शिक्षाक्षेत्रका मीठो पूर्वस्मृति, गलत पात्र र प्रवृत्तिबारे शिक्षक नेता कमलभक्त पोख्रेलको आत्मकथा

  • ख-
  • ख+


पृथ्वीनारायण क्याम्पस पोखरामा आई एड दोस्रो बर्ष को विचमा पढ्दै थिएँ । बाल्यकालको मिल्ने साथी मोहन वस्ताकोटी मेरो कोठामा आउनु भयो र भन्नुभयो ”कमलजी ! मैले त आजैदेखि पढाउन छाडिदिएँ, तपाई जाने हो भने जानुस् खाली भयो ! तपाईलाई मिल्छ भने यो जुत्ता पनि लगाउनुहोस् न यार!” जुत्ता मिलोस् नमिलोस् यो भनेको राज्य हो भन्ने लाग्यो । शुभ संकेतको रुपमा सम्झें । कता कता पढेको पनि थिएँ, शायद छाता जुत्ताको धोको भन्ने पाठमा हो क्यार । हुन्छ ”म लगाउछुँ” भनेँ । उहाँ उमेरले दाजु भएपनि साईज भने मिलेन । उहाँ ओभरसियर हुनुहुन्थ्यो । उहाँकै बुवा समितिको अध्यक्ष र अंकल प्र.अ. महेन्द्रोदय नि.मा.वि. राम्जाकोट तनहूँ। आफूले अक्षर चिनेको विद्यालय समितिमा सबै आफ्ना गाउँले दाजु अंकल तथा छिमेकीहरु । ”किन नपढाउने ? ” जस्तो मनमा लाग्यो आफैलाई सोधेँ। त्यो रात साथीहरु सँग गफगाफ गरेर सुत्यौँ । भोलिपल्ट बिहानैदेखि तयारी गरेर Casa Paco नामको झोला पछाडि भिरेर घरमा पुगेँ र भोलिपल्ट स्कुलमा । ‘‘खाली ठाउँमा पढाउन आएको सान्बा !” प्रधानाध्यापक कृष्णचन्द्र बस्ताकोटीलाई भनेँ । ” छ क्यारे पढाउन सक्छौ भने पढाउ, पहिला विद्यार्थीको चित्त बुझाउ पढाउ !” उहाँको जवाफ थियो । कक्षा ६ र ७ का अंग्रेजी र गणित दुवै विषय पढाउनु पर्ने थियो । आफ्नो विषय थियो सामाजिक । विद्यालयका कक्षा ६ र ७ का विद्यार्थीलाई सोधेँ ” कोर्स कहाँ कहाँ पुगेको छ ? भोलि देखि मैले पढाउने हो ।” विद्यार्थीहरु भाइ भतिजा तथा चिनजानका धेरै थिए । उनीहरु मध्ये प्रतिभावान पनि थिए । सुरथ पोख्रेल, तिलक रानाभाट, बुद्धिसागर बस्ताकोटी , मिनराज बस्ताकोटी युवराज पोख्रेल , सुमित्रा पोख्रेल, लक्ष्मी पोखरेल, राधा पोख्रेल सूर्य थापा आदि प्रतिभावान विद्यार्थी मध्ये पर्दथे । ति आफ्ना र आफ्ना नजिकका थिए ।आफ्नो मेजर विषय नै होइन गणित र अंग्रेजी कसरी पढाउने ? घर फर्केर सकेसम्मको तयारी गरेँ । शिक्षक निर्देशिकाहरु जुटाएँ । भोलिपल्ट कक्षामा पढाउनु थियो । कक्षामा प्रवेश गरेँ, जानेसम्मको सिप प्रयोग गरेर थोरै पढाएँ तर दोहोर्‍याई तेहेर्‍याई पढाएँ । विद्यार्थी खुशी देखिए । एकजना शिक्षक एवं दाजु भिमलाल पोख्रेल पनि कार्यरत हुनुहुन्थ्यो र उहाँकै सबैभन्दा प्रतिभावान छोरा सुरथ पोख्रेल पनि कक्षा ७ मा पढ्थे । दाजुले भन्नुभयो ”तेरो कक्षा राम्रो मानेका छन् केटाकेटीले , पढाए हुन्छ अब ! ‘‘ खुशी लाग्यो ! पहिलो सकारात्मक टिप्पणी थियो त्यो । त्यसपछि प्रधानाध्यापकले भन्नु भयो ” कक्षा त तिम्रो राम्रै मानेका छन कमल, हाम्रा केटाहरुले पनि राम्रै भने , पढाउछौ त ? ” मैले उत्तर दिएँ ”पाए त पढाउनै भनेर आएको सान्बा! ” ल भोलि देखि खुरुखुरु पढाउ म केही दिनपछि समितिको बैठक राखेर निर्णय गराउँछु ।”
