काठमाण्डौ । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका वडा नं. ११ गाईघाट शिवालय टोलमा शनिबार बिहान एक पुरुषको घरमा नै हत्या भएको छ भने वहाँकी श्रीमतीको अवस्था पनि गम्भीर छ।
जिल्ला प्रहरी कार्यलय उदयपुरका अनुसार यसरी हत्याको आशङ्कामा मृत भेटिएका पुरुष गाईघाट शिवालय टोलका ६६ वर्षीय वीरेन्द्र राई हुनुहुन्छ ।
घरको माथिल्लो तलाको कोठामा राई मृत फेला परेका र उनको शरीरभरि विभिन्न स्थानमा निलडाम र चोट रहेको प्रहरी उपरीक्षक (एसपी) भीमप्रसाद दाहालले बताउनुभयो ।
यस्तै, मृतककी श्रीमती ५४ वर्षीय रीता राईको पनि मुखमा विष दलिएको र बेहोस अवस्थामा घर नजिकै बारीमा फेला परेपछि अहिले तत्काल उपचारका लागि विराटनगर पठाइएको प्रहरी प्रमुख दाहालले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार राईलाई केही व्यक्तिहरुका समूहले आएर राति नै हत्या गरेको हुनसक्ने र निजकी श्रीमतीलाई पनि विष खुवाएर बेहोस बनाई बारीमा फालेर छाडेको हुनसक्ने प्रहरीले घटनास्थलको प्रारम्भिक अनुसन्धानबाट अनुमान गरेको छ।
केही व्यक्तिहरूसँग श्रीमतीको झगडा परेको र कुटपिटसमेत भएको भन्ने छिमेकीको सूचनाका आधारमा प्रहरी बिहानै राईको घरमा पुगेको थियो।
घटनामा संलग्न भएको आशङ्कामा प्रहरीले केही व्यक्तिलाई पक्राउ गरेर अनुसन्धान सुरू गरेको छ। रासस








