तनहूँका कांग्रेसी युवाको रामचन्द्र पौडेललाई खुल्ला पत्र

  • ख-
  • ख+

तपाई ढुक्क हुनुहोला पौडेल बा , तपाईका मुखिया, जिम्मालले (कुत उठाउने, खाने, बुझाउने) जे जे भन्छन् हिजो झै खुरुखुरु सही गरिदिनुहोला । किनभने पुराना कार्यकर्ताहरू बिच्किएर कही जादैनन् । बढी हुने र ठूला कुरा गर्नेलाई साइजअनुसार कारवाही छदैछ, केही हिजोका विद्रोही समेटिएकै छ । केही पढेलेखेका बज्रस्वाठहरू बेलोबेलामा तनहूँको विकासको बारे धेरै आलोचना गर्छन । के भो त तनहूँमा उच्च शिक्षा, प्राविधिक शिक्षा, राम्रो स्वास्थ्य उपचारको ठाउँ नभएपनि गाउँ गाउँमा बाटो पुगेकै छ ।


पौडेल बा
जय नेपाल

भर्खरै सम्पन्न स्थानीय निकायको चुनावमा काङ्ग्रेस र गठबन्धनले के.पी. ओलीको एमालेलाई साइजमा ल्याउने काम गर्यो , गदगद हुनुहुन्छ होला । जीवनभर काङ्ग्रेस, रुख र प्रजातन्त्र भन्दै कार्यकर्ता प्रशिक्षित र परिचालित गर्ने तपाईजस्ता वरिष्ठ नेतालाई नियतिले हँसिया–हथौडा, कलम लगायत चिन्हहरूमा भोट माग्न इज्जतकै विषय बनायो है ! बधाई छ । पार्टीलाई ठूला बनाउनुभयो, गठबन्धनलाई शक्तिशाली बनाउनु भयो । अझ काङ्ग्रेस भनेर जीवनभर त्याग तपस्या र बलिदान गर्ने तमाम योद्धाहरूलाई, माओवादी गुरिल्ला युद्धले हायल कायल भएका लाखौ निहत्या काङ्ग्रेसीजनको शारीरिक, मानसिक प्रताणनाको मुल्य सँग, तिनै द्वन्द्वका घाइते, टुहुरा, विधवा अशक्त सँग हसियाँ हथौडामा भोट मागेर ठूलो काङ्ग्रेस बन्नुभयो बधाइ छ, यसैको जगमा भित्ते राष्ट्रपति मात्र नबन्नु होला शुभकामना पनि !
म आज राष्ट्रिय राजनीति भन्दा पनि तनहूँ व्यासको सेरोफोरोमा रहेर टाढा काठमाडौं बस्ने, आधा परिवार यूरोपमा बस्ने वरिष्ठ नेतालाई दुईचार पार्टीका कुरा जानकारी गराउन गैरहेको छु, सायद तपाइको व्यस्तता, टाढाको पाइ, आसेपासेको चाकडी र चाप्लुसिले धरातलिय यथार्थ बुझनुभएन कि ? कृपया मनन गरिदिनु होला । धेरै प्रजातन्त्रवादी, कर्मठ, जीवनभर काङ्ग्रेस भनेर आफ्नो उर्जाशिल समय खर्च गर्ने साथीहरूले काङ्ग्रेस पार्टी छाडे अरे ! कति कारवाहीमा परे अरे ! हजारौले कैचीमा भोट हाले अरे, देशैभर गठबन्धनमय वातावरण हुँदा पनि तपाईका उम्मेदवारहरूलाई हम्मेहम्मे प¥यो अरे तनहूँमा ! तरपनि तपाई साह्रै भाग्यमानी गोविन्दराज जोशीको चुरीफूरी पनि सकियो अरे ! एक दुई अरु फुच्चे जोशीहरू पनि कारवाही गर्दै हुनुहुन्छ अरे ! एकल पौडेलमय हुने भयो त तनहूँ ।
