प्रचण्डको असफल क्रान्ति र समाजवाद

  • ख-
  • ख+

(लेखक)

अजित पन्थ । विश्वमा बहुसंख्यक दार्शनिक प्रणालीहरु अस्तित्वमा रहेका छन् । ती दार्शनिक प्रणालीहरुको विवेचना गर्ने, वैज्ञानिक मुल्यांकन गर्ने र प्रत्येकको स्थान निर्धारण कसरी गर्ने भन्ने सवालहरुको जवाफ पाउन कुन दर्शन प्रणालीले दर्शनशास्त्रको आधारभूत प्रश्नहरुको समाधान कसरी गर्छ भन्ने बुझ्न जरूरी हुन्छ । हाम्रो वरिपरिको जगतलाई निल्यालेर हेर्ने हो भने दुई चीज स्पष्टताकासाथ देखिन्छ । ती हुन्ः हाम्रो नांगो आँखाले देख्ने भौतिक वस्तु र घटनाक्रमहरु, र त्यसप्रति उत्पन्न हुने हाम्रा विचारहरु जसलाई हामी आध्यात्मिक पनि भन्छौं ।

हाम्रो वरिपरिको जगतमा देखिने भौतिक वस्तु र घटनाक्रमहरु जुन हिसाबले रहेको छ त्यसलाई त्यही हिसाबले बुझ्नुपर्छ भन्ने मुल्य र मान्यता राख्नेहरु भौतिकवादभित्र पर्दछ भने त्यो भौतिक वस्तुहरुलाई ब्यक्तिगत मानसिकताको हिसाबले विचार विमर्श गर्दै बढ्नेहरु आध्यात्मिक क्षेत्र अन्तर्गत देखा पर्दछ । जस्तैः गायक राजु लामाको एउटा गीतकै उदाहरण लिउँ ….तिमिलाई देखेर हिमाल हासेको…. यो गीतमा भने जसरी हिमाल न हाँस्छ, न रुन्छ, न मानसिक विचलन नै हुन्छ किनकि यो भौतिक पदार्थ हो । त्यसको आफ्नै उभिने अस्तित्व हुन्छ । हिजो पनि त्यही थियो, आजपनि त्यही छ र भोलि पनि त्यही हुनेछ । यति हुँदाहुँदै पनि किन हामी त्यो हिमाललाई फरक फरक रुपमा देख्छौं भन्दा हामी कुन बेला कुन सोचले ग्रसित हुन्छौं । त्यसमा हिमालको फरक फरक रुप देख्ने हो । हामी दुः खिद हुँदा संसारै विरक्तिएको महसुस हुन्छ, खुसी हुँदा संसारै जिते झैं लाग्छ । यो सबै हाम्रो सोच, विचार, चिन्तन र भावनामा निर्भर हुन्छ । यसरी ब्यक्तिवादी चिन्तनबाट जगतको यथार्थ ज्ञात हुनसक्दैन् ।

तसर्थ हामी भौतिकवादी दर्शनशास्त्रका अनुयायीहरु भएको हुँदा जगतमा अस्तित्वमा रहेका बस्तु तथा घटेका घटनाक्रमहरुको अध्ययन, विश्लेषण र सश्लेषण गर्दा बस्तुनिष्ठा भएर गर्नुपर्छ नकि ब्यक्तिनिष्ठा भएर । यसो हुनसक्यो भनेमात्र जगतका विकासका नियमहरु र यी नियमहरुको बोध गर्ने तरिकाहरुको सुसंगत दृष्टिकोणहरुमा एकरुपता आई समाजको बिकास र समृद्धि हुनसक्छ । कुनै किसिमको भेदभाव, परस्पर बिरोधीको भावना, असन्तुलनको स्थिति पैदा हुँदैन् । यसको मतलब सत्यको खोजी गर्नु नै हो ।

जब सत्यको अनुभूति सबैमा हुन्छ त्यहाँ वाद र विवाद, पक्ष र विपक्ष, शक्तिशाली र कमजोर, उच्च र निच, धनी र गरिब, बलवान र दुर्बल हुँदैन् । त्यो नै वास्तवमा कार्ल मार्क्सले ऐतिहासिक भौतिकवादमा समाजको बिकासको चरणहरुमा बताए अनुरुपको अन्तिम निर्विकल्प साम्यवाद समाजमा पुग्नु हो । आज हाम्रो समाज दुई पक्षमा विभाजन भएकै बस्तुनिष्ठा सोचको बदलामा ब्यक्तिनिष्ठा सोचको उपजले गर्दा हो । जब यी बिषयहरुमा वादबाट प्रतिवाद हुँदै सम्वादको स्थितिमा पुगिन्छ तब साम्यवाद समाजको निर्माण हुन्छ ।

