मेलम्चीको पानी कहिले आउला धारामा ?

  • ख-
  • ख+

प्राविधिक र व्यावहारिक कठिनाइ उत्पन्न नभए अबको तीन साताभित्र मेलम्चीको खानेपानी परीक्षणका रूपमा काठमाण्डू उपत्यकाका कतिपय बासिन्दाका घरसम्म वितरण भइसक्ने अधिकारीहरूले बताएका छन्।

अहिले बहुप्रतीक्षित मेलम्ची आयोजनाको पानी उपत्यकासम्म ल्याउन निर्माण गरिएको सुरुङमार्फत् सुन्दरीजलसम्म ल्याएर सुरुङको परीक्षण भइरहेको छ। त्यसपछि सुन्दरीजलमै रहेका दुईवटा प्रशोधन केन्द्रको परीक्षण गरिने र उपत्यकामा पानी वितरण गरिने अधिकारीहरूको भनाइ छ।

गत शनिवार मेलम्ची खोलाको पानी परीक्षणका क्रममा साढे २६ किलोमिटरको सुरुङबाट सुन्दरीजल ल्याएर वाग्मती नदीमा खसालिएको थियो। उक्त कार्यक्रममा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनभित्रै उपत्यकावासीले मेलम्चीको पानी पाउने बताएका थिए।

चासो

त्यसपछि धेरैमा मेलम्चीको पानी कहिले काठमाण्डू उपत्यकामा आइपुग्छ भन्ने चासो देखिएको छ। त्यस्तै चासो व्यक्त गर्दै बीबीसीले कुराकानी गरेका अधिकारीहरूका भनाइमा अबको केही साताभित्रै कतिपय उपत्यकावासीका धारमा मेलम्चीको पानी आइपुग्नेछ।

मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले बीबीसीसँग भने, मेलम्ची आयोजनाको सुरुङको अहिले परीक्षण भइरहेको छ त्यसबाहेक अन्य संरचनाहरूको परीक्षण हुन बाँकी नै छ। तर अहिले हामीले आंशिक रूपमा परिक्षण गर्ने योजना बनाएका छौँ।

व्यावहारिक पक्ष हेर्दाखेरि परीक्षणकै क्रममा भए पनि चैतको दोस्रो हप्तादेखि हामी चाहिँ दिन सक्छौँ र त्यो दिने योजनामा छौँ।

खत्रीका भनाइमा काठमाण्ठू उपत्यकामा खानेपानी वितरण र व्यवस्थापन गर्ने निकायहरूको अनुरोधमा केही साताभित्रै परीक्षणका रूपमा घरघरमा पानी पठाउन लागिएको हो।

सुक्खा याम

सुक्खा याममा खानेपानी आपूर्तिमा कमी आएकाले त्यस्तो अनुरोध गरिएको उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक सञ्जीवविक्रम राणाले बताए।

उनका अनुसार हाललाई पुरानो प्रणाली रहेका क्षेत्रमा सोही प्रणालीबाट पानी वितरण गरिनेछ। तर नयाँ प्रणालीबाट भने तत्काल पानी वितरण हुनेछैन।

उनले भने, नयाँ प्रणालीमा चाहिँ हामीले टेस्टिङ, कमिशनिङको काम गर्नै बाँकी भएकाले चरणबद्ध रूपमा हुँदै जान्छ। त्यो चाहिँ हाम्रो क्रम चलिरहन्छ।

करिब एक डेढ वर्ष नै लाग्न सक्छ नयाँ प्रणालीमै पूरै कन्भर्ट हुनलाई।

हाललाई परीक्षणका रूपमा वितरण गरिने उक्त पानी वर्षा लागेपछि भने केही समयका लागि बन्द गरिने राणाले जानकारी दिए। अधिकारीहरूका अनुसार अहिले निर्माण सम्पन्न भई परीक्षणको क्रममा रहेको पहिलो चरणको मेलम्ची आयोजनाअन्तर्गत दैनिक १७ करोड लिटर पानी उपत्यका ल्याउन सकिनेछ।
श्रोतः बिबिसी

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?