बालबालिकामा मोटोपन किन बढ्दै छ ?

  • ख-
  • ख+

काठमाडौँ — भक्तपुर बस्ने शिवम् (नाम परिवर्तन) ३.५ केजी तौलको जन्मिए । आमाले पास्नीपछि दूधसँगै पटक-पटक जाउलो, लिटो खुवाउने गर्थिन् ।विद्यालयमा पनि खानारखाजा टन्न खाने र घरमा पनि आमाले पटक(पटक खुवाउने । अहिले उनलाई थोरै खानाले पुग्दैन। ७ वर्षीय उनी ४३ केजीका छन् । बेबी सेन्टर डटकमको उचाइ एवं तौल चार्टअनुसार ७ वर्षे बालकको तौल २४ केजी हुनुपर्छ ।
यस्तै पोखराकी ४ वर्षीया नीना (नाम परितर्वन) हजुरआमाकी प्यारी ।उनीसँग धेरै समय बिताउने हुनाले हजुरआमाले जे माग्यो त्यही किन्दिने । उनलाई चाउचाउ र चकलेट खाने लत बसेको छ। त्यसमाथि मोबाइल हेर्ने बानीले उनको तौल बढ्दै गयो । हाल उनी २७ केजीकी छिन् ।उनको उमेरअनुसार उनको तौल १६ केजी हुनुपर्ने हो ।

६ वर्षीय इभान (नाम परिवर्तन) लाई फुटसल खेल्न मनपर्छ । लकडाउन अघि उनी हरेक दिन फुटसल खेल्थे । तर लकडाउनमा विद्यालय बन्द भएपछि उनी अनलाइन क्लासमा व्यस्त हुन थाले । खेलकुदमा सरिक हुन पाएनन् र खानपान पनि बिग्रियो । कम तौलका इभानको २ वर्षमा १२ केजी बढ्यो । उनको तौल ३५ केजी पुग्यो । जंक फुडलाई घटाउने र परिवारलाई नै स्वास्थ्य जीवनशैली अपनाउन भनेपछि उनी सामान्य तौलमा आए ।
माथिका उदाहरण पोषणविद्ले सुनाएका हुन् । बालरोग विशेषज्ञ डा. स्मृति माथेमा कोभिडपछि विशेषगरी सहरी क्षेत्रका बालबालिकामा मोटोपन बढ्दै गएको बताउँछिन् ।उनका अनुसार लकडाउनले गर्दा बच्चाहरू बाहिर गएर खेल्न नपाउनुका साथै दिनभर अनलाइन क्लासमा व्यस्त रहनु र शारीरिक क्रियाकलापको कमीलेले पनि धेरै बालबालिकामा मोटोपन बढ्न पुग्यो ।

विश्व स्वास्थ्य संगठनका (डब्लुएचओ) अनुसार बालबालिकामा हुने मोटोपन भन्नाले २ देखि १८ वर्षसम्मका बालबालिका तथा किशोरकिशोरीका लागि बुझ्न सकिन्छ । पछिल्लो समय बालबालिकामा मोटोपन एउटा गम्भीर स्वास्थ्य समस्या बन्दै गएको देखिन्छ । डब्लुएचओ युरोपियन रिजनल ओबेसिटी रिपोर्ट २०२२ मा यो क्षेत्रमा ३ मध्ये १ स्कुले बालबालिकालाई मोटोपन पाइएको छ ।
कसैमा वंशाणुगत कारणले पनि मोटोपनको समस्या देखिन सक्ने भएपनि यसको मुख्य कारण अस्वस्थ्यकर आहार, शारीरिक क्रियाकलापको कमी, धेरै समय मोबाइल तथा टिभीमा बिताउने, उच्च प्रशोधित खानाको सेवन नै रहेको विज्ञहरूको भनाइ छ ।

डा माथेमा बालबालिकामा मोटोपन बढ्नुको मुख्य कारण जंक फुड, शारीरिक क्रियाकलापको कमी, मोबाइलको लत रहेको बताउँछिन् । भन्छिन्, ‘जंक फुडको ट्रेन्ड बढेकाले पनि मोटोपन बढेको हो । सामाजिक सञ्जालमा यससम्बन्धी आउने प्रचारप्रसारले पनि बच्चाहरूमा प्रभाव परिरहेको हुन्छ ।’

सन् २०२२ मा प्रकाशित ब्रिटिस मेडिकल जर्नल (बिएमजे) को एक अध्ययनअनुसार उच्च प्रशोधित खानाले ७ देखि १८ वर्षसम्ममा मोटोपन बढाउँदै लगेको छ।

