तनहूँमा छ नेपालको सबैभन्दा अग्लो झोलुङ्गे पुल

  • ख-
  • ख+

बाबुराम नेपाली । आँबुखैरेनी, तनहूँ । मानिस घुमन्ते प्राणी हो । जङ्गलमा घुमेर शिकार गरेर खाने क्रममा श्रोत र साधनको कमी भएपछी मानिसहरू नयाँ ठाउँ खोज्दै जान थाले । यस क्रममा ठुला ठुला खोला नदी पार गर्नुपर्ने भयो । पौडेर, काठको मुढामाथी बसेर यात्रा गर्दै जाँदा डुङ्गाको आविस्कार भयो । डुङ्गा चलाउन असहज खोलाहरुमा रुख ढालेर फड्के बनाएर तर्न थालियो । पछि त्यसैलाई बिकसित गरेर पुल बनाउन थालियो, त्यसरी स्थनिय जनशक्तिको सीप प्रयोग गरेर बनाइएका पुलहरु जुम्लामा अहिले पनि देखिन्छ ।

हाम्रो गण्डकी प्रदेशको तनहूँमा स्थानिय जनशक्ति, श्रम, सीप र ढोरफिर्दीको खानीको फलाम प्रयोग गरेर बनाइएको सबैभन्दा पुरानो झोलुङ्गे पुल भिमाद पुल अहिले जिर्ण अवस्थामा छ । यो गर्विलो इतिहासको संरक्षण गर्ने दायित्व हाम्रो पनि हो ।

झोलुङ्गे पुलको विषयमा तनहूँ जिल्लामा अर्को एउटा गर्व गर्न लायक संरचना बनेको छ । आँवुखैरेनी गाउँपलिका वडा नं १ को दुई गाउँ समस्तिपुर र यान्चोक जोड्ने झोलुङ्गे पुल नेपालकै सबैभन्दा अग्लो झोलुङ्गे पुल हो । २०७७ सालमा निर्माण सम्पन्न यो पुल पृथ्वी राजमार्गको बरादी पुलबाट देख्न सकिन्छ ।

वडा नं १ का बर्तमान वडाध्यक्ष प्रेम बहादुर गुरुङका अनुसार स्थानिय नेकपा माओवादी पार्टीको पहलमा गण्डकी प्रदेश सरकारले डेढ करोड बजेटमा यो पुल निर्माण भएको हो ।
यस पुलको निर्माण भएपछी यान्चोक तथा समस्तिपुरका बासिन्दाहरुलाई आवत जावत गर्न लाग्ने करीब १ घण्टाको समय बचत भएको छ । बि. सं. २०१२ सालमा बर्तमान पुलको पश्चिमतर्फको छेउमा सुर्योदय प्राथमिक विद्यालय स्थापना गरियो ।

समस्तिपुरबाट १ किलोमीटरभन्दा कम सीधा दुरी भएको समस्तिपुरबाट यस स्कुलमा विद्यार्थी आउन सकेनन् किनकी यसको लागि करीब ५ किलोमीटर अप्ठ्यारो बाटो हिँड्नु पर्थ्यो र बाटोमा खुँदी खोला पर्दथ्यो । वर्षायाममा बयस्कहरु पनि तर्न नसक्ने सो खोला तरेर स्कुल आउनु बच्चाहरूलाई असम्भव थियो । सुर्योदय प्राथमिक विद्यालय स्थापना भएको १९ वर्षपछि बि. सं. २०३१ सालमा समस्तीपुरमा चन्द्रोदय प्राथमिक विद्यालयको स्थापना गरियो जुन सीधा दुरीमा सुर्योदयबाट १ किलोमिटर भन्दा कम दुरीमा छ । सुर्योदयमा अध्ययन गर्नु भएको तत्कालिन विद्यार्थी निर्मला थापा बिगतका रमाइला दिनहरुको स्मरण गर्दै भन्नुहुन्छ ”हामी सुर्योदयमा अध्ययन गर्दा टिफिन ब्रेकमा अहिले पुलको पस्चिमको छेउमा आएर समस्तिपुरमा घाँस दाउरा गर्न आउनेहरुलाई बोलाउँथ्यौं ,उनीहरुले पनि हामीलाई जिस्क्याउँथे । वारिपारी बसेर बाझाबाझ गरिन्थ्यो । बोलेको सुनिने तर तुरुन्तै आउन नसकिने हुनाले हामी मुखमा जे आयो त्यही बोल्न स्वतन्त्र थियौं ।”

