कृषि क्रान्ति गरि गाउँमा नै बसौं बसौं बनाउने तपाईको राजनीतिक लक्ष्यलाई समयमा मल, बिउ नपाएर छटपटाइ रहेका किसानका रोदनले गिज्जाउँदैन र नेताज्यू ?

बिशिष्ट श्री भट्टराई । स्थानीय चुनावमा गठबन्धन सहितको चुनावी परिणामबाट उत्साहित तपाई तथा राष्ट्रियता, प्रजातन्त्र र समाजवादको सिद्धान्त जप्ने नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरु फेरी गठबन्धनसहित आम निर्वाचनतर्फ केन्द्रित हुँदै हुनुहुन्छ । आखिर सत्ता प्राप्ती नै राजनैतिक दलको मुख्य अभिप्राय भएपछि अन्य सैद्धान्तिक बहस किन चाहियो र ? चुनावको टिकट बाड्ने ठाउँमा हुनुहुन्छ, टिकट लिनुस, जित्नुहोस् र अधिकतम माथिल्लो राजनैतिक पद प्राप्त गर्नु होस् धेरै धेरै शुभकामना ।
२०४८ सालदेखि तनहूँका जनताले निरन्तर तपाईलाई मत मार्फत राज्यको सार्वभौम अधिकार प्रयोग गर्ने जिम्मेवारी दिएका छन् र अझै दिनेछन् तर आजको यक्ष प्रश्न किन तपाई र तपाईका समकालिन पुस्ता राष्ट्रको राजनैतिक तथा आर्थिक स्थायित्व दिन असफल छ ? अझै नयाँ पुस्ताले कतिन्जेल राजनैतिक र आर्थिक स्थायित्वका लागी लडाई लड्नुपर्ने हो ? किन पटक पटकका परिवर्तनहरु संस्थागत हुन सकेका छैनन् ? र सायद तपाईको अन्तिम अवसर होला, तपाइ प्रधानमन्त्री, राष्ट्रपति वा अन्य पदको सपना देख्दै हुनुहुन्छ तपाईबाट जनताले के आशा राख्ने हो त ? फगत लोकतन्त्रको सैद्धान्तिक विचार ? गाउँको विकासको निरन्तरताको नारा ? कृषि क्रान्तिको सपना वा राष्ट्रियता र समाजवादको खोक्रो नारा, तपाईमार्फत हामीले जान्न चाहेका छौं कि फेरी रामचन्द्र पौडेललाई भोट किन हाल्ने ? कृपया निम्न केहि अनुत्तरित मुद्धाको जवाफ नेपाली कांग्रेसका शुभचिन्तक तथा आम तहका जनताले जान्न चाहेका छन् ।
प्रजातन्त्रका नाममा पार्टिका सिमित व्यक्तीहरुको सिन्डिकेट चल्ने अवस्था किन र कहिलेसम्म ? राष्ट्रिय राजनीतिमा दलिय गठबन्धन वा ठूला दलका सिमित नेताहरुको निर्णयमा तालि पड्काउनुपर्ने अवस्था किन आइरहेको छ ? जनमतको उपेक्षा गर्दै संविधानका प्रावधानहरु संघियता, अस्थिरता निम्त्याउने संसदीय व्यवस्था, अस्थिर अन्तराष्ट्रिय सम्बन्ध, कमजोर परराष्ट्र नीति, विवादित सन्धि, संझौताहरु तथा देशलाई नै फिजिकरणको बाटोमा डो¥याउने नागरिकता सम्बन्धि विधेयक आदि जस्ता दिर्घकालीन महत्व बोकेका मुद्धाहरुमा नेपाली कांग्रेसको वरिष्ठ नेताको हैसियतले तपाईको भुमिका के रहयो ? राष्ट्रिय महत्वका मुद्दाहरुमा वहस गर्नुस धारणा बनाउनुस् हाम्रो नेता तपाई नै हो तर तपाई पनि गुमनाम हुने हो, जनताका मुल मुद्दामा सर्वोपरि हित हुने विषयलाई तार्किक निश्कर्षमा पु¥याउन नसक्ने हो भने अब तपाइको औचित्य सकिएन र ?

