तनहुँ । रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि व्यास–२, दमौलीस्थित प्रगतिशील आमा समूह, प्रगतिमार्गले रु. १६ हजार ८२५ आर्थिक सहयोग गरेको छ।

समूहले यस वर्षको तीजको दर कार्यक्रम स्थगित गरी उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गर्ने निर्णय गरेको हो।

विपद्को समयमा उत्सवभन्दा पीडितको सहयोगलाई प्राथमिकता दिँदै कार्यक्रम स्थगित गरिएको समूहले जनाएको छ। बाढीका कारण प्रभावित नागरिकको पीडा कम गर्न आफ्नो तर्फबाट सानो भए पनि सहयोग गर्ने उद्देश्यले रकम प्रदान गरिएको समूहको भनाइ छ।

समूहले विपत्तिमा परेका नागरिकको साथमा उभिनु सामाजिक तथा मानवीय दायित्व भएको उल्लेख गर्दै आफ्नो सहयोगले पीडित परिवारलाई केही राहत पुग्ने विश्वास व्यक्त गरेको छ।

प्रगतिशील आमा समूहको यो निर्णयले तीज पर्वलाई सामाजिक सेवासँग जोड्दै मानवीय संवेदनाको उदाहरण प्रस्तुत गरेको छ।