साईप्रसका लागि नेपाल चेम्बर अफ कमर्शको अवैतनिक व्यापार प्रतिनिधिमा रंजित महतो नियुक्त

  • ख-
  • ख+

काठमाडौं । नेपाली राजदूतावास, तेलअबिबको सिफारिसमा नेपाल चेम्बर अफ कमर्शले साइप्रस निवासी रञ्जित महतोलाई साईप्रसका लागि नेपाल चेम्बर अफ कमर्शको अवैतनिक व्यापार प्रतिनिधि नियुक्त गरेको छ । वहाँलाई नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष कमलेश अग्रवालले आज आयोजित भर्चुअल कार्यक्रमका बीच उक्त जिम्मेवारी प्रदान गर्नुभएको हो ।

अवैतनिक व्यापार प्रतिनिधिमा नियुक्त महतोलाई शुभकामना दिँदै राजदूत डा. अन्जान शाक्यले नेपाल ( साईप्रस कूटनीतिक सम्बन्ध स्थापना भएको ४० वर्ष पूरा भइसक्दा समेत अत्यन्तै सानो आकारमा व्यापार रहेकोले द्विदेशीय व्यापार बढाउन भूमिका खेल्न आग्रह गर्नुभयो । साथै उनले अधिकांश मुलुकसँग जस्तै साईप्रससँग समेत नेपालको व्यापार घाटा रहेको परिप्रेक्ष्यमा साईप्रसबाट नेपालमा लगानी भित्र्याउँदै नेपालको निर्यात व्यापार बढाउन तर्फ ध्यान केन्द्रित गर्नुपर्ने धारणा राख्नुभएको थियो । कार्यक्रममा चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठ, उपाध्यक्ष अग्रवाल, महिला चेम्बरका सभापति उर्मिला श्रेष्ठ, लगायतले नवनियुक्त अवैतनिक दुत महतोलाई शुभकामना दिनुभएको थियो । गैर आवासीय नेपाली संघ, साईप्रसका अन्तर्राष्ट्रिय प्रतिनिधि रञ्जित महतो हाल प्रत्यक्ष वैदेशिक लगानी विषयमा विद्यावारिधि गर्दै हुनुहुन्छ ।

भर्चुअल कार्यक्रममा चेम्बरका महानिर्देशक कैलाश कुमार बजिमय, महिला चेम्बरकी सचिव लिमा अधिकारी,उप निर्देशक सृस्‍टि त्रिपाठी लगायतको सहभागीता रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्