यस्तो छ सम्बन्ध विच्छेदको कानुनी प्रक्रिया

  • ख-
  • ख+

सुसन चौधरी । कुनै विवाहित जोडी सँगै बस्न नसक्ने भएपछि सम्बन्ध विच्छेद गर्ने गर्छन्।

तर धेरैलाई सम्बन्ध विच्छेदको प्रक्रिया थाहा नहुन सक्छ।

कुन/कुन अवस्थामा श्रीमान(श्रीमतीले सम्बन्ध विच्छेद गर्न मिल्छ, अंशबण्डा के आधारमा हुन्छ, सन्तानमा कसको बढी हक लाग्छ, आदिबारे बुझ्न हामीले अधिवक्ता शशी बस्नेतसँग कुराकानी गरेका छौं।

नेपालको कानुन अनुसार सम्बन्ध विच्छेद गर्ने आधार के/के हुन् ?

नेपालको कानुनले डिभोर्स गर्नको लागि महिला र पुरूषको लागि छुट्टाछुट्टै आधारहरू तोकिदिएको छ। पुरूषले डिभोर्स गर्न चाहेमा निवेदनमा महिलाको कारण डिभोर्स गर्न चाहेको भनेर उल्लेख गर्नुपर्छ।

पतिले तीन आधारमा डिभोर्सको निवेदन दर्ता गर्न मिल्छ।

पहिलो आधार, श्रीमतीले श्रीमानको मन्जुरीबिना तीन वर्ष वा बढी समय छुट्टिएर बसेको छ भने पुरूषले डिभोर्सको लागि आवेदन दिन सक्छन्।

दोस्रो आधार, श्रीमतीले श्रीमानलाई खान लाउन नदिएर घरबाट निकालिदिएको, वा अंगभंग हुने गरी कुटपिट गरेको, मानसिक र शारीरिक तनाव दिने गरेको पुष्टि भएमा सम्बन्ध विच्छेद गर्न पाउँछ। साथै श्रीमतीले परपुरूषसँग शारीरिक सम्बन्ध राखेको ठहरिएमा पनि पुरूषले डिभोर्सको लागि पहल गर्न मिल्छ।

यसैगरी श्रीमतीले सम्बन्ध विच्छेद गर्ने आधार पनि छन्। ती आधार देखाएर सम्बन्ध विच्छेदको निवेदन दिन सक्छन्।

पहिलो आधार, श्रीमान/श्रीमतीबीच अंशबण्डा नभई श्रीमानको मञ्जुरीबिना तीन वर्ष वा बढी अवधिदेखि छुट्टिएर बसेको भए महिलाले सम्बन्ध विच्छेदको निवेदन दिन पाउँछन्।

दोस्रो, श्रीमानले अंगभंग हुने गरी कुटपिट गरी मानसिक तनाव सृजना हुने गतिविधि गरेमा ‍वा खाना लाउन नदिएर घरबाट निकालिदिएको अवस्थामा वा श्रीमानले बहुविवाह गरेको अवस्थामा महिलाले सम्बन्ध विच्छेदको कानुनी प्रक्रिया अघि बढाउन सक्छन्।

तेस्रो, श्रीमानले परस्त्रीसँग शारीरिक सम्पर्क राखेको ठहरिएमा पनि महिलाले डिभोर्सको लागि निवेदन दर्ता गर्न मिल्छ।

चौंथो, श्रीमानले श्रीमतीलाई बलात्कार गरेको पाइएमा पनि महिलाले सम्बन्ध विच्छेदको लागि मुद्दा दर्ता गर्न पाउने आधार हुन्छ।

सम्बन्ध विच्छेद अदालती प्रक्रिया कस्तो हुन्छ ?

विवाहित महिला वा पुरूषले डिभोर्स गर्न चाहेमा सम्बन्धित जिल्ला अदालतमा गएर निवेदन दिन मिल्छ। जसलाई फिरादपत्र भनिन्छ। श्रीमान वा श्रीमती जो कोहीले मुद्दा दर्ता गरेपछि अर्को पक्षलाई अदालतले जानकारी गराउँछ। यस्तो जानकारी पाएपछि अर्को पक्षले फिरादपत्रको प्रतिउत्तर दर्ता गर्नुपर्छ। त्यसपछि बल्ल सो मुद्दाको अदालती प्रक्रिया सुरू हुन्छ।

कति समयभित्र डिभोर्सको कागजी कामकाज सकिन्छ ?

श्रीमान(श्रीमतीले सहमतिमा डिभोर्स गर्न चाहे भने दुई-तीन दिनमा सबै काम-प्रक्रिया सकिन्छ। त्यसको लागि दम्पतीबीच अगाडि नै सम्पत्तिको बाँडफाँट, बच्चा छ भने उसको पालनपोषणबारे छलफल र सहमति हुनुपर्छ।

एउटा पक्षले डिभोर्सको माग गरेको तर अर्को पक्ष सम्बन्ध विच्छेद गर्न राजी नभएमा अदालतले मेलमिलापको लागि पठाउन सक्छ।

त्यस्तो अवस्थामा डिभोर्स गर्न चाहेको आधार हेरी थप प्रमाण संकलन गर्नुपर्छ। सहमतिमा डिभोर्स फाइल गरेको हैन भने प्रमाण जुटाउनदेखि पुष्टि गर्नुपर्ने हुन्छ। त्यस्तो अवस्थामा छुट्टापत्रको काम सकिन कम्तीमा एक वर्ष वा बढी लाग्छ।

सम्पत्ति बाँडफाँट कसरी हुन्छ ?

