तनहुँ । तनहुँको व्यास नगरपालिका वडा नं १ दमौलीस्थित धुपखोला टोल विकास संस्था र भवानी आमा समूहका आमा, दिदीबहिनीहरूले तीजमा गरिने शुभकामना आदानप्रदान तथा दर खाने कार्यक्रम रद्द गरेर बाढी पीडितका लागि आर्थिक सहयोग गरेका छन्।

उनीहरूले हरितालिका तीजका अवसरमा आयोजना गर्ने कार्यक्रमको खर्च कटौती गर्दै त्यसमा थपथाप गरी रसुवा, नुवाकोट, धादिङ लगायत क्षेत्रमा गएको बाढीबाट प्रभावित पीडितलाई राहत पुर्‍याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेका हुन्।

समाजमा विपद्का बेला सहयोग र मानवीय भावनालाई प्राथमिकता दिनुपर्ने सन्देश दिँदै उनीहरूले तीजको उत्सवमा हुने खर्चलाई बाढीपीडितको राहतमा प्रयोग गर्ने निर्णय गरेका हुन्।

उक्त सहयोगले विपद्मा परेका परिवारलाई राहत पुग्ने विश्वास गरिएको छ।