जब तपाई २०४८ सालमा स्थानीय विकास मन्त्री बन्नुभयो, तपाईले सुरु गरेको तनहूँको विकास निर्माणको कामहरूको आज गगन चुमेको छ । कुन गाउँमा मोटर बाटो, बिजुली बत्ति पुगेन ? हेर्नुहोस न आज तनहूँका जनताहरू विच्कीएर कहिले विद्रोही, कहिले सूर्य र कहिले कैचितिर लागेर काङ्ग्रेसका उम्मेदवार हराउँछु भन्दै हिड्छन् । राष्ट्रिय राजनीति धान्नुपर्ने तपाइजस्ता ठूला नेताहरू पनि असहयोग गर्न खोज्ने कस्ता काङ्ग्रेस होलान ? यो अर्थमा ठिकै हो कि गठबन्धन गरेर हँसिया –हथौडामा भोट माग्नुपनि आखिर वरिष्ठ व्यक्तिले देशका लागि पार्टीभन्दा माथि उठेर सोच्नु पर्यो, राजनैतिक स्थिरता, प्रजातान्त्रिक मूल्य मान्यता र संस्कारको प्रवर्द्धन, सर्वाङ्गीण विकासका लागि सबैले त्याग त गर्ने पर्यो कि होइन र ?
तर पौडेल बा हिजोको भन्दा आज अवस्था राम्रो छ नि ! हिजो सूर्यमा भोट हालेर तपाईलाई पनि हराए, तनहूँलाई पनि निल नै पारे पनि आज धेरै सम्भावना देखिएको छ, फेरि तनहूँबाट तपाईलाई किस्तीमा राखेर सांसद बनाउँदैछन् । यो पालि त अब काङ्ग्रेसबाट जीतेका स्थानीय जनप्रतिनिधी, रैथाने नेताहरूले लुकी–लुकी सूर्यमा भोट नमाग्लान, कार्यकर्ता नबिच्काउलान । नेता कार्यकर्ता सच्चिएका छन् ढुक्क भएर तनहूँ आउनुहोला ।
नेपाली राजनीतिको मियोमा बसेर काम गर्ने तपाई जस्ता वरिष्ट मान्छेलाई जाबो तनहूँको बारेमा सोच्नु कहिले फुर्सद भयो र ? व्यस्त मान्छे । वरु तपाईले जिम्मा दिनुभएका मुखिया, जिम्मालहरूले साह्रै मन राखेका छन् तनहूँमा । तपाई विरुद्ध बोल्ने, उनीहरूसँग अनावश्यक तर्क र वादविवाद गर्ने, आँखा जुधाएर हेर्ने तथा कार्यकर्ता रिझाँएर भोलि भड्काउला भनेर हिजै देखि सचेत छन् । त्यसैले त उनीहरूले बेला–बेलामा कारवाही, निस्कासन र सम्भावित विद्रोहीहरूलाई बेलैमा तह लगाएकाछन् । तपाईलाई जिताउन अति आवश्यक हिजो सयपत्रीदेखि पृथकगुटका विद्रोहीहरूलाई फकाएर कारवाही फिर्ता लिएर पार्टीको मुलधारमा ल्याएका छन् । साच्चै उपयोगितावादी सिद्धान्त पार्टीमा प्रयोग भएको छ । समग्र तनहूँ काङ्ग्रेसलाई बलियो बनाएका छन् । तपाई ढुक्क हुनुहोला तपाईका मुखिया, जिम्मालले (कुत उठाउने, खाने, बुझाउने) जे जे भन्छन् हिजो झै खुरुखुरु सही गरिदिनुहोला । किनभने पुराना कार्यकर्ताहरू बिच्किएर कही जादैनन् । बढी हुने र ठूला कुरा गर्नेलाई साइजअनुसार कारवाही छदैछ, केही हिजोका विद्रोही समेटिएकै छ ।
केही पढेलेखेका बज्रस्वाँठहरु बेलोबेलामा तनहूँको विकासको बारे आलोचना गर्छन । के भो त तनहूँमा उच्च शिक्षा, प्राविधिक शिक्षा, राम्रो स्वास्थय उपचारको ठाउँ नभएपनि गाउँ गाउँमा बाटो पुगेकै छ । २, ४ घण्टाको दुरीमा सुविधासम्पन्न ठाउँहरू पोखरा, नारायगण, काठमाडौ पुगिन्छ । हिजोको जस्तो अवस्था हो र ? बालबच्चा पढाउन, औषधीमुलो गर्न बढी खर्चिलो भएपनि जनताका छोराछोरीलाई वैदेशिक