व्यासमा देखाउन लायक थुप्रै कामहरु भएका छन्ः बैकुण्ठ नाथ न्यौपाने, मेयर , व्यास नगरपालिका, तनहूँ (भिडियो सहित)

  • ख-
  • ख+

१०८ फिटको मुर्ति निर्माण, नारेश्वर ताल निर्माण, मानहुँकोटको बिकास प्रवर्द्धन, तनहूँसुरसम्म बाटो पुर्याएर त्यहाँको बिकास गर्ने अभियान ,मादी नदिको १८ किलोमिटरको पनि गुरुयोजना,वडा कार्यालय भवन, चिस्यान केन्द्र , मानहुँकोट, केशवटार, देवीडाँडा, नयाँबस्तिमा खानेपानी योजना, बैरेनीमा एकिकृत जग्गा बिकास, मादी नदी तटबन्ध, व्यास नगरपालिकाको अस्पताल लगायतका थुप्रै कामहरु भएकै हुन् नि होईन र ?

  • ” नगरपालिकाको नयाँ व्यावसायिक भवन बनाउन अलिअलि विवाद छ तै पनि भवन बन्छ ।”

व्यासको तपोभुमि व्यास नगरपालिकाको मेयररुपमा बैकुण्ठ नाथ न्यौपाने आसिन हुनुहुन्छ । मेयरको रुपमा दोश्रो कार्यकालमा पनि मेयर विजयी बन्नुभएका मेयर न्यौपानेका सामु आफ्नो अघिल्लो कार्यकालमा सूचारु गरेका योजनाहरुलाई पुरा गर्ने जिम्मेवारीका साथै व्यास नगरपालिकालाई सम्मुनत बनाउने जिम्मेवारी रहेको छ । व्यास नगपालिकाले आ. व. २०८०।८१ को लागि १ अर्ब ५९ करोडको बजेट ल्याएको छ । मेयर न्यौपानेसग आ.व. २०८०।८१ को बजेट र समग्र नगरपालिकाको बारेमा कुराकानीको संक्षिप्त अंशः

प्रश्नः सर तपाईले व्यास नगरपालिकाको मेयरको रुपमा अघिल्लो कार्यकाल पनि गुर्जानुभयो उक्त कार्यकालमा पनि नीति तथा कार्यक्रमहरु राम्रा राम्रा आए तर पुर्णरुपमा लागु हुन सकेनन् , आर्थिक बर्ष २०८०। ८१ का लागि पनि राम्रा राम्रा कार्यक्रमहरु समेटेर नीति तथा कार्यक्रमहरु आएका छन् यस्लाई यहाँले कुन रुपमा हेर्नुभएको छ ?
अब नीति तथा कार्यक्रमलाई व्याख्या गर्नुपर्दा , यस्को भौगोलिक र जनसंख्याको अवस्था हेर्नुपर्दा नीति तथा कार्यक्रमहरुमा धेरै अघिल्ला बर्षकै निरन्तरताहरु छन् भने करका दायराहरु बढाएर कर घटाउने नीतिगत रुपमा ऐनमा हामीले व्यवस्था गर्न लागेका छौ । कतिपय संवैधानिक, कानुनी कुराहरु बुझेर हामीले नयाँ नयाँ कुराहरु लागु गर्न खोजेका छौ । नीति तथा कार्यक्रम भनेको गाईड लाईन हो र यस्लाई हामीले अघिल्ला बर्षहरुका भन्दा अलिकति परिमार्जन गरेर पेश गरेको छौ ।
प्रश्नः नीति तथा कार्यक्रमहरु गाईड लाईन हो भन्नु भयो तर नगरपालिकाले शिक्षा, स्वास्थ्य , कृषिमा फोकस नगरिकन नयाँ भवन निर्माण भतेरी लगायतका विभिन्न ठाँउका जग्गाहरु अधिग्रहण गर्न लागेर अनुत्पादक क्षेत्रमा फोकस गर्न लाग्यो भन्ने जनगुनासो छ नि नगरप्रमुखको नाताले के भन्नुहुन्छ तपाई ?