हाम्रो समस्या नेपाललाई हेर्ने नेहेरुकालिन भारतीय मानसिकता र त्यसको निरन्तरता होईन र ? भुपरिवेष्ठित तथा अन्य संवेदनशील भु–राजनीतिक अवस्था र यसको असर औपनिवेशिक चिन्तनबाट नेपालको राजनीति, व्यापार, परराष्ट्र नीति, र समग्र अर्थतन्त्र ग्रसित छैन र ? आफ्ना तुलनात्मक लाभका क्षेत्रहरु कृषि र जलविद्युत पर्यटन किन दिन प्रतिदिन खस्कँदै गईरहेका छन् ? दैनिक जिविकोपार्जनका उपभोग्य वस्तुहरुको आयात वार्षिक बढ्दो क्रम तथा आन्तरिक उत्पादन र उत्पादकत्व घट्दो क्रम किन ? पक्कै पनि हाम्रो व्यहारले व्यापार र नाका विविधिकरण गर्न सकेनौ । सिमानामा हुने कर र गैरकर जन्य अवरोधहरुले सिँगो राजनीति, अर्थनीति, परराष्ट्रनीति र व्यापार तरङ्गीत बनाएको छ । यसको समाधान मित्रराष्ट्र वा छिमेकी मुलुकहरुसँग लम्पसारवाद पक्कै होइन ।

करिब एक शताब्दी अगाडीदेखि हामी राजनैतिक स्थायित्व र स्वतन्त्रताका निम्ती लडाइमा छौ । पटक पटक छिमेकी राष्ट्रको उक्साहटमा कहिले राणा, कहिले राजा, कहिले कांग्रेस, कहिले माओवादी, कहिले अन्य कम्युनिष्ट घटक, कहिले विखण्डनवादी नाराका नाउँमा अस्थिरता र अराजकताले सिंगो राष्ट्र नै असफल राष्ट्रका नाउँमा परिणत भएको तितो यथार्थ हामी सर्वसाधारणले त छर्लङ्ग बुझेका छौं, तपाइहरुजस्ता वरिष्ठ नेताहरुले नबुझ्ने कुरा भएन । के यो असफलताको जिम्मा तपाई र तपाईको राजनैतिक पुस्तालाई जाँदैन ?

२०४८ देखि तपाई पनि नेपालको राजनैतिक परिघटनाको मियोमा बसेर काम गर्दै हुनुहुन्छ जिम्मेवारी बोध हुन्छ कि हुँदैन ? यति लेख्दै र भन्दै गर्दा असफलताको दोष तपाईमाथी मात्र खन्याउन खोजेको होइन तर यी तमाम बेथिति विरुद्ध , दमन विरुद्धको नेतृत्व लिएर खुल्ला रुपमा तपाई किन अगाडी बढ्न नसक्ने ? र के का लागि अब तपाईको उम्मेदवारी ? (पद, शक्ति, प्रतिष्ठा ? ) हामीलाई नेता होईन नेतृत्व चाहिएको हो ।

नीति र बोलीमा यदाकदा समाजवादको नारा र चिन्तन, कृषि क्रान्तिका कुरा, गाउँमा बसौं बसौं बनाउन राजनीतिमा लागेको उद्घोष, २०४८ सालदेखि तपाईको चुनावी मुद्दाहरु रहेका छन् जुन म र मेरो पुस्ताको बाल मष्तिस्कदेखि हालसम्म छचल्कीरहेको छ ।
मैले २०४८ सालका चुनावी पम्प्रेटहरुमा देख्थे र आफैलाई प्रश्न गर्थे के हो गाउँमा बसौं बसौं बनाउन राजनीतिमा लागेको भनेको ? पारिवारिक कांग्रेसी माहोल, पञ्चायती शासन विरुद्धका आन्दोलनहरुमा पार्टी गतिविधि तथा नेताहरुको सुरक्षित आश्रयस्थलका कारणले होला मेरो राजनीतिक चेतना घर परिवारबाट सुरु भएको । आज ग्राम्रीण अर्थशास्त्री तथा अनुसन्धानकर्ताका कारण मैले बुझेको समाजवाद ग्रामीण विकास, कृषि क्रान्ति र तपाईका राजनैतिक समाजवादी दर्शन, गाउँको विकास र आकर्षण, कृषि क्रान्तिमा त तादाम्यता देखिदैन त ? सामाजिक, आर्थिक पद्धतीले खडा गरेको गरिबी, अशिक्षा, अज्ञानता, असमानता, भेदभाव, शोषण र अन्यायको अन्त्य गर्ने लक्ष्यसहित आम जनतामा भातृत्व, सहकारीता, स्वाभिमान, आत्मसम्मान कायम गर्ने अवस्था समाजवाद होइन र ? के यो व्यक्तिवाद विरुद्धको अवधारणा र दर्शन होइन र ? पचासौं लाख युवा जनशक्ति वैदेशिक रोजगारीमा कामदारका रुपमा पठाएर राष्ट्रिय अर्थतन्त्र धानिएको तितो यथार्य त छँदैछ, पुलिस, प्रशासन, अदालतभित्रको राजनीति तथा राज्यका केन्द्रदेखि तल्लो स्थानीय निकायसम्म भ्रष्टाचार संस्थागत बनाउनमा के तपाई र तपाईको राजनैतिक पुस्ता जिम्मेवार छैन र ?

