नेपालमा कति जनाले लगाए कोभिड-१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप ?

  • ख-
  • ख+

तनहूँ । नेपाल सरकारले पहिलो चरणमा आरम्भ गरेको कोभिड-१९  विरुद्धको ‘कोभिशिल्ड’ खोप अभियान अन्तर्गत आज बिहीबार दोस्रो दिन देशभर २८ हजार ७३२ जना व्यक्तिले खोप लगाएका छन् । भारत सरकारको सहयोगमा ल्याइएको उक्त १० लाख मात्रा खोप बुधबारदेखि देशभरी नै दिइन थालिएको हाे । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार खोप लगाएका कुनै पनि व्यक्तिमा स्वास्थ्य समस्या देखिएको छैन ।

आज गण्डकीसहित सातै प्रदेशमा विभिन्न व्यक्तिले खोप लगाएका छन् । जस अन्तर्गत गण्डकीमा ४ हजार ८५३ जनाले खोप लगाएका छन् । त्यसैगरी प्रदेश नं १ का ३ हजार ८४७, प्रदेश नं २ का २ हजार १७४, वाग्मती प्रदेशका ११ हजार ४६१, लुम्बिनी प्रदेशका २ हजार ३०३, कर्णाली प्रदेशका १ हजार ६७७ र सुदूरपश्चिम प्रदेशका २ हजार ४१७ जनाले खोप लगाएका छन् ।

खोपको मात्रा ०.५ मिलिलिटर (मिली) छ । त्यसपछि पहिलो खोप लगाएको चार हप्तापछि अर्को मात्राको खोप दिइने जनाइएकाेछ । खोप देब्रे पाखुराको माथिल्लो बाहिरी भागमा ९० डिग्री कोण बनाएर (मासुभित्र) दिइन्छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार सरकारले पहिलो चरणको प्राथमिकतामा परेका व्यक्तिहरुले हाल प्राप्त खोपको उपलब्धताको आधारमा खोप लगाउने व्यवस्था गरिएको बताउनु भयो ।

पहिलो चरणमा स्वास्थ्यकर्मी, खोप फोहरमैला व्यवस्थापनमा खटिने फोहर सङ्कलक तथा चालक, एम्बुलेन्स तथा शवबाहन चालक र सहचालक, प्रत्यक्ष उपचारको सेवा दिने वा खोप व्यवस्थापनमा खटिने स्वास्थ्यकर्मी, खोप केन्द्र खटिने सुरक्षाकर्मी तथा स्वयंसेवक, शव व्यवस्थापनमा खटिने व्यक्ति, महिला स्वास्थ्य स्वयंसेविका, अन्तरराष्ट्रिय प्रवेश बिन्दुमा कार्यरत स्वास्थ्यकर्मी र अन्य कर्मचारी, वृद्धाश्रममा रहेका व्यक्ति तथा हेरचाहमा खटिने कर्मचारी तथा कारागारमा रहेका कैदी र सुरक्षाकर्मीले पाउँछन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्