भारतमा कोरोनाको कीर्तिमानः एकैदिन ३ लाख १५ हजारभन्दा बढीमा संक्रमण

  • ख-
  • ख+

नयाँ दिल्ली । छिमेकी मुलुक भारतमा कोरोना संक्रमणले दैनिक कीर्तिमान बनाउँदै गएको छ । केहीदिन यता संक्रमण दर लगातार बढ्दै गएको भारतमा बुधबारमात्र ३ लाख १५ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । भारतमा एकैदिन यति ठुलो संख्यामा संक्रमित पाइएको यो पहिलो पटक हो । यतिमात्र होइन, कुनै देशमा एकैदिन यति ठुलो संख्यामा संक्रमित पाइएको पनि यो पहिलो पटक हो । यसअघि अमेरिकामा ८ जनवरीमा एकैदिन ३ लाख ७ हजार जनामा संक्रमण पाइएको थियो ।

मृत्युको तथ्यांकमा पनि कीर्तिमान
भारतमा मृत्युको तथ्यांक पनि डरलाग्दो ढङ्गले बढेको छ । बुधबार भारतमा कोरोना संक्रमणका कारण २ हजार १ सय १ जनाको मृत्यु भएको छ । भारतमा कोरोना संक्रमणका कारण एकैदिन यति ठुलो संख्यामा मृत्यु भएको पनि यो पहिलो पटक हो । यसअघि मंगलबार २ हजार २१ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो ।

विश्वमै भारत त्यस्तो एकमात्र देश हो, जहाँ कोरोनाका कारण एकैदिन २ हजारभन्दा बढीको मृत्यु भइरहेको छ । अहिले विश्वका अन्य मुलुकमा कोरोनाका कारण दैनिक १ हजारभन्दा कम मानिसको मृत्यु भइरहेको छ । भारतमा सक्रिय संक्रमितको संख्यामा पनि एकैदिन १ लाख ३३ हजारले वृद्धि भएको छ । यो पनि आफैमा नयाँ कीर्तिमान हो । बुधबार भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या १ लाख ३३ हजारले बढेको हो । यसअघि १८ अप्रिलमा १ लाख २९ हजार र गत मंगलबार १ लाख २५ हजारले सक्रिय संक्रमितको संख्या बढेको थियो । भारतमा अहिले २२ लाख ८४ हजार सक्रिय संक्रमित छन् । ( एजेन्सी)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्