तनहुँ  । बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि दमौलीस्थित खुला जुम्बा डान्स समूहले रु. ४६ हजार २५ सहयोग गरेको छ।

समूहले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो। सहयोग रकम राष्ट्रिय वाणिज्य बैंकमार्फत कोषमा जम्मा गरिएको खुला जुम्बा डान्सका प्रशिक्षक बालकृष्ण आलेले जानकारी दिनुभयो।

विपद्को समयमा पीडित नागरिकलाई राहत तथा उद्धारमा केही भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले रकम प्रदान गरिएको समूहका सल्लाहकार टेकप्रसाद पाण्डेले बताउनुभयो।

सामाजिक सेवामा सक्रिय रहँदै आएको खुला जुम्बा डान्स समूहले विपद्का बेला आफ्नोतर्फबाट सहयोग गर्दै मानवीय सेवाप्रतिको प्रतिबद्धता प्रस्तुत गरेको छ।