१७ वर्षअघिको गौर नरसंहारः भारतीयको घुसपैठमा फोरमले यसरी गरेको थियो २७ माओवादीको नृशंस हत्या

  • ख-
  • ख+

काठमाडौं । १७ वर्ष पुरानो गौर नरसंहार अहिले फेरि चर्चामा छ । सरकार र संघर्ष समितिबीच हिजो ५ बुँदे सम्झौतामा हस्ताक्षर भएपछि ढिलै भए पनि पीडितहरू न्यायको आशामा छन् ।

नेपालको इतिहासमा भएको बर्बर र जघन्य अपराधको सूचीमा गौर हत्याकाण्डलाई राख्न सकिन्छ । तत्कालीन मधेसी जनअधिकार फोरमका कार्यकर्ताले २७ जना माओवादी कार्यकर्ताको पाशविक हत्या गरेका थिए । मारिनेमध्ये वाईसीएलमा आबद्ध युवा र युवतीहरू धेरै थिए । यसमा संलग्नहरूमाथि अहिलेसम्म कुनै कारबाही भएको छैन ।

युवतीहरूलाई हत्याअघि बलात्कार गरिएको थियो भने यौनांगमा भाटा रोपिएको, स्तन काटिएको अवस्थामा शव भेटिएका थिए । पृष्ठभूमिमा राजनीतिक विवाद भए पनि मुलतः यो फोरमले एकपक्षीयरूपमा मच्चाएको आपराधिक र सुनियोजित हिंसा थियो । घटनामा ठूलो संख्यामा भारतीयहरूको घुसपैठ रहेको विभिन्न अध्ययनले देखाएका छन् । भारतबाट आएको हतियारधारी जत्था फोरमको आवरणमा आक्रमणको अग्रपंतिमा थियो ।

राष्ट्रिय सञ्चारमाध्यमको प्रतिनिधित्व गर्ने पत्रकारहरूको एउटा टोलीले घटनाको केही दिनपछि स्थलगत गरेको थियो । उक्त अध्ययन प्रतिवेदनमा फोरमको तर्फबाट भारतीय गुण्डाहरूको प्रयोग भएको उल्लेख छ । घटनाको सत्यतथ्य पत्ता लगाउनका लागि सरकारका तर्फबाट गठन भएको छानबिन आयोगले बुझाएको प्रतिवेदनले पनि घटनालाई राजनीतिक झडप नभएर जघन्य अनमानुषिक र अमानवीय अपराध ठहर गरेको छ ।

यो अपराधमा सीधै तत्कालीन फोरम अध्यक्ष उपेन्द्र यादवको नाम जोडिएको छ । उनी घटनाका मुख्यआरोपी नै हुन् । यादवसहित करिब ३०० जनाविरुद्ध २०६४ सालमा नै जिल्ला प्रहरी कार्यालयमा जाहेरी भएको थियो । तर, प्रहरीले कुनै कारबाही गर्न सकेन ।

उक्त हत्याकाण्डका पीडित परिवारले राज्यका तर्फबाट १०–१० लाख राहत पाए, तर न्याय पाएनन् । माओवादी नेतृत्वले यो घटनालाई सहजै भुलिदियो । गौर हत्याकाण्डको केही समयमै माओवादी र फोरमबीच सत्ता साझेदारी भएको थियो ।

घटनाको इतिवृत्तान्त
त्यसबेला फोरम मधेसमा भर्खर उदाएको जल्दोबल्दो पार्टी थियो । अर्कोतर्फ माओवादीमा १० वर्ष लामो जनयुद्धको रापताप थियो । यी दुई पार्टीमा सम्बन्ध शत्रुतापूर्ण नभए पनि दुवैतर्फका उन्मादी कार्यकर्ता आ-आफ्नो शक्तिप्रदर्शनको प्रतिस्पर्धामा थिए ।

बारा, पर्सा र रौतहटमा र्‍याली निकाल्ने योजनाअनुसार फोरमले ७ चैत अर्थात २१ मार्चका दिन गौरको धान मिल क्षेत्रमा घोषणा कार्यक्रम गर्ने घोषणा गर्‍यो । त्यही दिन नेकपा माओवादीको मधेसी राष्ट्रिय मुक्ती मोर्चाले सोही स्थानमा कार्यक्रम गर्ने निर्णय लियो । फोरमको कार्यक्रम घोषणा हुनुअघि नै त्यही स्थानमा गर्ने निर्णय लिइएको माओवादीनिकट निषाद (माझी) मुक्ति मोर्चाको कार्यक्रमको साटो मधेसी मुक्ती मोर्चाको कार्यक्रम राखिएको थियो । दुवै कार्यक्रमको समय र स्थान जुधेपछि तनाव हुन सक्ने पहिल्यै पूर्वानुमान थियो, र सञ्चारमाध्यममा समेत यसबारे समाचारहरू आएका थिए ।