रोजगारीका लागि तपाईहरूको सहज बनाइदिनु भएकै छ । विदेशबाट आएको रेमिट्यान्सले धानेकै छ । किन दुःख गर्ने ? गाउँ गाउँका खेतियोग्य जग्गा बाँझियो भनेर किन टाउको दुखाउने ? त्यसैले किन खर्च गर्नुपर्यो र शिक्षा, स्वास्थ्य, सिंचाइका ठूला ठूला पूर्वाधार बनाउन तनहूँमा ? वास्तवमा ठिकै गरेका हुन तपाईका प्यारा तनहूँका मुखिया जिम्मालहरूले सहकारी कलेज, मेडिकल कलेज, अन्य प्राविधिक कलेजहरू, औद्योगिक क्षेत्रको विकासको माग नगरेर र आएका अवसरहरूलाई पनि रोकेर । होइन भने आज जनताका छोराछोरीहरू बढी जान्ने सुन्ने पो हुनेरहेछन्, धेरै कमाउने रहेछन्, तपाईहरूलाई त थेगीसाघ्य नै नहुने रैछ नि, अहिल्यै यस्तो गाह्रो छः पार्टी हाइकमाण्डको कुरा मान्दैनन् निहूँ मात्र खोज्छन्, कहिले सयपत्रि, कहिले सूर्य हुँदाहुँदै कैची पनि भने । वरु जनताहरू मात्र होइन केही नेताहरू पनि तह लगाउनु छ है पौडेल बा ! अघिल्लो २०७४ सालको चुनावमा तपाईलाई जिताउन १ भोट रुखमा १ भोट सूर्यमा माग्दा गाउँ गाउँमा कार्यकर्तालाई फोन गर्दा पनि मानेका छैनन । तपाई जस्तो वरिष्ठ मान्छेले दिएको टिकट पनि ठिक भएन एउटै व्यक्तिले मात्र पटक पटक, प्रत्येक ठाउँमा अवसर पाउने अरुले कहिल्यै नपाउने भनेर गाईगुई गर्दैछन् । सबैको हिसाब किताब राख्नुपर्छ है पौडेल बा, मुखिया जिम्मालहरूले भुल्लान् ?
कुरा रह्यो विकासको तनहूँ विशेषगरी व्यासमा मानुङ्गकोटदेखि तनहुँसरसम्म सरर गाडी पुगिसक्यो, खर्च जति सुकै होस जनताले सेवा पाए भएन ? विकासका लागि बतास समुह, ठेक्का पट्टाका लागि खै कुन कुन समूह, खनिज पदार्थ, ढुङ्गा, गिटी, बालुवाका लागि २, ४ महिना रोकेर पनि खै के के गरेर नियमित भएको छ रे । केही समस्या छैन २, ४ हजार मूल्यवृद्धि स्वभाविकै हो, त्यसलाई जनताको ढाड सेकिएको ठान्नु हुँदैन । दिर्घकालिन महत्वका योजना कुनै पनि नभएपनि, चुनाव लच्क्षित गरेर आमा समूह, युवा क्लवहरूलाई २०, ४० हजारका योजना, प्रत्येक टोल, वडामा वर्षैैपिच्छे टालटुल गर्न डोजरे विकास भएकै छ । आमासमूह, कर्मचारीहरूलाई साडी बाडिएकै छ, जतिसुकै परोस । अन्तको त थाहा भएन मेरो ठाउँमा तामझामका साथ वस्ति विकासको योजना घोषणापत्रमा कामसम्पन्न भएकै जस्तो गरी प्रचार गरियो सायद कागज र भाषणमा भएका राम्रा विकासका योजनाहरू भएर होला, ५ वर्ष काम गर्न छोटो समय भएर होला अब त अरु ५ वर्ष थपिएको छ, त्यो ५ वर्षले पनि नपुगे अर्काे ५ वर्ष पनि थप्नु पर्छ है पौडेल बा । को छ र अरु तनहूँमा पढेलेखेको राजनीति बुझेको, तपाईलाई ज्यान फालेर सहयोग गर्ने ? जसले सहयोग गर्छ उसलाई त दिने हो । बेलामा नै विचार पु¥याउनु पर्छ है !
