फेव्रुअरी महिना भरि सचेतनामुलक कार्यक्रम गर्दै आयोडिन मन्थ मनाईने

  • ख-
  • ख+

काठमाडौं । नेपाल सरकारले प्रत्येक बर्ष अंग्रेजी क्यालेण्डर अनुसार फेव्रुअरी महिनालाई आयोडिन मन्थका रुपमा मनाउदै आएको छ । सोहीको निरन्तरता स्वरुप यस बर्ष पनि सरकारले फेव्रुअरी महिनालाई आयोडिन मन्थका रुपमा मनाउदै छ । आयोडिनको कमीबाट हुने विकृति रोकथामका लागि जनचेतना जगाउने उदेश्यका साथ फेव्रुअरी महिनालाई आयोडिन मन्थका रुपमा मनाउने गरिएको हो । नेपालमा सन् १९९८ देखि हरेक फेब्रुअरी महिनालाई आयोडिन मन्थका रुपमा घोषणा गरी आयोडिन सम्बन्धी चेतनामूलक गतिविधि संचालन गरिदै आईएको छ । त्यसो त, जनस्वास्थ्यसँग प्रत्यक्ष जोडिएको हुनाले नेपालमा नुनमा आयोडिन मिसाई प्रत्येक घर घरमा आयोडिनयुक्त नुनको पहुँच बिस्तारको नीति नेपाल सरकारले लिएको छ । हरेक नेपालीको घर दैलो एवम् चुलो चौकोसम्म आयोडिनयुक्त नुनको पहुँच प्रभावकारी रुपमा पुगोस् भन्ने हेतुले सरकारी स्वामित्वको साल्ट ट्रेडिङ कर्पोरेशनलाई नुनको कारोबार गर्ने जिम्मेवारी दिईएको छ । सरकारले विगत ५७ वर्ष देखी साल्ट ट्रेडिंग कर्पोरेशनलाई आयोडिनयूक्त नूनको आधिकारिक बिक्रेताको जिम्मेवारी दिदै आएको हो । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले आयोडिनयूक्त नूनको प्रवर्द्धन तथा यस सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उदेश्यले यस महिना अवधी भर विविध कार्यक्रमहरु गर्ने गर्दै आएको पाईन्छ ।

आयोडिनको कमीबाट उत्पन्न हुने विभिन्न विकृतिहरु मध्ये सन १९८५ र ८६ मा ४४।२ प्रतिशत रहेकोमा सन् २००७ मा ०. ४ प्रतिशतमा झर्न गएको र भिजिबल गोईटर अर्थात गलगाँड निर्मुल भई सकेको छ । सन् २०१४ को नेपाल मल्टिपल इण्डिकेटर क्लस्टर सर्भे अनुसार ८१. ५ प्रतिशत घर परिवारले उपयुक्त मात्रामा आयोडिन भएको नुन उपभोग गरेको पाईएको थियो । नेपाल सरकारले दिएको निर्देशन अनुसार साल्ट ट्रेडिंग कर्पोरेशनले आयोडिनयुक्त नुनको आपुर्ति गर्दै आएको र नेपाल सरकारले लिएको सह शताब्दी विकास लक्ष्य अनुरुप सन् २०१८ सम्ममा उचित मात्रामा आयोडिन भएको नून उपभोग गर्ने घर संख्या ९० प्रतिशत पुर्याउन प्रयास गरिएकोमा एनएनएमएच सर्वे अनुसार २०१६ मा नै ९१ प्रतिशत घर परिवारले सहि मात्रामा आयोडिन मिसाईएको नुन उपभोग गरेको पाइएको छ । त्यस्तै नेपाल सरकारले २०१६ मा नै गरेको एनडिएच सर्वे मुताबिक ९५. ४ प्रतिशत बालबालिकाले उपर्युक्त मात्रामा आयोडिन भएको नुन उपभोग गर्ने गरेको पाईएको छ । त्यसो त पछिल्लो समय करिब करिब शत प्रतिशत घर परिवारमा आयोडिनयुक्त नुनको पहुँच पुगेको प्रक्षेपण हुँदै आएको छ । नेपालमा नुनको बिक्री वितरण गर्ने अधिकार साल्ट ट्रेडिङलाई मात्र छ, यद्यपी, अवैध रुपमा सिमा क्षेत्रमा हुने अखाद्य नुनको कारोबार भने प्रमुख समस्याका रुपमा रहदै आएको छ भने अवैध तबरले नुनको कारोबार गर्ने दुराशायका साथ जनस्वास्थ्य माथि खेलबाड गर्ने गरि गतिविधीहरु हुँने गरेको बेला बेला भेटिदै आईएको छ । यसले आयोडिनयुक्त नुन माथि नागरिकको पहुँच स्थापित गर्न चुनौती थपेको छ । यस्ता चुनौतीको सामना गर्न सहज होस् भन्ने दुरगामी सोचका साथ नेपाल सरकारले नेपाल भित्र दुई बालबालिकाको लोगो चिन्ह अंकित नुनको प्याकेट मात्र बिक्री वितरण गर्न पाउने व्यवस्था गरेको छ । नेपालमा नुनको कारोबार गर्ने अधिकार पाएको संस्थान साल्ट ट्रेडिङद्वारा प्रबर्धित आयो, शक्ति, तेज र भानु ब्राण्डका नुनका प्याकेटमा दुई बालबालिकाको लोगो चिन्ह अंकित गरिएको छ । जसको अर्थ सहि मात्रामा आयोडिन मिसाईएको नुन हो भन्ने प्रमाण हो ।

त्यसो त, साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले आयोडिनको कमीबाट हुने शारिरीक एवं मानसिक कमजोरीबारे देशका विभिन्न स्थानमा जनचेतनामुलक कार्यक्रम गर्न लागेको छ । आयोडिन मन्थमा विभिन्न अस्पताल, जनवास्थ्य चौकी, स्वास्थ्य चौकी तथा उपस्वास्थ्य चौकी, विद्यालय, हाट बजार आदीमा कार्यक्रम गर्न लागिएको कर्पोरेशनकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले बताउनुभएको छ । ।

आयोडिन मन्थमा कर्पोरेशनले आयोडिन सम्बन्धी सन्देश लेखिएको झोला, स्कुल झोला, टि–सर्ट, पम्पप्लेट, फेस मास्क सामग्री वितरण गर्ने तथा तुल तथा ब्यानर, र्याली, माईकिङ आयोडिन नुन सम्बन्धि जनचेतनामुलक सामग्री प्रचार प्रसार आदी कार्य गरिने पनि प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बताउनुभएको छ ।

यस महिना अवधी भर सरकार, समुदाय, विद्यार्थी, स्वास्थ्यकर्मी, अधिकारकर्मी, गैर सरकारी संघ संस्था आदीसँग हातेमालो गर्दै सचेतना अभिबृद्धिका कार्यहरु गरिने कर्पोरेशनका नायब महाप्रबन्धक कुमार राजभण्डारीले जानकारी दिनुभयो ।

यस्तै, कर्पोरेशनका विभागिय प्रबन्धक ब्रजेश कुमार झाले कोभिड १९ संक्रमणको जोखिम अझै कायम रहेकाले आयोडिन मन्थ मनाउने क्रममा सरकारले तोकेको मापदण्ड अपनाउदै स्वास्थ्य सतर्कताका साथ कार्यक्रम आयोजना गरिने जनाउनुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्