अमेरिका, बेलायत, अष्ट्रेलिया लगायत देशमा मोटोपनको समस्या बढ्दै गएको देखिन्छ ।अष्ट्रेलियामा ५ जना बालबालिका र किशोरकिशोरीमध्ये १ जनामा मोटोपन देखिन्छ । त्यसैगरी १३–१५ वर्ष उमेरका बालबालिकामा मोटोपनको समस्या अधिक देखिँदै गएको अध्ययनहरूले देखाएका छन् । मोटोपन धनी राष्ट्रहरूमा बढ्दै गएमा केही वर्षयता मध्यम आय भएका राष्ट्रहरूमा पनि बढ्दै आएको देखिन्छ । जसमा सहरी क्षेत्रमा अधिक बढ्दै गएको देखिन्छ ।

जंक फुड र मोबाइलको लत मुख्य कारक

नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ अनुसार ५ वर्षमुनिका एक प्रतिशतमा मोटोपन छ  । त्यसैगरी १५ देखि १९ वर्ष उमेर समूहका किशोरीहरूमध्ये ६ प्रतिशतमा मोटोपना पाइएको छ  भने किशोरहरूमा ७ प्रतिशतमा मोटोपन देखिन्छ ।

पोषणविद् विनिता पन्तले आमाले नै अस्वस्थ्यकर खाना खाँदा त्यसको प्रभाव बच्चामा पनि परेको देख्छिन् ।भन्छिन्, ‘धेरै आमाले घरको खानेकुरा खाइरहेका हुँदैनन्। बच्चा पेटमा हुँदादेखि नै बाहिरको खानेकुरा खाने गर्दा आमाहरूको तौल पनि नर्मल भन्दा बढी हुन्छ । गर्भावस्थाका बेलामा १०–१२ केजीसम्म बढ्नुपर्छ तर २०–२५ केजीसम्म पनि आमाहरूको तौल बढिरहेको हुन्छ । त्यो भनेको चाहिनेभन्दा बढी खाएको हो । जसले गर्दा जन्मिनेबित्तिकै बच्चाहरूको तौल बढी हुन्छ जुन सहरीया क्षेत्रमा बढेको देखिन्छ ।’

गर्भावस्थाका बेला पनि गर्भवतीले कस्तो खानेकुरा सेवन गर्‍यो त्यसले पनि बच्चाको हुर्काइ र स्वास्थ्यमा भर पर्ने अध्ययनले देखाएका छन् । उच्च प्रशोधित खाना जब गर्भवास्थ्यमा धेरै खाइन्छ भने पछि त्यसले बच्चामा मोटोपन हुने समस्या देखाउँछ ।

नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ ले २०–४९ वर्ष उमेर समूहका महिलाहरूमा ३५ प्रतिशतमा अधिक तौल वा मोटोपना पाइएको छ । यो उमेर समूहमा धेरै आमा पर्ने गर्छन् । यो संख्या सहरी क्षेत्रमा बढी देखिएको छ । गरिब घरपरिवारका २० प्रतिशत महिलाहरूमा र धनी घरपरिवारका ५३ प्रतिशत महिलाहरूमा मोटोपन देखिएको छ ।

मोटोपन रोक्न बच्चा जन्माउनुअघि नै खानेकुरामा ध्यान दिनुपर्ने पोषणविज्ञहरूको भनाइ छ। गर्भावस्थामा राम्रो पोषण, ६ महिनासम्म स्तनपान र त्यसपछि राम्रो आहारविहारमा ध्यान दिनु आवश्यक छ ।स्तनपान गर्दा बच्चाले जति उर्जा खर्च गरेर खान्छ र ठिक्कको मात्रा खान्छ तर बोतलबाट खाँदा उसले बढी मात्रामा दूध खाइरहेको हुन सक्छ । पन्त भन्छिन्, ‘मोटोपनको समस्या त्यहीँबाट नै सुरु भइसकेको हुन्छ । बच्चा मोटोघाटो भइसकेपछि स्वस्थ्य हुन्छन् भन्ने गलत बुझाइ छ ।’

उनले सकेसम्म घरमै उपलब्ध हुने चिजहरूबाट परिकार बनाएर खुवाउने र जंक फुडबाट टाढा रहन सुझाउँछिन् । ‘मिलेसम्म स्तनपानमै जोड दिनुपर्छ । अहिले मोटोपनको समस्या बच्चालाई धेरै खुवाएर नै हो । जाउलो, लिटो घरमै बनाएर खुवाउनुपर्छ । ठिक्क मात्रामा खुवाउनुपर्छ,’उनी भन्छिन् ।

