्याइएको थियो ।

तर, तनहूँको भिमाद नगरपालिकास्थित जनज्योति क्याम्पसका सञ्चालक समितिका सदस्यहरु नै सामाजिक सञ्जालमार्फत मत मागिरहेको पाईएको छ । संचालक समितिका सदस्यहरु मिलन आले, चुडामणि खनाल र अर्विन श्रेष्ठले आसन्न स्ववियु निर्वाचनमा नेविसंघको पक्षमा सामाजिक संजाल मार्फत मत माग्नुभएको छ । उहाँहरुले आफ्नो सामाजिक संजालमा आफु सम्बद्ध पार्टीका
प्यानललाई विजयी गराउन आग्रह गर्नुभएको छ ।

क्याम्पसको समितिमा रहेर अभिभावकीय भूमिका निर्वाह गर्नुको सट्टा कुनै एक विधार्थी संगठनको पक्षमा मत माग्नु निन्दनिय, भर्त्सनायोग्य र गैरजिम्मेवार काम रहेको भन्दै खेदजनक रहेको जनज्योति क्याम्पसका अन्य विद्यार्थी संगठनले आपत्ति जनाएका छन् ।

निर्वाचनमा अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन् ।

स्ववियु निर्वाचनका लागि ६२ आङ्गिक र एक हजार ४० क्याम्पसमा एकै साथ यही चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मतदान हुनेछ ।

त्रिभुवन विश्वविद्यालयले स्ववियु निर्वाचनको मतदान केन्द्रमा मोबाइलदेखि पानीका बोतल लैजान निधेष गरेको छ । निर्वाचनलाई भयरहित बनाउनका लागि त्रिविले मोबाइल, पानीका बोतल, जार तथा घरेलु हातहतियार मतदान केन्द्रमा लैजान प्रतिबन्ध लगाएको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्