त्यतिबेला निमावि पढाउन आई एड पास हुनै पर्ने थिएन । समितिले निर्णय गर्‍यो ”तपाईलाई योग्यता प्राप्त स्थायी शिक्षक आएमा वा अन्य व्यवस्था भएमा स्वतः नरहने गरी मासिक रु. ६७५।- तलब भत्ता पाउने गरि यो नियुक्ती दिएको छ ।” प्र.अ. को मातहतमा रही कामकाज गर्नु भन्ने व्यहोराको नियुक्ति पत्र प्राप्त गरेँ। अवीरसहित उक्त नियुक्ति पत्र पाउँदा खुशीको सिमा रहेन । २०४५ जेठ ९ गते आइतबार नियुक्ती बुझेको दिन बुवाले भन्नुभयो, ”आज जनम्बारको दिन सरकारको सिंदुर पहिरिएको छस् जीवनभर जागीरे हुने भइस् ।” बाले ज्योतिषले जस्तै भविष्यवाणी गर्नुभयो । मेहनतका साथ पढाउन सुरु गरेँ । विद्यार्थीहरु चलाख हुनाले अध्यापनमा खासै समस्या देखिएन । उपलब्धिहरु पनि राम्रो भयो । वर्षे बिदा अगाडि १२,१४ सय रुपियाँ (पहिलो तलब को रुपमा ) रकम पाएँ ज्यादै खुशी लाग्यो । वर्षे बिदामा पुनः पढाई पुरा गर्न लागेँ । मंसिरमा रिजल्ट भयो । पास भएँ आई. एड्. जागीर थप पक्का भयो ।
सोचे जस्तो जीवन कहाँ हुन्छ र १, २ वर्ष अध्यापन गर्न नपाउदै तात्कालिन शिक्षा शाखाबाट पत्र आयो ”शिक्षक चेतन प्रसाद विमलीलाई स्थायी नियुक्ती दिई पठाइएको छ, निजलाई हाजीर गराइ अस्थायी शिक्षक कमल भक्त पोख्रेललाई अवकाश दिनु । स्थायी शिक्षक लाई हाजीर गराउनु ” तोरीको फूल देखियो, जागीर गयो । ”के गर्ने ? वि.एड.भर्ना भएको पनि छैन! जागीर पनि गयो । ” तुरुन्त शिक्षा शाखा गएँ । ”किन मेरो नाम अवकाश को निम्ती तोकेर पठाइयो ?” मैले प्रश्न गरेँ । शिक्षाले जवाफ दियो ” तपाई सबै भन्दा जुनियर भएकोले” मैले भनेँ ”मभन्दा पछि नियुक्ती लिने साथी हुनुहुन्छ । ” शिक्षाले जवाफ दियो ”त्यसो भए त उहाँ नै हट्ने हो, हेडसरलाई सबै थाहा हुन्छ । तपाई को नभएर अर्को साथीको अवकाश हुन्छ !” अझैपनि भारी मन लिएर म घरमा फर्केँ, तर संयोगवस ती स्थायी नियुक्तिवाला साथी हाजीर हुन आएनन् । पछि ५, ७ महिनापछि पुनः तिनै साथीको पत्र आएछ, तर यसपालीको भने पत्रमा मेरो नाममा अवकाश दिनु भन्ने व्यहोरा रहेनछ । दुर्भाग्यवश पत्र आएकै दिन मलाई अवकाश दिएर ती स्थायी साथीलाई हाजीर गराई मलाई उहाँको सट्टा शिक्षकको रुपमा राख्ने निर्णय भएछ । म त्यही दिन बिदामा बसेको थिएँ । निर्णय चित्त बुझ्दो पनि भएन शिक्षा नियमावली अनुसार पनि भएन । समितिका सबैजनालाई भनेँ ”अन्याय भएकोछ भने सच्याउन सकिन्छ’‘ जवाफ यही थियो सबैको । निर्णय सच्चियो । जुनियर साथीलाई सट्टामा र मलाई दरवन्दीमा नै राख्ने निर्णय भयो , परिवर्तन भयो । मलाई खुशी त लाग्यो तर अर्को साथीलाई भने मलाई जस्तै पिडा भयो । सट्टा शिक्षकको रुपमा रहदाँ सधैँ मन झस्किने भयो उहाँलाई पनि।