बच्चाले खानेकुरा ठूलो मान्छेले खानेसँग जोड्ने भएकाले अभिभावकले बच्चालाई धेरै खुवाउन पुग्ने उनको भनाइ छ । पोषणविद् पन्त भन्छिन्, ‘बच्चाले क्यालोरी एकदम थोरै खाने हो । हामीले आफूलाई तुलना गरेर खुवाउँछौं । बच्चाको वृद्धि हुने उमेर हो भनेर टन्न खुवाउन खोजिरहेका हुन्छौँ । जबकी बच्चालाई प्रोटिनको मात्रा एकदम कम खुवाउनुपर्ने हुन्छ । सकेसम्म सन्तुलित खाना खुवाउने, बच्चालाई भोक नै नलागेपनि जर्बजस्ती नखुवाउने, मोबाइल हेरेर खुवाउने बानी राम्रो नरहेको उनको भनाइ छ ।

विज्ञहरूका अनुसार मोटोपनको समस्याकासाथै बालबालिकामा पेट गडबड हुने समस्या, नपच्ने समस्या पनि धेरै बालबालिकाहरू देखिने गरेको छ । ‘वर्ल्ड ओबेसेटी फेडेरेसन’ले सन् २०३५ सम्म बालबालिकामा मोटोपन दोब्बर हुने आकलन छ । अहिले केटाहरूमा २० करोड ८० लाखमा मोटोपन छ जुन शतप्रतिशत वृद्धि हुन सक्ने भनेको छ । त्यसैगरी केटीहरूमा हाल १७ करोड ५० लाखमा मोटोपन छ जुन १२५ प्रतिशतसम्म वृद्धि हुन सक्ने अनुमान फेडेरेसनले गरेको छ ।

धेरै आमाले मेरो बच्चाले खाएन भन्छन् तर बच्चालाई कति मात्रामा खुवाउनुपर्ने हो उहाँहरूमा पर्याप्त जानकारी छैन, पोषणविद् पन्त भन्छिन्, ‘बच्चालाई खुवाउने खाना उसको उमेरलाई ठीक छ वा छैन भनेर परामर्श गर्ने चलन छैन ।’

‘बच्चालाई चाहिने भन्दा दोब्बर खुवाइरहेका छौँ । खेलाइ छैन । बच्चाहरू ग्याजेटमै भुलेका छन्। क्यालोरी धेरै खाने तर शरीर सक्रिय छैन । न व्यायाम र खेलकुदमा छ त्यसैले मोटोपनको समस्या बढ्दै गएको हो,’ पन्त भन्छिन् ।

मोटोपन बडी मास इन्डेक्स अर्थात (बडी मास इन्डेक्स) हेरेर आंकलन गरिन्छ अर्थात उचाइ र तौल मापन गरी शर भनेर मापन गरिन्छ । कसैको शरीरमा कति बोसो छ भनेर अनुमान गर्न उचाइ र तौल प्रयोग गर्ने गणना हो।यदि बिएमआइ २५ भन्दा बढी छ भने मोटोपन भनिन्छ त्यसैगरी ३० भन्दा माथि छ भने अधिक मोटोपन मानिन्छ ।

डा माथेमाका अनुसार मोटोपनको मुख्य कारण जंक फुड, परिवारको जीवनशैली तथा खानपान, शारीरिक रुपमा सकृय नहुनु, टिभी तथा मोबाइल बढी हेर्नु आदि पर्छन् । विशेषगरी ५–१० वर्षको बालबालिका साथै टिनएजहरूमा मोटोपनको समस्या देखिँदै गएको विज्ञहरू बताउँछन् । के गर्ने त अभिभावकहरूलेरु डा माथेमा यस्तो सुझाव दिन्छिन्
अभिभावकहरूले आफू पनि स्वस्थ्य जीवनशैली अपनाउने र बच्चालाई पनि सिकाउने गर्नुपर्छ ।
– बच्चाको स्क्रिन टाइम घटाउने। टिभी तथा मोबाइलमा धेरै नझुलाउने । मोबाइल हेर्दे बच्चाले खाको खाइ पनि हुन सक्ने हुन्छ ।
– बच्चालाई पर्याप्त मात्रामा निद्रा पुगेको हुनुपर्छ ।
– शारीरिक क्रियाकलापमा सक्रिय गराउने ।
– दिनभरी पटक–पटक खानेकुराहरू नखुवाउने ।
– सन्तुलित भोजनमा जोड दिने ।
– फलफूल तथा तरकारी खुवाउनमा जोड दिने ।