दमौलीमा पार्किगंको समस्या भईसकेको छ, दमौलीको घरहरु पछाडिको ३० फुटको जग्गा खालि राख्नुपर्ने त्यो पनि हुन सकेन ? करंगकाठमा भएको बसपार्कमा जान पनि सबैलाई सम्भव पनि भएन । दमौलीको लागि बसपार्क बनाउनुपर्ने, बालउद्यानहरु बनाउनुपर्ने , मनोरन्जन पार्कहरु बनाउनुपर्ने ति हुन सकेका छैनन् त्यसैले आजदेखि होईन पुर्व मेयर धु्रव वाग्लेको पालादेखि नै सरकारसग पैसा मागेर मादीको पुलमुनि भतेरीको जग्गा अधिग्रहण गर्न खोजिएको हो । मादी नदि एकिकृत बिकासको कुरा अनुसार काम गर्न लागेका पनि हौ । यसमा नगरपालिकाको एकदमै कम पैसा लगानी हुनेछ । जहाँसम्म नयाँ भवनको कुरा छ ७ वटा गाविसहरु मिलेर व्यास नगरपालिका बनेको छ । नगरपालिका बनेसगै जनघनत्व बढेको र पार्किगंको सुविधा र व्यवसायिक प्रयोजनको लागि बनाउन लागिएको हो । ठुला ठुला सपिगं मलहरुमा जस्तै कृषि उत्पादनलाई प्राथमिकता दिन, ठुला सभा समारोहहरुका लागि हलको आवश्यकतालाई पुर्ति गर्न पनि यो नयाँ भवनको कन्सेप्ट ल्याईएको हो । अलि अलि विवाद त छ नै हामीले ऋण लिएर नै भवन बनाउन लागेको हौ । २० बर्षमा तिर्नुपर्ने ऋण भएको र आम्दानी आएपछि तिर्नुपर्ने ऋण भएकोले दिर्घकालिनरुपमा नगरपालिकालाई फाईदा पुग्ने सोचेर नै यो भवन बनाउन लागिएको हो । यस्मा नगरपालिकाको ३० प्रतिशत मात्र लगानी हुनेछ ।
प्रश्नः सर अब बजेटका कुरा गरौ, आर्थिक बर्ष २०८०।८१ का लागि १ अर्ब ५९ करोडको बजेट ल्याउदै हुनुहुन्छ , के छ यो बजेटले व्यास नगरपालिकाका बिकास निर्माणका कामहरुलाई गति दिन सक्छ ?
यस्मा के छ भने अधिकांश बजेट चालु खर्चसग जोडिएको छ । करिब ९३, ९४ करोड रुपैया त कर्मचारी तलब, वडा कार्यलय संचालन, फोहोर मैला , प्रशासनिक खर्चमा जाने छ । बाँकि ६०,६३ करोड चाँहि पुजीगँत खर्चमा व्यवस्थापन गर्न जान्छ । अर्को हामीलाई के समस्या छ भने संघ सरकारले राजश्व बाँडफाडबाट १५, १६ करोड दिन्छु भनेकोमा ६ करोड मात्र दिएको छ । अर्को हाम्रो आन्तरिक आम्दानी पनि २२ करोड हुनुपर्नेमा १२ करोड जति आयो, क्रमागत योजनाहरु पनि कोभिड लगायतका विविध कारणले ढिलाई भएर भुक्तानीलाई पनि दिनुपर्ने दायित्व हामीमा थपिएको छ । धेरै त होईन अघिल्लो बर्षभन्दा ११, १२ करोड बजेट पनि कम भएको छ ।
प्रश्नः सरले भन्न खोज्नुभएको अघिल्लो बर्षको जत्ति पनि बजेट छैन भनेर अघिल्लो बर्ष जति पनि काम गर्न सकिदैन भन्न खोज्नुभएको हो ?
