नेपालमा यो हिउँदयाम अघिल्लो वर्षको हिउँदको तुलनामा धेरै सुक्खा भएपछि त्यसको प्रत्यक्ष असर विद्युत् उत्पादनमा परेको अधिकारीहरूले बताएका छन्।
नेपालका धेरैजसो जलविद्युत् आयोजना नदीको जलप्रवाहमा आधारित रहेका पृष्ठभूमिमा हिउँदे वर्षा नहुँदा यसपालि नदीहरूमा जल सतह निकै घटेको छ।
नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङका अनुसार विगतमा जति हिउँ परेन भने विद्युत् उत्पादनको हिसाबले चैत(वैशाखमा झन् गाह्रो हुनसक्छ।
उत्पादनको अवस्था के छ ?
गत वर्षको पुस र माघ महिनाको तुलनामा अहिले २० प्रतिशतले कम बिजुली उत्पादन भइरहेको प्राधिकरणले जनाएको छ।
“हाम्रो मात्रै होइन, निजी क्षेत्रबाट हुने विद्युत् उत्पादनको अवस्था पनि त्यस्तै छ। २० प्रतिशत कम उत्पादन हुनु भनेको हाम्रो लागि धेरै नै कम हो,” घिसिङले भने।
निजी क्षेत्र र प्राधिकरणको गरी गत वर्षको यही अवधिको तुलनामा अहिले २०० देखि २५० मेगावाट घटेको उनी बताउँछन्।
“निजी क्षेत्रबाट पोहोरभन्दा ३०० मेगावाट बिजुली थपिएपछि कम्तीमा १२० मेगावाट हुनुपर्ने हो। तर त्यस्तो भएको छैन,” प्रबन्ध निर्देशक घिसिङले थपे।
गत वर्ष माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाबाट हिउँदको यही समयमा ११० मेगावाट जति उत्पादन हुने गरेकोमा अहिले ८० मेगावाटमा झरेको छ।
त्यो भनेको ४५६ मेगावाट क्षमता भएको आयोजनाले औसतमा दिनभरि ८० मेगावाट मात्र उत्पादन गरिरहेको छ।
“कालीगण्डकी आयोजनाको क्षमता १४४ मेगावाट रहेकोमा अहिले ४० मेगावाट मात्रै उत्पादन भइरहेको छ। समग्रमा एक तिहाइ उत्पादन भएको छ। त्यो भनेको धेरै नै कटौती हो,” बिजुली उत्पादनमा सुक्खा हिउँदको असरबारे उनले भने।
प्रबन्ध निर्देशक घिसिङका अनुसार हिमनदी रहेका केही ठाउँका आयोजनाको उत्पादन कुल क्षमताको ३५ प्रतिशत जति भए पनि समग्रमा ३० प्रतिशत मात्रै रहेको छ। (बिबिसि)