पौडेल बा ! तपाईलाई त थाहा छदैछ गाउँ गाउँमा राजनीति धानिदिने माष्टरहरू हुन । सरकारी तलब खाएर विना सरकारी लगानी गाउँ धानिदिएका छन् । बेलाबेलामा सरुवा, बढुवा, पदस्थापनामा रुपैया पैसा, सुरा, सुन्दरीको कुरा सुनिए पनि त्यस्तो के प्रमाण छ र ? वित्थ्यामा विरोधीहरू पनि केही काम पाउँदैनन आरोप मात्र लगाउँछन् । होइन है नपत्याउनुहोला । कसैको इच्छा विपरित काम भएको छैन । सबै स्वतस्फूर्त, राजीखुसी छन् ।
विगत ५ वर्षमा के के काम भए सबै चुनावी घोषणापत्रमा उल्लख छन्, पारदर्शि छ । खै कसैले गुनासो गरेका छैनन । त्यसैले सबै काम भएको रहेछ । कति खर्च भयो उल्लेख छदैछ, लेखापरिक्षण भएकै छ । हिजो कटुवालको भरपर्ने गाउँमा आज हात हातमा मोबाइल र इन्टरनेट पुगेकै छ । आखिर के हो र विकास ? विरोधीले पारदर्शी भएन, दिर्घकालिन विकास योजना भएनन् , बजेट नीजि सम्पत्ति जस्तो कनिका छरे जस्तै भने पनि फेरि चुनावमा जिताएर विरोधीको मुख जनताले टालिदिएका छन् ।
जनताको जातै असन्तुष्ट हो । तपाईलाई देउवा, ओलीसँग तुलना गरेर हुन्छ र ? जिल्लाको विकासका लागि पार्टी सभापति, प्रधानमन्त्री नै हुनुपर्छ, तपाई कहिले बन्नुभयो र ? तनहूँमा ८, १० ठूला–ठूला प्रोजेक्ट ल्याएर शिक्षा, स्वास्थ्य, पूर्वाधार विकासमा कायापलट गर्ने भने नभएको कहाँ हो र ? बजेट ल्याउने बेला कसैले सम्झाएनन् । तपाई व्यस्त मान्छे, ठूलो मान्छे राष्ट्रिय राजनीति समाल्दा नै फुर्सद नै भएन । अब राष्ट्रपति बन्नुपर्छ बा, छाब्दीसम्म नसकेपनि गाउँगाउँसम्म रोड पिच गर्नुपर्छ । अस्ती चितवनजाँदा प्रचण्ड पुत्रिले गरेको विकासबाट सिकेर आउनुभएकै छ । त्यहीबाट प्रभावित भएरै त हो हँसिया हथौडामा भोट भाग्नु भएको । पौडेल बा अब तनहूँमा पनि काम गरेर अर्काे पटक रुखमा भोट माग्नु पर्छ है । सयपत्रि, सूर्य, हँसिया–हथौडा, कैचिको कामै छैन रुखमानै माग्नुपर्छ है । त्यसका लागि तपाईका मुखियाँ जिम्मालहरूलाई पनि चितवनको भ्रमण गराउने हो की ? राजनीतिमा शक्तिको प्रयोगले भन्दा जवाफदेहिता, जिम्मेवारीता र पारदर्शिताले सफल बनिन्छ भन्ने सिकाउने पो हो की ? पार्टीमा लागेका कर्मठ कार्यकर्ताको मूल्याङ्कनको आधार निर्धारण गरेर सबैलाई अवसर प्रदान गर्ने हो की ? निरंकुश र शक्तिको उन्माद देखाउने चरित्रभन्दा सरल, निष्ठावान विकासको दुर दृष्टि भएका व्यक्ति छान्ने पो हो की ? स्थानीय निकायमा धेरै वेरुजु बढेको छ, भ्रष्टाचार संस्थागत भएको छ, कर्मचारी र प्राविधिकको इसारामा चल्ने नेतृत्वभन्दा भ्रष्टाचारमा शुन्य सहनशिलता गर्ने व्यक्ति छान्ने पो हो कि ?
