देउराली नगर आमा समूहद्वारा बाढीपीडितका लागि रु. १ लाख ७३ हजार सहयोग

तनहुँ । २०८३ साल भदौ १० गते बिहान अचानक आएको ठूलो बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवनलगायतका जिल्लामा भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति देउराली नगर आमा समूहले दुःख व्यक्त गरेको छ।

विपद्को यस दुःखद् घडीमा बाढीपहिरोमा परी ज्यान गुमाउनु भएका सम्पूर्ण मृतकप्रति समूहले हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पुर्‍याउने उद्देश्यले देउराली नगर आमा समूहले रु. १ लाख ७३ हजार (अक्षरूपी एक लाख त्रिहत्तर हजार रुपैयाँ) प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सहयोग गरेको हो।

समूहकी अध्यक्ष मिना रानाभाट तथा सदस्य पार्वती पाण्डेको सहभागितामा उक्त सहयोग प्रदान गरिएको जनाइएको छ।

विपद्का बेला पीडित नागरिकलाई सहयोग गर्नु सामाजिक उत्तरदायित्वसमेत भएकाले आफ्नो तर्फबाट सक्दो सहयोग गरिएको आमा समूहले जनाएको छ।

देउराली नगर आमा समूहको यस मानवीय तथा सामाजिक सेवाप्रतिको भावना प्रशंसनीय छ।