कांग्रेस र एमालेबीच रास्वपा बिरुद्ध तनहूँ १ मा तालमेलको कसरत

  • ख-
  • ख+

काठमाडौं । देशका दुई प्रमुख दल नेपाली कांग्रेस र नेकपा एमालेबीच उपनिर्वाचनमा तालमेलको कसरत अन्तिम चरणमा भंग भएको छ । वैशाख १० गते हुने उपनिर्वाचनमा कांग्रेस र एमाले तालमेलको नजिक पुगेका थिए ।

मंगलवार एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा दुई दलबीच सहमति पत्रमा हस्ताक्षर अन्तिम चरणमा रोकिएको छ । सहमतिपत्रमा देउवाको हस्ताक्षर लिएर कांग्रेस नेताहरु डा।मिनेन्द्र रिजाल र गोरखा १ बाट निर्वाचित सांसद समेत रहेको राजेन्द्र बजगाई बालकोट पुगेका थिए ।

सहमतिको मस्यौदामा एमाले उपाध्यक्ष बिष्णु पौडेल सहभागी थिए । बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपमहासचिव विष्णु रिमाल पनि राति बालकोट पुगेका थिए ।

देउवा र ओलीबीचको संवादपछि चितवन २ मा कांग्रेसले एमालेलाई सघाउँने र तनहूँ १ मा एमालेले कांग्रेसलाई सघाउँने सहमति भइसकेको थियो । बारा २ को बारे सम्झौतामा उल्लेख थिएन ।
बारा२ को सन्दर्भमा भने कांग्रेसको उम्मेदवार नभएकाले सहमतिपत्रमा उल्लेख गरिएको छैन ।

स्रोतका अनुसार दुई दलका प्रमुख नेताबीच कांग्रेसले बारा २ मा एमालेलाई सघाउँने अनौपचारिक सहमति भएको थियो ।
देउवाको हस्ताक्षर बोकेर कांग्रेस नेताहरु बालकोट पुगेपछि छलफल भइरहेका बेला भारतीय जनता पार्टीका नेता बिजय चौथाईवाले ओलीलाई भेट्न गए । केही समय ओली र चौथाइवालेबीच वार्ता भइरहेका बेला कांग्रेसभित्र चलखेल भयो ।

देउवाले चितवनका जितनारायणलाई ‘भाइ तिमी जित्दैनौ एमालेलाई सघाउँ,उता तनहूँमा हामी जित्ने’ भन्दा जितनारायण मानेनन् । दुई महामन्त्रीले पनि सकारात्मक रेस्पोन्स नगरेपछि देउवा बिलखबन्दमा परेको कांग्रेस नेताहरुले बताएका छन् ।

कांग्रेस र एमाले नमिल्दा व्यवस्थामाथि नै संकट उत्पन्न गर्ने खालका गतिविधिहरु भएको र अराजकतालाई राजनीतिक रुपमा दिन थालिएको विश्लेषण गर्दै शीर्ष तहमा यो सहमति आबश्यक भएको नेताहरुको जिकिर थियो । स्रोतका अनुसार बिगत तीन दिनदेखि एमाले उपाध्यक्ष पौडेल र कांग्रेसका नेता डा।रिजाल तथा राजेन्द्र बजागाई यो सहमति निर्माणमा खटिएका थिए । कांग्रेसले एमालेलाई सघाएसँगै चितवनमा माओवादीको समर्थन पनि एमालेलाई नै हुने कांग्रेस नेताहरुको दावी थियो ।

ओली र देउवाबीचको यो संवादको बारेमा प्रचण्ड पनि जानकार थिए । तर कांग्रेसभित्रै समस्या भएपछि अन्तिम चरणमा सहमति रोकिएको छ । कांग्रेस महाधिवेशनमा महामन्त्री हारिसकेपछि रक्षामन्त्रीबाट राजीनामा दिएर राजनीतिक मूलधारबाटै किनारामा लागेका रिजालले चुनावमा टिकट समेत पाएनन् । तर पछिल्लो समय रिजाललाई नै देउवाले विश्वासपत्रका रुपमा ओली र प्रचण्डसँग संवादमा खटाइनुलाई समेत अर्थपूर्ण रुपमा हेरिएको छ ।

सहमतिमा हस्ताक्षर हुन लागेकै बेला भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख बिजय चौथाइवाले ओलीलाई भेट्न पुगेका थिए । ओली भेटघाटमा रहेका बेला बाहिर कांग्रेसभित्र धेरै चलखेल भयो । कांग्रेसकै नेताहरुले उपचुनावमा एमालेसँग तालमेल सफल भए बैशाख १० पछि प्रचण्ड प्रधानमन्त्री नरहने भनेपछि माओवादी पंक्ति पनि तरंगित भयो । खासमा यो चलखेल कांग्रेसभित्रको थियो ।

काठमाडौंमा सहमति भएपछि देउवाले चितवनका कांगे्रस सभापति राजेश्वर खनाललाई फोन गरे । खनालसँगै बालकृष्ण खाँण पनि थिए । खाँणले चुनावी नतिजा के हुन्छ भन्न सकेनन् । तर खनालले एमालेलाई छाड्न मानेन् ।
लगत्तै कांग्रेस उपसभापति तथा उपप्रधानमन्त्री पुर्णवहादुर खड्काले एमालेसँग मिल्ने कुरामा कडा आपत्ति जनाए ।

उनको बोलीमा प्रचण्ड झल्किएको नेताहरु बताउँछन् । गठबन्धन भत्काएर एमाले र कांग्रेसको सरकार बन्ने खतरा समेत यसमा समेटिएपछि बालकोटमा मध्यरातमा सहमति हुन नसकेको नेताहरु बताउँछन् । दुई महामन्त्री र उपसभापतिहरुलाई थाहै नदिई देउवाले मिनेन्द्र रिजाल अघि बढाएपछि कांग्रेसभित्रका यदुबंशीहरु भड्किएको आरोप छ ।

(साभारः नेपाल प्रेस)
नोटः शिर्षक सम्पादित

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्