कार्यक्रम जुधेपछि सम्भावित भिडन्त टार्न माओवादीले फोरमलाई प्रस्ताव गर्‍यो, तर फोरमका जिल्ला अध्यक्ष अमर यादवले यसलाई अस्वीकार गरे । अन्ततः समय अघिपछि मिलाएर शान्तिपूर्ण रूपमा कार्यक्रम गर्ने समझदारी भयो । फोरमको कार्यक्रम सकिएपछि माओवादीको कार्यक्रम गर्ने भनिएको थियो ।
फोरमले मैदानको दक्षिणतर्फ र माओवादीले उत्तरतर्फ ६० मिटरको दूरीमा अघिल्लो दिन मञ्च बनाएका थिए । वाईसीएलका कार्यकर्ता अघिल्लो रात विभिन्न जिल्लाबाट आएर गौरस्थित रामजानकी धर्मशालामा आएर बसे । उनीहरूलाई गौरको भूगोलबारे राम्रो जानकारी थिएन ।

कार्यक्रमको दिन बिहानैबाट हजारौंको संख्यामा फोरमका समर्थकहरू गौरमा जम्मा भए । माओवादीमाथि आक्रमण गर्ने पूर्वतयारीका साथ उनीहरू आएका थिए । उनीहरूले ११ बजे नगर परिक्रमा गरे र मैदानमा जम्मा भए ।

दिउँसो १ बजेतिर एक सय जना जति माओवादी कार्यकर्ताको जुलुसले नगर परिक्रमा गर्‍यो । माओवादीको मञ्च खाली रहेको बेला फोरम कार्यकर्तालेउ तोडफोड सुरू गरे । वाईसीएल टोली मैदानमा प्रवेश गरेपछि मञ्च भत्किएको देखे । त्यसपछि झडप सुरू भयो ।

कान्तिपुरमा प्रकाशित एक समाचारअनुसार जिल्ला प्रहरीबाट सईको कमाण्डमा १० जना मात्रै प्रहरी घटनास्थलमा तैनाथ थिए । गोलीसमेत चल्न थालेपछि उनीहरू आफैं ज्यान जोगाउन भागे ।

भारतबाट झिकाइएको हतियारधारी जत्थाले मञ्चको दक्षिण पश्चिमबाट फायर सुरू गर्‍यो । माओवादी कार्यकर्ताले प्रतिकारको प्रयास गरे । तर, उनीहरू सानो संख्यामा थिए । वरिपरिका अन्य घरहरू र सभास्थलनजिकका पानी ट्यांकीमा समेत लुकेका फोरम कार्यकर्ता र भारतीय गुण्डाले माओवादी कार्यकर्तालाई सहजै घेराबन्दीमा पारे ।
माओवादीलाई सी आकारमा घेराउ गरी आक्रमण गर्न थालिएपछि चारैतिर भागदौड मच्चिएको थियो । मैदानमै पाँचजना माओवादी कार्यकर्ता मारिए । पुरानो राइसमिल चौरस्थित मोर्चाको मञ्च वरीपरी नै उनीहरूको हत्या भएको थियो । गोली लागी घाइते भएकाहरूलाई लाठी, फट्टा र खुकुरीद्वारा निर्मम प्रहार गरी मारिएको थियो ।

गौरबाट करिब पाँच किलोमिटरको दूरीमा रहेको बोधिमाई मन्दिरमा पाशविक नरसंहार भयो । पूर्वसर्लाहीतर्फ भाग्दै गरेका ११ जना माओवादी कार्यकर्ताहरूलाई वागमती नदीबाट कब्जा गरेर ल्याई मन्दिरमा ‘बलि दिने’भन्दै सामूहिक हत्या गरिएको थियो ।

माओवादीका महिला कार्यकर्ताको हत्या अझै विभत्स थियो । उनीहरूलाई मरणासन्न अवस्थामा बलात्कार गरिएको थियो । प्रतिवेदनमा जनाइएअनसार बलात्कृत भएका महिला कार्यकर्ताले ‘बरु बिहे गर, हामीलाई नमार’ भन्दै क्रन्दन गरेका थिए । तर, उनीहरूको स्तन काटेर, योनी क्षतविक्षत पारेर, ढुंगामा टाउकाले हानेर, शरीरका विभिन्न अंग काटेर हत्या गरिएको थियो । रेखा परियार, उषा थापा र सरस्वती उप्रेतीले मृत्यूअघि अत्यन्तै कहालिलाग्दो यातना भोगेका थिए । प्रतिमा खातुनलाई दर्जनौं फोरमका कार्यकर्ताहरूले बलात्कारपछि छट्पटाइरहेको अवस्थामा आगो लगाएको प्रत्यक्षदर्शीले अध्ययन टोलीलाई बताएका छन् ।

