तनहुँ । रसुवामा भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले भानु नगरपालिका–१३ निवासी तथा हाल संयुक्त राज्य अमेरिकामा रहनुभएका सामाजिक व्यक्तित्व राजु अधिकारीले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा रु. १ लाख आर्थिक सहयोग गर्नुभएको छ।
साविक मिर्लुङ भेगमा वि.सं. २०५५/५६ तिर लोकप्रिय रहेको ‘मिर्लुङ आदर्श’ पत्रिकाका प्रधान सम्पादकसमेत रहनुभएका अधिकारी सामाजिक कार्यमा सक्रिय व्यक्तिका रूपमा परिचित हुनुहुन्छ। विभिन्न सामाजिक गतिविधिमा स्वस्फूर्त रूपमा सहयोग गर्दै आउनुभएका उहाँले विपद्को समयमा समेत आफ्नो सामाजिक उत्तरदायित्व निर्वाह गर्नुभएको हो।
अमेरिकास्थित Dunkin का प्रबन्ध निर्देशकसमेत रहनुभएका अधिकारीले जन्मभूमि, समाज र देशप्रतिको जिम्मेवारीलाई निरन्तरता दिँदै बाढीपीडितको राहतका लागि सहयोग गर्नुभएको बताइएको छ।
यात्राप्रति विशेष रुचि राख्ने अधिकारीले संयुक्त राज्य अमेरिकाका ५० वटै राज्य तथा नेपालको ७७ वटै जिल्ला भ्रमण गरिसक्नुभएको छ। साथै, हालसम्म विश्वका २५ वटा देशको भ्रमणसमेत सम्पन्न गरिसक्नुभएको जानकारी दिइएको छ।
विपद्को कठिन घडीमा गरिएको उहाँको सहयोगप्रति स्थानीयस्तरबाट प्रशंसा गर्दै सामाजिक सेवाप्रतिको निरन्तर सक्रियता र मानवीय भावनाको उच्च सम्मान गरिएको छ।
‘सहयोग रकम ठूलोसानो होइन, सहयोग गर्ने मन ठूलो कुरा हो’ भन्ने भावनालाई आत्मसात् गर्दै अधिकारीले गर्नुभएको यो योगदान विपद्का बेला मानवीय सेवामा जुट्न चाहनेहरूका लागि प्रेरणादायी बनेको छ।
साभार: गल गुरुङ