महिलाले श्रीमानलाई खाना नदिएर घरबाट निकालिदिएको अवस्थामा, महिलाले अरू परपुरूषसँग शारीरिक सम्पर्क राखेको ठहरिएमा, वा मानसिक यातना दिएको पुष्टि भएमा पतिले पत्नीलाई अंश नदिनुपर्ने व्यवस्था छ।

तर पत्नीले सम्बन्ध विच्छेदको निवेदन दर्ता गर्दा पतिबाट सम्पत्ति पाऊँ भनी माग राखेको छ भने पतिले आधा सम्पत्ति पत्नीलाई दिनुपर्ने कानुनी व्यवस्था छ।

श्रीमानले आफ्नो पैत्तृक सम्पति नलिएको भएमा अंशियारलाई बोलाएर श्रीमानको नाममा अंशबण्डा गरिन्छ। अनि पतिको भागमा आएको अंशको आधा भाग श्रीमतीलाई दिनुपर्छ।

सन्तान छन् भने सो अंश सन्तानमा पनि बाँडिन्छ। पति/पत्नीको नाममा रहेको सगोलको सम्पत्ति पनि सम्बन्ध विच्छेद गर्दा बराबरी रूपमा बाँडफाँट हुन्छ।

सम्बन्ध विच्छेद गर्दा सन्तानमा कसको बढी हक लाग्छ ?

पाँच वर्षभन्दा मुनिको नाबालक छ भने सन्तानको जिम्मा आमाले पाउँछिन्। यस्तो अवस्थामा श्रीमतीले दोस्रो विवाह गरेको भए पनि सन्तानमा उनको हक बढी लाग्ने कानुनी प्रावधान छ। पाँच वर्षभन्दा माथि र दस वर्षभन्दा कम उमेरको सन्तान छ भने आमाले चाहेको खण्डमा वा दोस्रो विवाह नगरेको भएमा सन्तान आमाको जिम्मामा बस्ने कानुनमा लेखिएको छ।

तर दस वर्षभन्दा माथि उमेरको बच्चा छ भने ऊ कोसँग बस्न चाहन्छ भनेर अदालतले बुझ्नुपर्छ।

यसरी बच्चाको जिम्मा लिनेले सन्तानको पालनपोषण, शिक्षा, स्वास्थको पनि जिम्मेवारी लिनुपर्छ। जिम्मा लिने पक्षको आर्थिक अवस्था कमजोर भएमा मात्र अर्को पक्षले शिक्षा, भरणपोषणको जिम्मा लिनुपर्ने हुन्छ।

विदेशमा बसेर सम्बन्ध विच्छेदका लागि आवेदन दिन मिल्छ ?

सम्बन्ध विच्छेद गर्दा दुवै पक्ष अदालतमा उपस्थित हुनुपर्ने हुन्छ। तर दुई जनामध्ये एक जना विदेशमा छन् भने विदेशमा हुने पक्षले सम्बन्धित देशको दूतावासमार्फत् डिभोर्सको निवेदन नेपाल पठाउन मिल्छ।

अधिकृत वारिसनामा कागजहरू बनाएर दूतावासमा पेश गर्न सकिन्छ। आफ्नो तर्फबाट मुद्दा हेरिदिने व्यक्तिलाई अधिकृत वारेस भनिन्छ। दूतावासमा कागजहरू पेश गर्दा कारण सम्बन्ध विच्छेद गर्न चाहेको वा मेलमिलाप गर्न चाहेको कुरा खुलाएर नेपाल पठाएपछि यहाँबाट अधिकृत वारेसले ती कागजका आधारमा अदालतबाट तारिख लिन मिल्छ। यसरी विदेशमा बसेका व्यक्तिले नेपालमा डिभोर्सको प्रक्रिया अगाडि बढाउन मिल्छ।

कस्तो व्यक्तिले सम्बन्ध विच्छेद गर्न मिल्छ ?

सबै सम्बन्ध राम्रो र सुमधुर हुन्छ भन्ने हुँदैन। दुई व्यक्ति असल भएर पनि सम्बन्ध राम्रो नहुन सक्छ। कतिपय सम्बन्ध धेरै यातनापूर्ण, पीडादायी हुन सक्छ जसकारण परिवारमा नकारात्मक वातावरण सृजना हुन्छ। पति-पत्नीको सम्बन्ध निकै नराम्रो भएको खण्डमा कुनै एक पक्षले माथि उल्लेख गरिएको कारणलाई आधार बनाएर डिभोर्सको निवेदन दर्ता गर्न मिल्छ। साथै सम्बन्ध विच्छेदसित आउने अंशबण्डा, सन्तानको रेखदेखबारे जिम्मेवारी बहन गर्न तयार हुनुपर्छ।

सम्बन्ध विच्छेद गरेपछि पुनः विवाह गर्न मिल्छ ?

सम्बन्ध विच्छेद गरेपछि पुनः अर्को विवाह गर्न मिल्छ। सम्बन्ध विच्छेद गरेपछि निजले सम्बन्धित गाउँपालिका वा नगरपालिकाबाट अविवाहित भएको सिफारिस बनाउनु पर्छ। सिफारिस बनाउँदा पछिल्लो सम्बन्ध विच्छेद हुँदा भएको फैसला पेश गर्नुपर्छ। अनि बल्ल दोस्रो विवाहको लागि प्रक्रिया अगाडि बढ्छ। (सेतोपाटी)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्