सियोदेखि टुथपिक किन्दा नेपालबाट बाहिरिन्छ करोडौं रुपैया

  • ख-
  • ख+

काठमाडौं । अर्थतन्त्रको मुख्य क्षेत्रमा उत्पादन पर्छ । कुनै पनि मुलुकको अर्थतन्त्र उत्पादन बिना सुदृढ हुने अवस्था रहँदैन । अझ निरन्तर ठूलो व्यापार घाटा बेहोरिरहेको रहेको हाम्रोजस्तो मुलुकले उत्पादनमूलक अर्थव्यवस्थामा जोड दिनु अतिआवश्यक हुन्छ । तर हेर्दा सामान्य लाग्ने वस्तुसमेत आयात गरेर उपभोग गर्नुपर्ने अवस्थाले मुलुकको उत्पादन क्षमता र स्तर एकदमै कमजोर रहेको पुष्टि भइरहेको छ ।

भन्सार विभागले पछिल्लो समय सार्वजनिक गरेको आयात निर्यातको विवरणअनुसार मुलुकमा सामान्य प्रविधि र कच्चा पदार्थ प्रयोगमा उत्पादन हुने वस्तुसमेत ठूलो मात्रामा आयात भएको देखिन्छ ।
पछिल्लो समय विभागले सार्वजनिक गरेको तथ्याङ्कानुसार गत आर्थिक वर्षमा १ करोडभन्दा बढी मूल्यको दाँत कोट्याउने सिन्को (टुथपिक) आयात भएको देखिन्छ ।

विभागका अनुसार गत आवमा एक करोड १३ लाख ३७ हजार मूल्य बराबरको दाँत कोट्याउने सिन्को आयात भएको छ । बाँस र काठबाट बनेको यस्तो सिन्का मुख्यतया चीनबाट भित्रिने गरेको ।

त्यस्तै करिब एक करोड बराबरको कपडा झुण्ड्याउने ह्याङ्गर आयात भएको छ । विभागका अनुसार गत आ.व.मा २ करोड पाँच लाख ४९ हजार मूल्य बराबरको ह्याङ्गर निर्यात पनि भएको छ ।

दुई करोडको सियो र सेफ्टी पिन आयात

विभागका अनुसार गत आवमा लुगा सिउने सियो र सेफ्टी पिनको आयातमा २ करोडभन्दा बढी रकम बाहिरिएको छ ।

गत आ.व. मा रु १ करोड ७३ लाख ९१ हजारको सेफ्टी पिन र ६३ लाख १० हजार मूल्य बराबरको सियो आयात भएको छ । जसबाट सरकारले ६७ लाख ४९ हजार बराबरको राजस्व सङ्कलन गरेको छ ।

एक अर्बभन्दा बढीको नटबोल्ट र स्क्रु आयात

विभिन्न यन्त्र उपकरण तथा सवारी साधानमा प्रयोग हुने नटबोल्ट र पेचकिलाजन्य वस्तु आयातमा समेत अर्बौं रकम मुलुकबाट बाहिरिरहेको छ ।

सार्वजनिक विवरणअनुसार गत आवमा रु. १ अर्बभन्दा बढी मूल्यको फलाम तथा स्टिलका नटबोल्ट आयात भएका छन् ।

एक वर्षमा १ अर्ब २६ करोड ५४ लाखभन्दा बढी मूल्य बराबरका पेचकिला (स्क्रु) तथा बोल्ट र १४ करोड ९४ लाख ३५ हजार मूल्य बराबरको नट आयात भएको छ ।

विभागका अनुसार गत आवमा १५ करोड ८५ लाख बराबरको फलाम तथा स्टिलको किला आयात भएको छ ।

(अनलाईन खबर)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्