२०४६ साल फाल्गुणको महिना थियो पञ्चायती व्यवस्था को विरुद्धमा आन्दोलनको शुरुवात भयो। शिक्षकहरुले पनि बहुदलवादीलाई सक्दो सहयोग गर्‍यौं । २०४६ चैत्र २६ गते राति १० बजेतिर राजा बीरेन्द्रले दलमाथि लागेको प्रतिबन्ध खुला गरिएको छ भन्ने व्यहोराको संवोधनले पञ्चायती व्यवस्था ढल्यो र बहुदलिय प्रजातन्त्र पुनःस्थापना भयो । कृष्णप्रसाद भट्टराई अन्तरीम प्रम भए सँगसँगै शिक्षकहरु एक वर्ष अध्यापन गरेको भएमा स्वतः स्थायी हुने भन्ने निर्णय मन्त्री परिषदको बैठकले पारित गर्‍यो । यसै निर्णय बमोजिम २०४८ असोज २१ गते निमावि तह स्वतः स्थायी नियुक्ति हात पर्‍यो । तर स्वतः प्राप्त गरेको यो नियुक्ति प्रति धेरैका व्यङ्ग्य वाण हुने गर्थे ”बम्पर नियुक्ति ‘‘ भनेर टिप्पणी हुने गर्थ्यो । आफूलाई पनि अप्ठेरो नलागेको होइन तरपनि एकदिन मा.वि. तह पनि स्थायी हुन्छु, भन्ने दृढ विश्वास भने थियो । यसैविच २०४८ फागुन १७ गते विवाह भयो । विवाहमा बाहिरी कुनै एकजना मान्छेले भनेको स्पष्ट सुनिन्थ्यो ”बुढाले जेठी छोरी फाले जंगल तिर !’‘साह्रै नमीठो लाग्यो । हुन पनि हाम्रो जन्मभूमि जहाँ पिउने पानी नै प्राप्त गर्न मुस्किल थियो, गाउँबेसी गर्न पर्ने, पुछारे खेत , हुनसम्मको दुखः थियो। विवाह त भयो तर अब कसरी माथिल्लो योग्यता हासिल गर्ने ? कसरी हामीपनि जंगली र कष्टपूर्ण जीवन बाट मुक्तिको लागि शहरतिर जाने ? चिन्ता पर्न थाल्यो । बिवाह हुनासाथ वि. एड. भर्ना भएँ । पृथ्वीनारायण क्याम्पसमा भोजराज दवाडी अत्यन्तै मिल्ने साथीमध्ये एक हुनुहुन्थ्यो। साथीलाई भनेँ, ”नोट बनाउ साथी हामी पनि सार्छौ” , ”भैहाल्छ नि ! ” साथीको जबाफ थियो । वर्षे विदामा ५५ दिन पढेँ । पर्व ,क्या वि, विरामी विदा केही रहेनन् । आदरणीय अग्रज खड्क बहादुर कमाल सरको नोट अर्का आदरणीय मित्र सुरेन्द्र पराजुली मार्फत प्राप्त भयो । पूर्ण नोट थियो त्यो । उत्तीर्ण गर्न सजिलो भयो अनिवार्य विषयहरुको नोट थियो । साथीको नोट पनि सार्‍यौँ फोटो कपी पनि गर्‍यौँ । उपस्थित भएर पढ्दा भने ज्यादै रमाइलो जीवन भयो । विद्यार्थी जीवन बन्यो जागीरे जीवन । भोजराजलाई सम्धी भन्थेँ । दुवै उस्तै हँसाउन माहिर । ”अब दवाडीले के भन्छ ? कमलले के भन्छ ? ” साथीहरुले हाम्रो जोक सुन्न मुख ताक्नुहुन्थ्यो । जोक भन्दा