हिजो हामीले सिमित हक र अधिकारका निम्ति लड्यौं र २०४६ सालमा त्यो ब्यवस्था ल्याउन सफल पनि भयौं तर त्यतिले मात्र नपुगेर विभिन्न राजनीतिक घटनाक्रमहरुसँगै आज हामीले संयुक्तरुपमा कृषि क्रान्ति गर्दै यो मुलुकलाई समाजवादतर्फ डोर्याउछौं भनि २०७२ सालको संघीय संविधानमा अंकित गर्न पनि सफल भयौं ।

२०४६ सालदेखी २०७२ सालसम्म जतिपनि राजनीतिक घटनाक्रमहरु विकास र बिलुप हुँदै गए त्यो वाद प्रतिवाद हुँदै सम्वादको स्थितिबाट गुज्रेकै हो । यो नै द्धन्दात्मक भौतिकवादको पहिलो नियम हो । यसलाई सतही हिसाबले बुझ्न र बुझाउन सकिन्नँ । त्यसका लागि नवीन सोच र दृष्टिकोणको अभ्यासमा अभ्यस्त हुन जरुरी हुन्छ । अब हामीले अहिले बेहोरिरहेको र भोगिरहेको पुँजीवादबाट समाजवादमा संक्रमण गर्न त्यहाँ एक पुलको आवश्यकता देखिन्छ त्यो भनेको जनवादी क्रान्ति नै हो । किन यो आवश्यकता छ भने जब हामी काठमाडौंबाट आफू जन्मेको गाउँमा जान्छौं । त्यो बेला हामी गाउँमा पुग्दा शहरमा बसेको बानीबाट तुरुन्तै गाउँको परिवेशमा घुलमिल हुनसक्दैनौं । हामीलाई गाउँको परिवेशमा घुलमिल हुन कम्तिमा पनि एक महिना समय लाग्छ । हो, त्यस्तै पुँजीवादको बानी परेकाहरुबाट र त्यसमा अभ्यस्त भैसकेका दैनिकीहरुबाट छुट्कारा पाउन हामीले राजनीतिक, आर्थिक, सामाजिक र साँस्कृतिक रुपान्तरण गर्दै जानुपर्छ । यसरी पुँजीवादबाट समाजवादप्रति अभ्यस्त हुन र पार्न त्यसभित्र वाद, प्रतिवाद हुँदै समाजवादको सम्वादमा पुग्न जनवादी क्रान्तिको आवश्यकता हुन्छ । जनवादी क्रान्तिभित्र पुँजीवादका बानी, ब्यवहार र अवशेषहरु जिवितै रहेको हुन्छ । त्यसैले यसलाई पुँजीवादी जनवादी क्रान्ति पनि भन्ने गरिन्छ । जनवादी क्रान्तिको कार्यभार भनेकै पुँजीपतिवर्गको अस्थित्व जस्तैः पुँजीवादी बानी, ब्यवहार, संस्कार, आर्थिक असन्तुलन, सामाजिक भेदभाव आदि ईत्यादिलाई घटाउँदै समाजवादको सामुहिकताको अवधारणा बिकास गर्दै जानु हो ।

त्यसैले जनवादी क्रान्तिलाई पुँजीवादबाट र समाजवादको सम्मुखमा पुर्याउने एक पुल पनि भन्न सकिन्छ । मैले यहाँ जनवादी क्रान्तिलाई पुलको संज्ञा दिनुको मतलब पुुँजीवाद र समाजवादलाई सन्तुलनमा राख्ने भन्न खोजिएको भने हैन् । सिमित वर्गको पुँजीवाद र यिनका अवशेषहरुलाई राज्यको प्रत्येक निकाय र अंगहरुबाट घटाउँदै बहुसंख्यक जनताको समाजवादको विचार र सिद्धान्तलाई बढवा दिनु हो । त्यो विभिन्न मुलुकको परिस्थिति अनुसार फरक(फरक चरित्र बोकेको जनवादी क्रान्ति हुनसक्छ । पूर्व सोभियत संघको जनवादी क्रान्ति र चिनियाँ मोडलको जनवादी क्रान्तिको हुबहु कपी एण्ड पेष्ट नेपाली समाजमा गर्ने हो भने नतिजा हामीले सोचेको भन्दा भिन्न र फरक धारको हुनेछ । त्यसको एक ज्वालन्त उदाहरण प्रचन्ड नेतृत्वको माओवादीहरु हुन जसले हुबहु चिनियाँ जनवादी क्रान्ति नेपाली समाजमा उतार्न खोज्दा असफल भयो र अन्ततः त्यही पुँजीवादका नेपाली औंजार काँग्रेससँग संसदीय ब्यवस्थामा आफ्नो अस्तित्वको लागि भिख माग्न वाध्य हुनु पर्यो ।
जोसँग वार या पारको राजनीतिक युद्ध गर्ने प्रचन्ड आज दलालीको पाइजामा पहिरिन वाध्य भएको वर्तमान हाम्रै अगाडि प्रस्तुत छ । यो वास्तवमा नेपाली समाजको मौलिकता नबुझेर गरिएको एक असफल नमुना हो ।

(व्यास ३ सफासडक , दमौली )

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्