अन्त्यमा पौडेल बा यो पाली जे भयो नमरी बाँचे अर्काे पालि त नयाँ नेतृत्व विकास गर्नुपर्छ है । हर्क साम्पाङ्गजस्ता युवा हाम्रो पार्टीमा पनि जन्माउनु है । तपाई ठूलो मान्छे तपाईको प्रतिस्पर्धी अब कोहीपनि छैनन । पार्टी महाधिवेशनमा पनि गुटभन्दा माथि उठेर बस्नुभयो । कृपया तनहूँमा पनि कुनै गुटको कुरा सुनेर आफ्नै कार्यकर्ताहरूलाई अन्याय नगर्नु होला । तपाईलाई कसले सम्झाउने ? तपाईको काधमा बन्दुक राखेर तपाईकै शक्तिको आडमा एउटा काङ्ग्रेसीले अर्काे काङ्ग्रेसलाई डयाङ्ग–डयाङ्ग गोली हान्दैछ, शत्रुवट व्यवहार गर्दैछ, तपाईलाई हेक्का भएर पनि तिनै सामन्ति मुखिया, जिम्मालहरूको कामलाई धाप लगाउँदै हुनु्हुन्छ, पटक पटक पुरस्कृत गर्दै हुनुहुन्छ । तनहूँका याम बहादुर आले, महेश्वर भट्टराई, पुष्प पराजुली, विश्व वास्तोला लगायत कयौ ज्ञात अज्ञात कर्मठ काङ्ग्रेसी योद्धाहरू तपाईका त प्रतिस्पर्धी थिएनन् । कृपया असन्तुष्टहरूको समस्या बुझिदिनुहोला । निस्कासन, कारवाही वा पार्टी नै छोडनुपर्ने अवस्था नवनोस् । सबै सधै काङ्ग्रेसी बनेर धेरै भोटो फटाएका छन्, घरपरिवार, सम्पत्ति नभनि उनीहरूले पनि काङ्ग्रेसप्रति जीवन समर्पण गरेका छन् र थिए । कृपया उनीहरूको पनि मूल्याङ्कन होस् । उनीहरूको पसिना र आसुको भारा तपाईमाथि नपरोस् । अस्ती सयपत्री, हिजो सूर्य र आज कैचिमा भोटहाल्नेहरूले आफ्नै नेताहरूको कार्य शैलीको असन्तुष्टि पोखेका हुन् । कतै ति असन्तुष्टिहरू तपाईले थाहा नपाएको वा गलत सूचना संप्रेषण भएर हो वा तपाईको नियत नै खोटो हो ? हामी कार्यकर्ता रनभुल्लमा पर्यौ पौडेल बा । जय नेपाल ।
उही
विशिष्ट श्री भट्टराई
व्यास–११, रानीगाउँ, तनहूँ
(लेखक उप–प्राध्यापक ग्रामीण विकास विभाग, त्रिचन्द्र बहुमुखी क्याम्पसमा कार्यरत हुनुहुन्छ । )
लेखकको (नीजि विचार)
(पुनः सम्पादित)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्