भन्दा यति धेरै जोक भनिएछ कि प्रतियोगिता हुने भए दवाडी प्रथम र म दोस्रो वा त्यसको ठिक उल्टो पनि हुने थियो होला ! पढाई पनि राम्रो भयो । वि. एड. मा राम्रो प्रतिशत ल्याएर पास भयौँ । २०५२ मा शिक्षक सेवा आयोगको परीक्षा खुल्यो सबै तहमा। तनहूँमा मा. वि. तहमा १० सिट भूगोल बिषयको निम्ती खुल्यो । भूगोलको नै मात्र हिसाब गर्दा त मेरो अङ्क प्रथम श्रेणीमा थियो । ” वाँदरलाई लिस्नो ”भनेजस्तै हुने भयो मलाई भूगोलको परीक्षा जस्तो लाग्यो । म मनमनले मख्ख पनि परेँ । किनकी भूगोल विषयमा आफूभन्दा प्रतिभावान मानेको साथी ले अर्कै जिल्लाबाट फाराम भरेका थिए । तनहूँबाट १० सिटका लागि १६५ जनाको आवेदन परे पनि म ढुक्क थिएँ । आयोग सुनिश्चित पास हुन्छु जस्तो लाग्यो मनमा । फाराम भरेँ, प्रवेश पत्र लिएँ, परीक्षा हलमा पुगेँ, तर प्रश्न हेर्दा कहाँबाट शुरु गर्ने जस्तो लाग्यो । एउटा प्रश्न यस्तो थियो । नेपालको स्थल मार्गको चर्चा गर्नुहोस् । करीब ५ मिनेट कलम टोकेंर सोचें मात्रै। भूगोलको परीक्षा कति नक्सा बनाउँला ग्राफ चार्ट बनाउँला भनेर परीक्षा हलमा प्रवेश गरेको । प्रश्न यस्तो छ, चर्चा गर्ने रे ? के लेख्ने ? कहाँबाट शुरु गर्ने ? एकछिन कलम टोकेपछि दिमागमा आयो । यो प्रश्नमा नक्सा बनाउन मिल्छ ? मिल्छ ! दिमागमा फुर्‍यो, नक्सा बनाएँ । नेपालमा वर्तमान स्थल मार्गको स्थितिु भनेर एउटा नक्सा तयार भयो । यसैमा अर्को नक्सा बनाएँ डा। हर्क गुरुङले डिजाइन गरेको स्थल मार्गको नक्सा भनेर । अर्को नक्सा तयार पारेँ। डाक्टर हर्क गुरुङको स्थल मार्गको रुपरेखा अलि बढी महत्वाकांक्षी छ, तसर्थ यसरी नदीको किनारबाट स्थलमार्ग बनाऊनु उपयुक्त छ भनेर अर्को नक्सा तयार पारेँ । भित्री व्याख्या त राम्रो थिदै थियो । एउटै प्रश्नको जवाफ भित्र ३ वटा नक्सा । आफूले लेखेका प्रत्येक उत्तरहरु आफूलाई राम्रो लाग्यो । परीक्षा सोचे भन्दा राम्रो भयो। ३ घण्टाको परीक्षामा २७ पेज लेखेछु । प्रथम हुन्छु , जस्तो आफ्नो भित्री मनमा लागेको थियो तर १० वर्ष सेवा गर्नु भएको साथीको सेवाको अंकको कारण नम्बर१ मा र मेरो नाम नम्बर २ मा निस्कियो, ठिकै हो, किनकि उहाँको सेवाको अंक नै १० प्राप्त हुने रहेछ । ५२ सालको रिजल्ट ६० सालमा भयो । तरपनि मेरो सम्पूर्ण सेवा जोडिने भयो मलाई कुनै फरक परेन । पछि २०६८ सालतिर मावि तह दोस्रो श्रेणीको लागि प्रतिश्पर्धा हुदाँ पनि मेरो नाम प्रथममा नै आयो खुशी लाग्यो । अंग्रेजी , सामाजिक , नेपाली ,गणित विज्ञान, लगायतका सबै विषयका शिक्षक साथीहरुलाई पछि पार्नु सजिलो थिएन । पछि पार्न सफल भएँ खुशी लाग्यो । आफुले अध्यापन गरेको विषयमा पनि शिक्षण अवधिभर झण्डै १०० प्रतिशत कै हाराहारीमा विद्यार्थी उत्तीर्ण हुनुलाई मैले आफ्नो अध्यापन जीवन सफल भएको ठान्दछु ।