सिमित व्यापारिक घरानाहरुमा अर्थतन्त्रको चाबि बुझाएर उनीहरुको ईशारामा राष्ट्रको सम्पत्ति ब्रम्हलुट गर्दै कमिशन खाने, ठुला ठुला आयोजना भनि प्रचार गदै अर्बौको रकम नितिगत भ्रष्टाचार गर्ने, कर छुटका नाममा देशलाई कंगाल बनाउदै अर्बौको रकम बिदेशमा लगानी गर्ने, बिदेशेी बैकमा थन्क्याउने प्रवृत्तिले तपाईहरुको समाजवाद नागिंएन र ?

राष्ट्रियताका नाउँमा विदेशी स्वार्थ समुह, शक्ति राष्ट्रहरुसँगको लम्पसारवाद छताछुल्ल छ । एमसिसि लगायत विभिन्न कालखण्डमा गरिएका सन्धि सम्झौताहरु जिवन्त छन् । पछिल्लो समय विवादित नागरिकता सम्बन्धि विद्ययेकले लगायत तपाईहरुको सोच, शैली र झुकावले के देशको शिर ठाडो पारेको छ त ?
भुराजनैतिक अवस्था र हाम्रो परिवेशमा के हामीले सन्तुलित परराष्ट्र नीति अंगिकार गरेका छौं त ? आर्थिक कुटनीतिलाई प्रवद्र्धन गर्न छिमेकी राष्ट्रहरुको जायज चासोलाई ख्याल गर्न सकेका छौ त ? वि.पि.को राष्ट्रिय मेलमिलापको नीतिको मुलभूत उद्देश्य आम राष्ट्रिय एकता र सन्तुलित परराष्ट्र नीतिविना हाम्रो राष्ट्रियता दरो र दिगो बन्ला र ? व्यापार र नाकाको विविधीकरण नगरी राष्ट्रिय अर्थतन्त्र सवल बन्ला र ? तर खोई त नेताज्यू तपाई र तपाईको पार्टि सञ्चालन गर्ने सिमित वरिष्ठ नेताहरुको सोचाई र त्यसको कार्यान्वयन ?

तरल राजनीतिक अवस्था, वैदेशिक स्वार्थ समुहको प्रभावका विच संविधान त जारी भयो, संविधानमा देखिएका कमजोरीहरु विशेष गरेर अस्थिरता निम्त्याउने निर्वाचन प्रणाली, शासकिय स्वरुप लगातका जायज जनचासो र सरोकारका विषयमा संविधान संशोधन गर्नु पर्दैन र नेताज्यू ?
यो संघीयता लामो समयसम्म राज्यले धान्न सक्ला ? अस्थिर सरकारको परिकल्पना भएको शासकीय स्वरुपले राजनैतिक तथा आर्थिक स्थायित्व देला त ? जनतालाई चित्त बुझ्दो जवाफ र मुद्दा नलिई गठबन्धनको नाममा पार्टीको सिद्धान्त र आदर्श भुलेर सत्ता प्राप्तिको सोच बनाएर मात्र नेपाली कांग्रेस चुनावमा जाने हो त नेताज्यू ?

हामी जनताले राज्यलाई अझ तीन तहको सरकारहरुलाई कर तिरेका छौं । सबै तहमा संस्थागत भ्रष्टाचार छताछुल्ल भएको छ । शिक्षा, स्वास्थ्य जस्ता संवेदनशिल न्युनतम आधारभूत आवश्यकता पूर्ति गर्ते सार्वजनिक क्षेत्रमा जन विश्वास शुन्य छ । निजि क्षेत्रले व्रह्मलुट मच्चाएका छन् । खुल्ला बजार अर्थानीतिमा राज्य नियामक निकाय होइन र नेताज्यु ? बजारमा देखिएका नीजिक्षेत्रको विसंगति , एकाधिकारहरुलाई राज्यले अंकुश लगाउनै नसक्ने गरि कमजोर भएको हो र नेताज्यु ? कि तपाई र तपाईका पुस्ताहरुको फेरिएको जीवनशैली (नवसामन्तवाद) टुलटुल हेरेर हामीले चित्त बुझाउने हो ?