गौर बजारभित्रै गेस्ट हाउस नजिक रहेको एउटा फुसको घरमा लुकी बसेका माओवादी कार्यकर्ता पनि मारिए । उनीहरूलाई थुतेर बाहिर निकालि गोली हानेर भाला, खुकुरी, ढुङ्गा, इट्टाले कुटीकुटी मारिएको प्रत्यक्षदर्शीको भनाइ छ । गौरबाट करिब एक किलोमिटरको दूरीमा रहेको लक्ष्मीपुर गाउँमा एक घरमा लुकेर बसेका रमाकान्त चौधरीलाई करिब १०-१५ जना फोरमका कार्यकर्ताले घरबाट निकालेर भाग्दै गर्दा लखेटी-लखेटी हत्या गरेका थिए । उनको शव बाँसको झाङमा लगेर फालिएको थियो ।

नेपाली सेनाको भद्रकाली गण रहेको स्थान नजिकको शिर्शिया र मडलवाको चौरछेउ अन्य तीन जनालाई फट्टा, ढुंगा र इटा प्रहार गरी घाइते बनाएर गहुँ बारीमा घिसारी-घिसारी मारिएको थियो । गौरभन्दा सात(आठ किलोमिटर टाढासम्म गौंडा कुरेर तथा लखेटी लखेटी हत्या गरिएको थियो । कतिपय मधेसी मोर्चाका कार्यकर्ताहरूले चाहिँ आफू फोरम कार्यकर्ता नै भएको बताएर ज्यान जोगाएका थिए ।

गौरको हत्याकाण्डमा प्रहरी निरीह र रमिते बनेको आरोप छ । केन्द्रबाट निर्देशन नआएको भन्दै प्रहरीले घटनामा खासै बल प्रयोग गरेन । प्रहरी नै फोरमसँग मिलेको आरोपसमेत लाग्यो । मानिसहरू मारिइरहँदा प्रहरीले नै स्कर्टिङ गरेर भारत पुर्‍याएको थियो । यद्यपि, प्रहरीले चाहिँ घटनामा ठूलो क्षति हुन रोकेको दाबी गरेको छ । साँझसम्म झडप जारी रहेपछि जिल्ला प्रहरीले कर्फ्यू लगाएर झारा टारेको थियो ।

अध्ययनहरूले नरसंहारका मुख्य योजनाकार उपेन्द्र यादवलाई नै देखाएका छन् । प्रहरीमा उनीविरुद्ध कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता छ । यादवलाई नजिकबाट सहयोग गर्नेमा बबन सिंह, ललन सिंह, चन्द्रिका सिंह, भुषण सिंह, अजय गुप्ता, बाबुलाल साह, गौरी शंकर, गगनदेव बैठा, शम्भू साह, बलराम सिंह कुंवर, गणेशमान यादवलगायतका रहेका छन् ।
घटनाको भोलिपल्ट माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यो घटनामा दरबारिया प्रतिगामी तत्वहरू र भारतीय विस्तारवादी शक्तिको साँठगाँठमा भएको भन्दै विज्ञप्ति जारी गरेका थिए । उनले फोरमलाई प्रतिबन्ध लगाउन माग गरेका थिए ।

प्रचण्डको विज्ञप्तिमा भनिएको थियो, ‘दरबारीया प्रतिगामी शक्तिहरूमाथि कडाभन्दा कडा कारबाही गर्नुका साथै दरबारीया र भारतीय हिन्दू अतिवादी तत्वहरूले खडा गरेको मधेसी जनअधिकार फोरम नामक राष्ट्रिय सार्वभौमसत्तामाथि खलल पुर्‍याउने आपराधिक गिरोहमाथि तुरुन्त प्रतिबन्ध लगाइ अपराधीहरूमाथि कडाभन्दा कडा कारबाही गरिनुपर्छ ।’ घटनामा उनले दरबार जोड्नु भने अप्रासंगिक थियो ।

घटनाको एक हप्तापछि विज्ञप्ति जारी गर्दै उपेन्द्र यादवले माओवादी अध्यक्ष प्रचण्ड र तत्कालीन गृहमन्त्री कृष्ण सिटौलाले घटनाको जिम्मेवारी लिनुपर्ने बताएका थिए ।

यो घटनाको छानबिन र कारबाहीमा माओवादीले गम्भीर पहल कहिल्यै गरेन । बरु पहिलो संविधानसभाको चुनावबाट सबैभन्दा ठूलो दल बनेपछि फोरमलाई सत्ताको सहयात्री बनायो । फोरमका तत्कालीन जिल्ला अध्यक्ष अमर यादव पछि नेकपामा प्रवेश गरेका थिए ।

घटनाका पिडितहरू भने अझै न्यायको पर्खाइमा छन् । गत वर्ष पीडितहरूले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएका थिए । ओलीले उनीहरूलाई न्यायको आश्वासन दिए तर न्याय दिलाएनन् ।

गत वर्ष कात्तिक ८ गते तत्कालीन उपप्रधानन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले विराटनगर विमानस्थलमा पुगेर संचारकर्मीसँग कुरा गर्दै गौर घटनाको छानबिन हुने बताएका थिए । तर, उनको बोली पनि बोलीमै सीमित भयो ।

नेपाल प्रेसमा प्रकाशितः २०८० साउन २४ गते

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्