शिक्षण सेवामा रहँदा रहँदै आदिकवि भानुभक्त क्याम्पसमा शैक्षिक योजना तथा व्यवस्थापन विषयको पढाइ शुरुभयो । स्नातकोत्तर तहमा अध्यापन गर्ने पहिलो व्यक्ति र पहिलो घण्टीको अध्यापकको रूपमा रुटिन पाएँ । एउटै कक्षामा १०० भन्दा बढी विद्यार्थीहरु भएपनि अध्यापन गर्न ज्यादै आनन्दानुभूति हुने गर्दथ्यो । एक मनले भन्दथ्यो ”मेरी आमा आज जिवीत हुनु भएको भए यो दुनियामा सबैभन्दा खुशी हुनुहुन्थ्यो होला !” क्याम्पसमा राजनीति बढी हुने, क्याम्पस प्रमुख राजनीतिका माहिर खेलाडी पनि थिए । उनी आफ्नो क्लास स्नातकोत्तरका विद्यार्थीले वहिष्कार गर्दै जानु र हाम्रा क्लासमा प्रभावकारीता थपिदै जानु उनको लागि खतराको संकेत भएछ कि क्यारे ? १, २ जना आफ्ना मतियार तथा बेरोजगार ठेट्नाहरुलाई क्याम्पसमा प्रवेश गराए। हाम्रा केही साथीहरुको म्याद थपिएन । हामीले विज्ञप्ती निकाल्यौं । पुनः वहाली भयो तर उनले गिजोल्न भने छाडेनन् । कहिले पिरियड यताउता पार्ने – एउटा शुरुमा अर्को अन्त्यमा पार्ने र कहिले पिरियड घटाउने, कहिले क्याम्पसमा कार्यक्रम गर्ने , निम्ता नगर्ने, भोलिपल्ट किन उपस्थित नभएको भनि स्पष्टिकरण सोध्ने, तलब १ बर्षसम्म नदिने , आफूलाई आम्दानी हुने र आफू सिंह बन्न मात्रै खोज्ने गर्न थाले । मलाई ”यस्तो कालो मन भएकाहरु, र प्राज्ञिक ज्ञान शून्य भएकाहरुसँग काम गर्नुभन्दा राजीनामा दिनु ठिक ” जस्तो लाग्यो । राजीनामा दिएँ आफूले अध्यापन गरेको विषयमा ७० प्रतिशत भन्दा बढी विद्यार्थी को प्रथम श्रेणीमा उतीर्ण हुदाँ भने गौरब महसुस भयो । आफैले अध्यापन गराएका विद्यार्थी हरुको प्र. अ. पदमा पहुँच पनि हुन थाल्यो यसबाट मलाई राजनीतिक फाइदा पनि भएको थियो । किनकी मैले नेपाल शिक्षक संघको जिल्लाअध्यक्ष हुन यसबाट सहयोग पुग्यो भन्ठान्छु । विद्यालय व्यवस्थापन समितिले २० अंकको मूल्याङ्कन गरेर प्र.अ. छनोट गर्ने अन्धो नियमावली रहेसम्म प्र.अ. पदमा आवेदन गर्न भने मन पटक्कै लागेन। निगाहमा प्र.अ. पद नपाइने होइन तर कुनैदिन खुला प्रतिश्पर्धा होला र प्र.अ. हुँला भन्ने इच्छा भने कार्यकाल भरिनै थाँती नै रह्यो । सरकारले यो आँट कहिल्यै गरेन।