होइन अघिल्लो बर्ष जति त काम गर्न सकिन्छ । अघिल्लो बर्ष संघ र प्रदेशले ५० प्रतिशत वित्तिय समानिकरणमा घटाईदिएको कारण हाम्रो ३० करोडको हाराहारी लष्ट भयो । प्रदेशले त त्यति घटाएको होईन संघबाट आउने पैसा घटेर आयो त्यसैले गर्दा यो बर्षको दायित्व अर्को बर्ष निर्वाह गर्नुपर्दा अपेक्षित बिकासमा राख्न सकेका छैनौ ।
प्रश्नः सर त अनुभवी मान्छे करिब ६ बर्ष भन्दा बढि भईसक्यो व्यासको मेयर हुनुभएको प्रशासनिक खर्च, विविध खर्चहरु घटाएर त्यो रकम बिकास निर्मााणतिर अन्य क्षेत्रतिर लगाउनुपर्ने होईन ?
अब के छ भने हाम्रो मातहत साढे ६ सयको हाराहारीमा शिक्षकहरु हुनुहुन्छ । २८ वटा जति स्वास्थ्य संंस्थाहरु छन् । ति संचालन गर्नुपरेको छ । वडा धेरै भएर शिक्षक र विद्यार्थी संख्या धेरै पनि छन् । हामीले संघ र प्रदेशले दिएको सुविधाभन्दा बाहेक अतिरिक्त सुविधा केहि नदिईकन काम गरेका छौ । सरसफाईका कामहरु पनि लगाउनुपर्नेछ । कर्मचारीहरुलाई खटाउनुपर्नेछ । सकेसम्म हामीले खर्च कम गर्ने गरेका छौ । नेतृत्व बिकास, दलित, जनजाति, महिला, अपांगसग जोडिएका कुराहरु छन् । ईसिडि शिक्षा, एकाउण्टेन्ट कार्यालय सहयोगी सबैको धेरै जिम्मा स्थानिय निकायलाई दिएको हुनाले चाहेर पनि ति खर्च घटाउन सक्नेसम्म हामीले कोशिश गरेका छौ तर घटााउनै नसक्ने अवस्था रहेको छ ।
प्रश्नः व्यास नगरपालिकाले संघ र प्रदेश सरकारको कत्तिको सहयोग पाएको छ ?
संघ सरकारले समपुरक योजना र बिशेष योजनाको लागि १ करोड २० लाख पठाएको छ तर नियमित बाहहेक थप केहि आएको छैन । प्रदेशले अघिल्लो बर्षभ्नदा १०, २० लाख बढाएर पठाएको छ भने संघको ३ करोड घटेर आयो ।
प्रश्नः व्यास नगरपालिकाले एकदमै धेरै कर असुल गर्छ भन्ने सर्वसाधारणहरुको के गुनासो तपाईले सु्न्नुभएको छ कि छैन ?
१० बर्षसम्म व्यासको कुनै पनि करको दरमा कुनै हेरफेर भएको थिएन । गएको बर्ष डाक्टर शेषरमण न्यौपानेको अध्यक्षतामा यहाँका उद्योगी , व्यवसायीहरुका पनि प्रतिनिधि राखेर परिमार्जन गरिएको थियो तर साथीहरुले परिमार्जन गरिएको करको दरलाई पुर्नबिचार गर्नुपर्यो भनि गुनासो गरेपछि हामीले यसपटक करेक्सन गरेका छौ । हामीले करको दायरा बढाउने र कर घटाउने नीति लिएका छौ ।
प्रश्नः अर्को कुरा सानो छ दमौली बजार, फोहोर मैलाको व्यवस्थापन गर्नुपर्ने यहि दमौली बजारको नै हो यत्रो बर्षमा पनि यति सानो बजारको फोहोर व्यवस्थापन गर्न सक्नुभएन भन्ने सधै आरोप लागिरहन्छ नि तपाईलाई ?