कृषिको उन्नती कुनै पनि विकासशिल देशको आर्थिक वृद्धि र विकासको हतियार हो । विश्वका कुनै पनि देशहरुको प्रगतिको आधार, टेको कृषिको रुपान्तरणवाटै शुरु भएको छ । हरेक निर्वाचनमा पार्टीका घोषणा पत्रहरुमा प्राथमिकताका साथ कृषि विकासका नारा छन् । कृषि विकासका न्युनतम आधार सिंचाइ, मल, प्रविधि र बजारीकरणमा राज्यको लगानी, दिर्घकालीन सोच र कार्ययोजनाको उपलब्धी के भयो त ?

कृषि क्रान्ति गरि गाउँमा नै बसौं बसौं बनाउने तपाईको राजनीतिक लक्ष्यलाई समयमा मल, बिउ नपाएर छटपटाइ रहेका किसानका रोदनले गिज्जाउँदैन र नेता ज्यु ? उत्पादित कृषि उपज बिक्री नभएर सडकमा फालिएका दृश्यले, समयमा भुक्तानी नपाएर आन्दोलित किसानको आक्रोशले तथा कौडीको भाउमा बेचिएको कृषि उपजमा विचौलियाको रजगजले समाजवादले गिज्याउँदैन र नेताज्यु ?

फेरि पनि भन्छु समस्या छ, समाधानका उपाय छन् तर दिनप्रति दिन किन यिनै समस्याहरु गम्भीर बन्दै छन् ? हामी आमसर्वसाधरणले पटक पटक आन्दोलन र चुनाव मार्फत अधिकार दिएर पठाएका थियौं तपाई र तपाईको राजनैतिक नेतृत्वको पुस्तालाई सुशासन, विकास सम्भव होस् , समाजमा स्वतन्त्र भएर, आत्मसम्मानयुक्त जीवन जीउन सक्ने नीति नियम बनोस्, कार्यान्वयन होस् भनेर खोई त नेताज्यू प्रतिष्ठापूर्वक बाच्ने आमजनताको रहर ? के अझै दोष जनतामा नै छ र ? के हाम्रो अभिमतमा त्यो शक्ति स्खलित थियो जसले तपाईहरुलाई कानुनी शासन, सुशासन, जवाफदेहिता, स्वतन्त्रता संस्थागत गर्न बाधा पु¥याएको थियो ? ल भन्नुस फेरि तपाई र तपाइको यो असफल पुस्तालाई भोट दिएर हामीले के आशा गर्ने ?

अन्त्यमा तपाईका नाति वा नाति पुस्तालाई के जवाफ दिनुहुन्छ नेताज्यु राष्ट्रियता, प्रजातन्त्र र समाजवाद र बिकासको सम्द्रद्धनमा तपाई वा तपाईको पुस्ताको भुमिका बारे ? यहि बेथिति , विसंगति, दलालतन्त्र, माफियातन्त्रलाई नै प्रजातन्त्र । लोकतन्त्र भन्ने हो र ? अर्धऔपनिवेशिक चिन्तन, लम्पसारवाद नै राष्ट्रियता जगेर्ना गर्ने आधार हो भनेर सिकाउने हो र ? यहि नवसामन्तवाद, लुटतन्त्र, कमिशनतन्त्रले नेता, दलाल र गुण्डाहरुको फेरिएको जिवनशैलीलाई समाजवाद भन्ने हो र ? बिकासका नाउँमा अल्पकालिन सोच, भ्रष्टाचार , महंगी र कमिशनतन्त्रले थिलोथिलो पारेको जनजिवनलाई गुणस्तरिय जिवनशैली मान्ने हो र नातिपुस्ताले ?

यदि माथि उल्लेखित मुद्धाहरुको सम्बोधन हुदैन भने तपाई र तपाईका पुस्ताले आराम गर्नुस् देशले थिति खोजेको छ । राजनैतिक आर्थिक स्थायित्व खोजेको छ । तपाईहरुको पदलोलुपता, अर्कमण्यताको शिकार अब नयाँ पुस्ता कति बन्ने ? हामीलाई नेता होईन नेतृत्व चाहिएको छ ।


( लेखकका लेखकका निजी बिचार )

( लेखक: बिशिष्ट श्री भट्टराई, उप प्राध्यापक, त्रिचन्द्र बहुमुखी क्याम्पस, घण्टाघर, काठमाण्डौ ।)

अन्तिम पटक अध्यावधिक गरिएको 1332 Viewed

प्रतिक्रिया दिनुहोस्