शिक्षण पेशामा आवद्ध भए सँगसँगै आफ्नो राजनीतिक विचारसँग मेल खाने संस्थामा पनि आवद्ध हुनु स्वभाविकै थियो । नेपाल शिक्षक संघको क्षेत्रीय अध्यक्ष, जिल्लाको उपाध्यक्ष अनि केद्रिय प्रतिनिधि र जिल्ला अध्यक्ष भई काम गरेँ । इट्टाको काम गर्ने र खुट्टा तान्ने दुवैथरी साथीहरुको माँझवाट थुप्रै खालका शिक्षक भलाईका कार्यक्रम सञ्चालन गर्ने मौका पनि मिल्यो । शिक्षकका पेसागत संगठनका प्रमुखहरु आदरणीय केशव राज घिमिरे, विन्दु कुमार श्रेष्ठ, राजेन्द्र पौडेल, सूर्य कुमार घिमिरे , हेम घिमिरे लगायतका साथीहरु र तत्कालिन जि.शि.अ. बावुराम देवकोटा, उप सचिव सूर्य प्रसाद क्षेत्री, विनि प्रेमकुमारी शर्मा समेतले शिक्षक कल्याणकारी कोष स्थापना गर्न पुर्‍याउनु भएको योगदान भुल्न सक्दिन । पछि यसलाई मुर्त रुप दिन दामोदर आचार्य र रुद्रहरी भण्डारी सरको पनि पूर्ण सहयोग रह्यो । हामी यसमा सफल पनि भयौं । दैनिक १ रुपिया उठाएर लाखौंको सहयोग गर्न सकिने रहेछ । प्रमाणित गरेर देखाइयो सबै मिलेर । आज तनहूँले थालनी गरेको शिक्षक कल्याणकारी कोष देशव्यापी बनाउनु जरुरी देखिन्छ ।
शिक्षक संघमा ४ वर्ष को लागि निर्वाचित भएका हामी १ वर्ष म्याद थपियो । पुनः १ वर्ष म्याद थपियो । केन्द्रका साथीहरु खालि उठेको रकम कसरी हजम गर्ने भन्ने सोचाई मात्र भए जस्तो लाग्ने आफूलाई । जिल्लामा अफ्टेरो परेको अवस्थामा यिनीहरूका श्वास बन्द हुने रहेछ । जिल्लामा एकजना साथीलाई यौन सम्बन्धी दुराचारको आरोपमा अप्ठेरो पर्दा केन्द्रको कति सल्लाह सहयोग लिन खोजेँ तर कुनै सहयोग मिलेन । सोचाई नै कमाउनेतर्फ मात्र रहेछ भन्ने मनमा लाग्यो । हामीले नै पूर्व अध्यक्ष केशव निरौलाज्यूलाई अनुरोध गर्दै गर्दा स्थापीत भएको कल्याणकारी कोष पनि भतारिएको पाएँ। किनकी आफ्नै स्कुलकी एक जना सहयोगी कायकर्ता विद्यालयको काममा रहदा खुट्टा भाँचिएर वि. एण्ड वि. हस्पिटलमा उपचार गर्दा झण्डै ७ लाख रुपैया लाग्यो । ‘‘केन्द्रीय संघसँग ७ पटक माग गर्दा पनि पाइएन सर” उहाँको गुनासो थियो । मेलै पनि भनेँ, तर नेतृत्वले सुनेन । हामीले जिल्लाको कल्याणकारी कोषको विधान अनुसार १५ हजार रुपैया र जिल्लाको शिक्षक संघबाट १० रुपैया हजार दिलायौं । विद्यालयबाट करीब ३५ हजार रुपैया दिलायौं । एउटा जिल्लाले वा एउटा विद्यालयले मात्र पनि प्रभावकारी सहयोग गर्न सक्दो रहेछ । संघीय समितिले भने कुनै सहयोग रकम दिंदै दिएन । अनि मलाई लाग्यो यिनीहरुलाई लेवी बुझाउनु भनेको भिर मल्नु जस्तै हो वा बुढो गोरु पोस्न जस्तै हो जस्तो मात्रै । देशभरबाट शिक्षक साथीहरुबाट दैनिक १ रुपिया उठाउँ, दैनिक रु २ लाख उठ्छ र यस्तै साथीहरुलाई राहत दिन सकिन्छ भन्दा कसैले सुन्दैनन् । भाले माहुरीले जसरी ज्यामी माहुरीले जम्मा गरेको मह खाने काम मात्र गर्दछ , ठिक त्यस्तै लाग्यो मलाई केन्द्रको काम। मनले आफैलाई भन्यो ”अब यि खञ्चुवा पालेर नबस तँ ! ”आफैलाई भन्यो ‘‘ दैनिक १०० रुपैयाको आम्दानी र बचत नहुने सकाहरुको पैसा उठाएर हाम्रा केही व्यक्तिको मात्र पोषण गर्ने ? ” पहिलेका नेतृत्वले कहिल्यै लेवी उठाएको थाहा भएन । अहिलेकाले आफूले पाउन सक्ने तलव भत्ता को दोब्वर बुझेकाछन आफै विधान बनाएर । कसरी बेहोर्न लगाउने सकेका साथीहरुलाई यति ठूलो रकम ? कोरोनाले सारा शिक्षण संस्था बन्द छ , उनीहरू रकम खान छोड़्दैनन, ”हाल सम्म जति खुवायौं, खुवायौं । अब भने कम्तिमा पनि मेरो हातले यस्तो गलत काम गर्न हुन्न भन्ने लाग्यो र बरु शिक्षण पेशाबाट नै राजीनामा दिउँला” जस्तो मन भयो । एकातिर कोरोनाले गिजोलेको शरीर, अर्कोतिर स्थानीय छोटे सरकारका मनपरी शिक्षा नीति , अर्को तिर २, २ वर्ष म्याद थप भएको काम चलाउ शिक्षक संघ र उसैले निर्माण गर्ने भनिएको तर निर्माण हुन नसकेको शिक्षक महासंघको गठन प्रकृया । यी सबै कामहरु सबै फर्जी हुन जस्तो लाग्यो । अनि शिक्षक पदबाट समेत राजीनामा दिने इच्छा भयो र दिएँ पनि। आज आएर ठिक गरें जस्तो लागेको छ । किनकी ३० वर्ष सेवा पुगेका व्यक्ति कार्यरत रहनु भनेको घाटामा हिड्नु रहेछ । पाकेको धानमा पानी लगाएर बस्नु मात्र नभएर धानको पाँजामा पानी हालेर बस्नु जस्तै रहेछ । प्रथम श्रेणीमा पुगेका साथीहरू त यदि पेन्सन पाउने समय पुगेको छ भने अवकाश लिएर ग्राउण्ड खाली गर्नु अति आवश्यक पनि रहेछ । किनकी प्रथम श्रेणीको पद खाली नभएसम्म त विज्ञापन हुने स्थिति नै देखा पर्दैन । यो सबै दैलो पछि देख्ने कुराहरु रहेछन ।
जे होस, समग्रमा शिक्षण अनुभव ३४ वर्ष पुरा भएपनि बिचका करीब ९ वर्ष स्रोत व्यक्तिको रुपमा काम गर्ने अवसर पनि पाइयो । लमजुङको दुराडाँडा, मालिङ, प्यारजुङ, बाहुनडाँडा स्रोतकेन्द्र र तनहूँको शिशाघाट तथा देवघाट स्रोतकेन्द्रमा रही स्रोतकेन्द्रहरुलाई सबलीकरण गराएका दिनहरु पनि उत्तिकै महत्वपूर्ण नै रहे । कहिल्यै पनि काममा आलटाल गरिएन । शिशाघाट स्रोतकेन्द्र तनहूँलाई जिल्ला भरकै सबैभन्दा धनि स्रोतकेन्द्र र देवघाटलाई नमूना स्रोतकेन्द्र पनि बनाउन सफल हुनु पनि जीवनको एउटा मीठो पूर्वस्मृति बनेको छ । आफूले अध्यापन गरेका विषयमा विद्यालय तहमा ९० प्रतिशत देखि १०० प्रतिशतसम्म उपलब्धिहरु अझैपनि सुरक्षित छन । यसैलाई जीवनको सबैभन्दा ठूलो सम्पत्ति सम्झेको छु । अन्त्यमा शिक्षा र शिक्षण क्षेत्रमा रहेर ३४ वर्ष व्यतित गरेका दिनहरु ३४ महिना सरह बितेछन । सम्पूर्ण साथीहरु गुरुहरू, गुरुआमाहरु, विद्यार्थी भाइबहिनीहरु धन्यबादका पात्र हुनुहुन्छ ।
अस्तु
कमल भक्त पोख्रेल, पूर्व शिक्षक , तनहूँ

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?