यो बिषयमा के भनौ भने कुहिने फोहोरको व्यवस्थापन हामीले करिब करिब व्यास १० मा मिलाएका छौ । दिशा पिसावको लागि सुँढेमा बनेको भवनमा नगरपालिकाको पनि १५ प्रतिशत लगानी छ, संघ सरकार त्यतिबेलाको खानेपानी कार्यालयले हस्तान्तरण नगरेको कारणले त्यो भवनलाई प्रयोगमा ल्याउन सकेका छैनौ । स्थायी रुपमा फोहोर विर्सजनको लागि ३, ४ ठाँउमा जग्गा हेर्दा र केहि विरोधका कारणले १ बर्ष त त्यत्तिकै बित्यो । व्यास १३ मा ५, ६ करोडको जग्गा हेरिरहेका छौ । सिडियो साब् सग, नेपाल सरकारसग स्विकृत लिएर त्यो काम गर्नुपर्ने हुन्छ । अहिले हामी व्यास १० शिशुवा भतेरीको गौ संरक्षण केन्द्रसगै रहेका हजारौ रोपनी जग्गा जहाँ कुहिने फोहोरको व्वस्थापन भईरहेको छ र व्यास १३ को नगरपालिकाले खरिद गर्न खोजेको जग्गा प्रस्तावित भएका छन् ति मध्ये स्थानियहरुसग सरसल्लाहमा कुन जग्गा उपर्युक्त हुन्छ त्यही अन्य फोहोर पनि व्यवस्थापन गर्दैछौ । यो बर्षभित्र त्यो काम सकिन्छ ।
प्रश्नः सरलाई अन्तिममा प्रश्न बैकुण्ठनाथ न्यौपानेको कामलाई कसरी नियाल्नुभएको छ र अगाडि कसरी बढ्दा ठिक होला ?
मैले ठुला ठुला कुरा गरेर हिडेको छैन तर केहि ठुला काम त भईरहेका छन् । दमौली बजारमा १०८ फिटको मुर्ति निर्माणको योजनामा नगरपालिकाले सहजिकरण गरेको छ । व्यास १० को दुम्सिचौरमा नारेश्वर ताल निर्माणमा लागेकै छौ । मानहुँकोटको बिकास प्रवर्द्धन गर्ने कुरामा हामी प्रयत्नशिल छौ । ऐतिहासिक राजधानी तनहूँसुरसम्म बाटो पुर्याएर त्यहाँको बिकास गर्ने अभियानमा लागिरहेका छौ । मादी नदिको १८ किलोमिटरको पनि गुरुयोजना अगाडि बढाएका छौ । हिजो हामीले छाव्दिसम्म कालोपत्रे गर्ने प्रयास गरेपछि संघ र प्रदेश सरकार पनि सगसगै आ्रएर निर्माण गरेका छौ । अहिले सुकुम्वासी भुमिहिन र अव्यवस्थित बसोबासीहरुलाई जग्गा दिने काममा सहयोग गर्दैछौ । व्यासमा थुप्रै वडा कार्यालय भवनहरु बनेका छन् । शुरुमा प्रदेश सरकारले व्यास ११ मा निर्माण गर्न लागेको चिस्यान केन्द्रमा पैसा हाल्छु भने नहालिदिएपछि पनि नगरपालिकाले उक्त काम सम्पन्न गरेका छौ । व्यास ५ मानहुँकोट, व्यास १४ केशवटार, व्यास १० देवीडाँडामा ठुला खानेपानी योजना शुरु गरेका छौ । व्यास १० कै नयाँबस्तिमा प्रदेश सरकारले हालिदिएको ६० लाख बाट खानेपानीको काम भईरहेको छ । यस्ता थुप्रै योजनाका कामहरु गर्न प्रयासरत छौ । म आफ्नो बारेमा त कसरी भन्ने र सर्वसाधारणहरुसग सरसल्लाह गरेर सानोतिनोदेखि ठुला ठुला कामहरु पनि गरेको छु । देखिने कामहरु पनि ठुलै छन् म आफैले भन्नुभन्दा पब्लिकले भन्नुपर्ने हो कि ? व्यास ११ रानीगाँउमा स्थानिय सर्पोट नभएपछि व्यास १० बैरेनीकै जग्गा बिकास आयोजना शुरु भएको छ त्यो योजना देखाएर शिशाघाट लगायत यस्ता धेरै फाँटहरुमा ति कामहरु हुनेछन् । नारेश्वर ताल, मादी नदी तटबन्ध काम भईरहेका छन् । उत्पादनशिल जनशक्ति बाहिरिएको हुनाले कृषिमा मैले जुन किसिमले गर्न खोजेको थिए त्यो अगाडि बढाउन पाएको छैन । सरसर्ती हेर्दा देखाउनै नहुने होईनन् हेर्ने लायककै कामहरु भएको मैले अनुभव गरेको छु ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?