डा माथेमाका अनुसार बालबालिकामा निद्रा पनि उत्तिकै आवश्यक हुन्छ । बालबालिकालाई ठूलो मान्छेभन्दा पनि बढी निद्रा चाहिन्छ । मोटोपन बढ्नु निद्रा पनि कारक हुने उनको भनाइ छ । भन्छिन्, ‘केही अध्ययन हेर्ने हो भने दिनमा २ घण्टाभन्दा बढी टिभी हेर्नेहरूमा मोटोपन देखिन्छ । उनीहरूलाई कम्तीमा १० घण्टा बेड टाइम गराउनुपर्छ ।’

मोटोपन भएका बालबालिकामध्ये करिब ८० प्रतिशत युवावस्थामा पनि मोटोपन देखिन सक्ने विश्व स्वास्थ्य संगठनको अध्ययनले देखाउँछ। हाल बालबालिका तथा किशोरकिशोरीमा मोटोपन एउटा गम्भीर जनस्वास्थ्यको समस्या बन्दै गएको छ । मोटोपन नसर्ने रोगहको प्रमुख कारण पनि हो ।यसले विभिन्न रोगको जोखिम बढाउन सक्छ ।

त्यसैगरी सेन्टर फोर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सिडिसी) ले ५ मध्ये एक अमेरिकी बालबालिकालाई मोटोपनको समस्या रहेको बताउँछ । स्वस्थ्य बालबालिकाभन्दा मोटोपन भएका बालबालिकामा टाइप टु डायबेटिज, स्लिप एप्नीया, मुटुरोग, कलेजोको समस्या, मिर्गौला रोग, हाडजोर्नीको समस्या, श्वासप्रश्वासको समस्यालगायत नसर्ने रोग हुने सम्भावना अधिक रहन्छ । पछिल्लो समय युवा उमेरमै हृदयाघातलगायतका समस्या देखिदै जानु यसकै कारक हुन् ।

बालबालिकाहरूमा मोटोपनले शारीरिक समस्या त देखिन्छ नै मानसिक समस्या देखिन पनि सक्छ । उनीहरूमा आफ्नो शरीरलाई लिएर मनोबल कम गर्ने र अरुले जिस्क्याउँदा मानसिक समस्या पनि ल्याउन सक्छ ।

पोषणविद् रुजु खड्का भन्छिन्, ‘विद्यालयमा पनि बच्चाहरूले स्वस्थ्यकर पोषणयुक्त खाना पाएका छैनन् । विद्यालयमै अचेल खाना र खाजाको व्यवस्था धेरैमा हुन्छ । त्यस्ता विद्यालयलहरूले पोषणविद्सँग सल्लाह लिएर आहार चार्ट बनाउनुपर्छ । कतिपयले बनाएका पनि छन् । गर्मी तथा जाडोमा खानाको फरक आहार समावेश गरी चार्ट बनाउनुपर्छ ।’ उनले कतिपय विद्यालयमा चाउचाउ, मोःमो दिने गरेको पनि पाइएको र मैदा समावेश गरेको खानेकुरा खाने बच्चाहरूमा मोटोपन देखिएको बताइन् ।

उनका अनुसार जंक फुड खाँदा बच्चाहरूलाई छिटो भोक लाग्दैन त्यसपछि अरु खानेकुरा खान मान्दैनन् र शरीरलाई चाहिने आवश्यक पोषण पुगिराखेको हुँदैन।’ उनले अभिभावकहरूलाई पनि घरमै आफैं सन्तुलित खानेकुरा तयार पारेर खुवाउन आग्रह गर्छिन् ।

‘अभिभावकहरूले आफ्नो पनि जीवनशैली स्वस्थ्य बनाउनुपर्छ । उनीहरूले जे खाएको देख्छन् जे गरेको देख्छन् त्यही गर्ने हो । सबैजना कामकाजी छन् तर समय मिलाएर बच्चाहरूको पोषणस्थितिको पनि ख्याल गर्नुपर्छ । आफैं पनि मोबाइल हेरेर खाने र खुवाउने गर्‍यो भने बच्चाले पनि सिक्छ । पार्टीमा बच्चाहरूलाई धेरै लग्नु पनि राम्रो बानी होइन,’ खड्का भन्छिन् ।

( साभारः कान्तिपुर दैनिक)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्