तनहूँ । आज सम्पन्न भएको व्यास नगरपालिकाको ३७ औं नगरसभाले नगरवासीको हितको लागि विभिन्न निर्णयहरु गरेको छ । नगर प्रमुख वैकुण्ठ न्यौपानेज्यूको अध्यक्षतामा सम्पन्न नगरसभाले व्यास नगरपालिका वडा नं २,३,४ का शहरी क्षेत्रका ०-२-२-० सम्मका साविक फरकचौर ९(घ), ९ (ञ) नक्साका १०% मापदण्डलाई हटाई पुरै क्षेत्रफल जग्गामा घर निर्माण गर्न दिने निर्णय गरेको छ । त्यसैगरि नगरसभाले आ.ब. २०७९।८० का लागि विभिन्न गैर्ह सरकारी संस्थाहरुले यस नगरपालिका भित्र रु.१,७७,४८,३२३।– खर्च गर्ने गरी कार्यक्रम सञ्चालन गर्न अनुमति माग भएकोमा कार्यक्रम स्वीकृत गर्ने निर्णय पनि गरेको छ ।

उक्त नरगसभामा आदिकवि भानुभक्त क्याम्पसलाई विज्ञान तथा प्रविधि र इञ्जिनियरिङ जस्ता प्राविधिक विषय सञ्चालन व्यवस्थापन गर्न निम्नानुसार अध्ययन समिति गठन गर्ने निर्णय गरेको छ भने नगरपालिका भित्र सञ्चालित लिफ्टिङ खानेपानि र दुग्ध उद्योगहरुमा खपत हुने विद्युत महसुलमा छुट तथा राहत दिन संघ तथा प्रदेश सरकारसंग माग गर्ने र व्यास नगरपालिका समेतले विद्युत महसुलमा सहभागिता गर्ने निर्णय पनि गरेको छ । त्यसैगरि आज सम्पन्न नगरसभाले नयाँ बहुउदेश्यीय भवन निर्माण , कालिका शहिद जंगल पार्क सञ्चालन तथा व्यवस्थापन गर्नुपर्ने , भूमिहिन दलित, भूमिहिन सुकुम्वासी र अव्यवस्थित वसोवासीहरुलाई क्रमसः निस्सा वितरण गर्ने र जग्गा दर्ता सिफारिस प्रकृया अघि बढाउन नगर कार्यपालिकालाई निर्देशन दिने , व्यास नगरपालिका वडा नं ५ चिन्तुटार क्षेत्रमा औधोगिक ग्राम स्थापना गर्न नेपाल सरकार, उद्योग मन्त्रालयमा सिफारिस गरि पठाउने , उच्च शिक्षा आर्जन गरिरहेका युवा विद्यार्थीहरुलाई न्यूनतम ६ महिनाका लागि स्वंयम सेवक शिक्षकमा लगाउने गरी सम्बन्धित क्याम्पसहरुसंग सहकार्य गर्ने , व्यास नगरपालिकाभित्र विद्युत, टि.भि, टेलिफोन र इन्टरनेट व्यवसायीहरुले आफुखुसी तार विस्तार गर्ने कार्यले नगरभित्र समय समयमा आगलागी घटनाहरु भई बजारको स्वरुप समेत कुरुप देखिएकाले सम्बन्धित सरोकारवालासंग परामर्श गरि तार व्यवस्थित गर्ने गराउने लगायतका निर्णयहरु पनि गरेको छ ।
उक्त नगरसभामा उप प्रमुख इन्दिरा दरै, प्रमुख प्रशासकिय अधिकृत डिल्लीराम सिग्देल, १४ वटै वडाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु र नगर सदस्यहरुको उपस्थिति रहेको थियो ।