रमेश खरेलको सुशासन पार्टी रास्वपामा मर्ज हुँदै, चुनावपछि पार्टीको जिम्मेवारी दिइने

  • ख-
  • ख+

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले हिजो एकै दिन आगामी उपचुनावका सन्दर्भमा ब्याक टु ब्याक दुईवटा सरप्राइज दियो । तनहूँ १ र बारा २ मा उसले राष्ट्रिस्तरमै चर्चित र ‘काबिल’ अनुहारहरूलाई अघि सारेपछि अन्य दलहरु पनि तरंगित बनेका छन् ।

नेपाली कांग्रेसमा आबद्ध युवा अर्थशास्त्री डा. स्वर्णिम वाग्ले रास्वपा प्रवेश गरेर तनहुँबाट उपचुनाव लड्ने चर्चा हिजो बिहानबाट सुरू भएको थियो । तर, पूर्वडीआईजी रमेश खरेलले बाराबाट उम्मेदवारी दिने चाहीँ पार्टीको आधिकारिक विज्ञप्ति आएपछि मात्रै सञ्चारमाध्यमले थाहा पाए । जे होस, दुईजना राष्ट्रप्रेमी र जनप्रिय व्यक्तिहरू पार्टीमा भित्रिँदा रास्वपाभित्र उमंगको वातावरण छ ।

स्वर्णिम वाग्लेले आफू कांग्रेसबाट अलग भएको औपचारिक घोषणा गरिसकेका छन् । यद्यपि, आगामी यात्राबारे आफैंले केही भनेका छैनन् । यता, रमेश खरेल चाहीँ पूर्णरूपमा मौन छन् । धेरैलाई जिज्ञासा छ, उनले आफ्नै नेतृत्वको पार्टी हुँदाहुँदै अर्को पार्टीबाट चुनाव लड्ने निर्णय किन लिए ?

खरेलको नेतृत्वमा रहेको सुशासन पार्टी अहिले पनि जीवित छ । अघिल्लो संसदीय चुनावमा खरेल स्वयम् सो पार्टीबाट काठमाडौं १ मा उम्मेदवार बनेका थिए र उल्लेख्य मतसमेत ल्याएका थिए । अब उनी आफैं रास्वपा उम्मेदवार बन्ने भएपछि पार्टीको अस्तित्व के हुन्छ भन्ने प्रश्न उठेको छ ।

एउटा पार्टीका प्रमुख व्यक्ति अर्को पार्टीबाट उम्मेदवार बनेको ताजा नजिर गत संसदीय चुनावमै छ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा एमालेको सूर्य चुनाव चिन्ह लिएर चुनाव उठेका थिए । तर, उनी एमाले प्रवेश गरेका होइनन् । अहिले पनि राप्रपा नेपालकै अध्यक्ष छन् । के यही मोडालिटीमा खरेल रास्वपाबाट उठ्न लागेका हुन् त ? त्यस्तो होइन ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता डा. मुकुल ढकालका अनुसार खरेलको राजनीति अब रास्वपाबाटै अघि बढ्ने छ । साथै, सुशासन पार्टीमा रहेका नेताहरूलाई पनि रास्वपामा समायोजन गर्ने समझदारी रहेको उनले जानकारी दिए ।

‘उहाँ खाली चुनाव लड्नका लागि आउन लाग्नुभएको होइन, उहाँ अब रास्वपामा नै रहनुहुन्छ,’ डा. ढकालले भने ।

रास्वपा र सुशासन पार्टीबीच औपचारिक सम्झौता भने भएको छैन । आपसी कुराकानी र समझदारीमा आधारमा खरेल रास्वपामा भित्रिन थालेका हुन् । उनीसँगै सुशासन पार्टी पनि रास्वपामा समायोजित हुनेछ ।
डा. वाग्ले र खरेल दुवैलाई रास्वपाले पार्टीमा उचित जिम्मेवारीसमेत दिने तयारी गरेको छ ।

प्रवक्ता ढकाल भन्छन्, ‘अहिले सबैजना उपनिर्वाचनमा नै होमिनुपर्ने अवस्था छ । चुनाव सकिएपछि उहाँहरुलाई दिने जिम्मेवारीबारे छलफल हुन्छ ।’

रास्वपामा पदाधिकारीहरू थोरै छन् । अनुभवी र सिनियर नेताहरुको पनि कमी छ । डा. वाग्ले र खरेलको आगमनले सो अभावको पूर्ति हुने विश्वास राखिएको छ । क्षमताअनुसार नेताहरूलाई समायोजन गर्न पार्टीमा कुनै समस्या नरहेको डा. ढकालले बताए ।

अहिले पार्टीमा सभापति लामिछानेपछि दोस्रो वरियतामा उपसभापति डोलप्रसाद अर्याल छन् भने महामन्त्रीमा डा. ढकाल छन् । यसैगरि कविन्द्र बुर्लाकोटी सहमहामन्त्री र बसुमाया तामाङ सहकोषाध्यक्ष रहेका छन् । पार्टीमा ४० सदस्यीय केन्द्रीय कमिटी छ । (नेपाल प्रेस)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्