तत्कालीन समयमा त्यो पुल बनेको भए दुई गाउँका बासिन्दाहरुलाई निकै लाभदायक हुन्थ्यो । अहिले यो पुल निर्माण सम्पन्न हुँदासम्म धेरै कुराहरु परिवर्तन भैसकेको छ । सुर्योदय आधारभुत विद्यालय यान्चोकटारमा सारिएको छ , लगभग साठी घरधुरी रहेको यान्चोक गाउँमा अहिले दर्जन वरिपरि घरधुरी बाँकी रहेका छन् । तथापि पुल बनिसकेपछी स्थानियबासीहरु उत्साहित भएका छन् । सुनसान रहने बरडाँडा समस्तिपुरमा चहलपहल शुरु भएको छ । दैनिक जसो मानिसहरु पुल हेर्न र तर्न र फोटो खिच्न तथा टिकटक बनाउनको लागि आउँछन् र कतिपय व्यक्तिहरु त उचाई को कारणले कहाली लागेर तर्न नसकेर हेरेर मात्रै फर्किन्छ्न ।

स्थानिय मीन बहादुर खनालका अनुसार ”पुल बन्नासाथ समस्तिपुरका स्थानियबासीहरु घाँस दाउरा तथा खर बाबियोको लागि यान्चोक तर्फ जान थालेका छन् । युगौंसम्म भौगोलिक रुपमा टाढा जस्तो लाग्ने यान्चोक र समस्तिपुर अब पाँच मिनेटको बाटो भएको छ ।”

२०७७ सालमा निर्माण सम्पन्न गरिएको यो म् त्थ्एभ् पुलको भारवहन क्षमता ६६ टन रहेको छ । यस पुलले ४७५ जना मानिसहरुको भार बहन गर्न सक्छ । २२० मिटर लामो यो पुलको उचाई २७५ मिटर रहेको छ । समुन्द्र सतहबाट ७१८ मिटर उचाईमा रहेको यो पुलबाट दक्षिण तर्फ भारतको सिमाना ५६ किलोमीटर तथा उत्तर चीनको सिमाना ९७ किलोमीटर टाढा पर्दछ । नेपालको सबैभन्दा अग्लो मानिएको कालीगण्डकी नदी माथी रहेको बागलुङ र कुश्मा जोड्ने Gandaki Golden Bridge नदीको पानीको सतहबाट १२२ मिटर माथी रहेको छ भने दोब्बर भन्दा बढी उचाई रहेको यो पुलको तथ्यांकलाई विश्वव्यापी खोज यन्त्र गुगल तथा विकिपिडियामा अपडेट नगरिनुलाई स्थानिय तथा प्रदेश सरकारको नलायकीपन भन्नू अनुचित नहोला ।

अहिले यो पुलको दुवैतर्फ किनारामा सुविधासम्पन्न रेस्टुरेन्ट तथा लज खुलेका छन् । यो स्थान रोमान्चकारी मात्र नभई प्राकृतिक रुपमा पनि अति रमणीय छ । यहाँबाट पुर्वतर्फ देखिने मर्स्याङ्दी जलविद्युत परियोजनाको सरोवरको साथै मनकामना तथा गोरखाको दृश्य साँच्चै नै मनमोहक छ । यो स्थान बन्जी जम्प गर्नको लागि अति उपयुक्त रहेको छ । यहाँका पहराहरुमा रक क्लाइम्बिङ्ग गराउन सके साहसिक पर्यटनको अति उत्तम स्थान बन्न सक्ने सम्भावना छ । यसको दुई तर्फ छिम्केश्वरी र आँदीमुल रहेका छन् जुन पर्यटकिय गन्तव्यमा सुचीकृत छन् । बन्दीपुर, आँदीमुल र छिम्केश्वरीलाई जोड्ने पदमार्ग बनाएर यो पुललाई सो पदमार्गमा पार्न सकियो भने एउटा उत्कृष्ट पर्यटकीय गन्तव्य बन्ने सम्भावना छ । यस पुलको दायाँबायाँ रहेका यान्चोक, रानागाउँ, भङेरी तथा समस्तिपुर संस्कृतिका धनी गाउँहरु हुन् । यीनीहरुलाई जोडेर एउटा सांस्कृतिक केन्द्र स्थापना गरि होमस्टे सन्चालन गर्न सकिने सम्भावना रहेको यो क्षेत्रमा बृहत पर्यटकीय परियोजना ल्याउन जरुरी रहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?