प्याजमा भारतले लगाएको करले नेपालमा कस्तो असर गर्ला ?

  • ख-
  • ख+

काठमाडौँ । प्याज निर्यातमा ४० प्रतिशत कर लगाउने भारतको निर्णयबाट नेपालमा प्याजको आपूर्ति शृङ्खला खलबलिने भएको छ । भारतको वित्त मन्त्रालयले आन्तरिक मूल्यवृद्धि नियन्त्रण गर्ने लक्ष्यसहित प्याजको निर्यातमा ४० प्रतिशत कर लगाएको छ । जसको सिधा प्रभाव नेपालको आपूर्ति प्रणालीमा पर्ने भएको हो ।

नेपाल प्याजमा पूर्णरुपमा भारतीय उत्पादनमा निर्भर छ । प्याज व्यवसायीहरूका अनुसार नेपालमा वार्षिकरुपमा खपत हुने प्याजको ९५ प्रतिशतभन्दा धेरै भारतबाट आउँछ । यसको अर्थात्, नेपालमा प्याजको उत्पादन नगन्यरुपमा भइरहेको छ । चालू आर्थिक वर्षको बजेटमार्फत आलु र प्याजमा मूल्य अभिवृद्धि कर लगाउने सरकारको निर्णयबाट यस अघिदेखि नै बढेको प्याजको मूल्य झनै बढ्ने छ ।

भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाले प्याजमा लगाइएको ४० प्रतिशतको कर यो वर्षको डिसेम्बर ३१ सम्म लागु हुने उल्लेख गरेको छ । अर्थात् भारतको नयाँ नीतिअनुसार आउँदो पुस १५ गतेसम्मका लागि प्याज निर्यातमा ४० प्रतिशत कर लाग्नेछ । जसबाट नेपाली प्याज बजार पूर्णरुपमा प्रभावित बन्ने निश्चित प्राय छ ।

नेपाल आलु प्याज संघका अध्यक्ष मोहन बानियाँ भारतको निर्णयबाट नेपाली बजारमा स्वाभाविक मूल्यवृद्धि हुने बताउँछन् । रातोपाटीसँगको कुराकानीमा भारतको पछिल्लो कदमबाट नेपालमा प्याज मूल्य कम्तीमा पनि ४० प्रतिशतले नै बढ्ने बताउँछन् । आज कालिमाटी फलफूल तथा तरकारी बजारमा प्याजको थोक मूल्य प्रतिकिलो ६१ रुपैयाँ छ ।

नेपालले भारतबाट प्याज आयात गर्दा २५ भारु प्रतिकिलो भन्सार भन्सार मूल्याङ्कन हुन्छ । सोअनुसार भारतमै लाग्ने ४० प्रतिशत निर्यात करअनुसार १६ रुपैयाँ मूल्य थपिन्छ । जसअनुसार नयाँ थोक मूल्यसूची नै ७७ रुपैयाँ प्रतिकिलो हुन्छ । यसअघि, जेठ १४ गते बजेट भाषण आउनुअघि कालिमाटीको थोक बजारमा प्याजको मूल्य किलोमा ३५ रुपैयाँ थियो । जसमा भ्याटसहित आज ६१ रुपैयाँ प्रतिकिलो कायम छ । यसबाट नेपाली बजारमा प्रतिकिलो १६ रुपैयाँले मूल्य वृद्धि हुने व्यवसायी दीपेन्द्र श्रेष्ठ बताउँछन् ।

भारतबाट कति आउँछ प्याज ?

भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७९/८० मा भारतबाट ६ अर्ब ८६ करोड रुपैयाँको प्याज आयात भएको थियो । भारतबाट ताजा, सुकाइएको र बिउ गरी तीन प्रकारमा प्याज आयात हुने गरेको तथ्याङ्क छ । जसमा ताजा प्याजका रुपमा ६ अर्ब ७५ करोड रुपैयाँ बाहिरिएको छ । यस्तै, सुकेको प्याज ११ करोड रुपैयाँको आयात भएको छ भने २३ लाख रुपैयाँ बराबरको बिउ आयात भएको छ ।

आर्थिक वर्ष २०७८/७९ मा भारतबाट ६ अर्ब ४४ करोड रुपैयाँ बराबरको प्याज आयात भएको थियो । विभागको तथ्यांकअनुसार उक्त अवधिमा ताजा प्याज ६ अर्ब १७ करोड रुपैयाँको भित्रिएको छ । यस्तै, २७ करोडको सुख्खा प्याज आयात भएकोमा ९३ लाख रुपैयाँको बिउ आयात भएको थियो । नेपालको माग धान्न भारतबाट वार्षिक २० करोड किलोग्राम आसपास प्याज आयात हुने गरेको छ ।

कालोबजारीको जोखिम

भारत सरकारले निर्यातमा ४० प्रतिशत कर लगाए पनि नेपालसँगको खुला सिमानाका कारण तस्करीको जोखिम उच्च छ । नेपाल र भारतबीच १८ किलोमिटरभन्दा लामो खुला सिमाना छ । सोहीकारण, भारतीय बजारबाट खुला सिमानाको दुरुपयोग गर्दै प्याज तस्करी हुने जोखिम बढेको छ । यसअघि, अर्थमन्त्रीले प्याज र आलुमा मूल्य अभिवृद्धि करको व्यवस्था गर्दा समेत व्यवसायीले आन्दोलनका नाममा प्याज आयात रोकेका थिए । सो अवधिमा समेत बजारमा प्याजको अभाव भएको थिएन ।

काठमाडौँ उपत्यकाको माग धान्न तराईबाट काठमाडौँ आउने यात्रुवाहक सवारी साधनमा प्याज पठाइन्छ । ‘तराईका पूर्वदेखि पश्चिमसम्मका सहरबाट काठमाडौँका लागि छुट्ने यात्रुवाहक सवारीमा प्रतिबस ४९५ बोरा प्याज पठाइन्छ,’ स्रोत भन्छ, ‘दैनिक १०० वटा बस काठमाडौँ आउँदा ५०० बोरा प्याज आउँछ र सोही प्याज कालोबजारी मूल्यमा बिक्री हुन्छ ।’

तराईबाट काठमाडौँका लागि छुट्ने रात्रिकालीन यात्रुवाहक बससहित अन्य सवारीमा समेत घरायसी प्रयोजनका लागि ल्याइएको भन्दै प्याज आउने गरेको छ । सोही प्याज बजारमा उपभोक्ताले महँगो मूल्य तिरेर बेचिरहेका छन् । ‘रातारात काठमाडौँ ल्याइएको प्याज राति नै बिक्रेतासम्म पुर्‍याइन्छ,’ स्रोतले थप्यो, ‘बिहानदेखि बेच्ने तयारीसहित रातभर प्याजको आपूर्ति हुन्छ ।’

भारतले किन गर्‍यो कडाइ ?

यतिबेला भारतीय बजारमा प्याजको मूल्य प्रतिकिलो ३०.७२ भारु छ । यो गत वर्षको यही अवधिको तुलनामा २०.७५ प्रतिशतले बढी हो । गत वर्ष भारतमा प्याजको मूल्य प्रतिकिलो २५.४४ भारु कायम थियो । भारतको वाणिज्य विभागको तथ्यांकअनुसार सन् २०२३ को अप्रिलदेखि जुनसम्ममा ६.३८ लाख मेट्रिक टन प्याज निर्यात भएको छ । सन् २०२२ को सोही अवधिमा भारतबाट ५.०४ लाख मेट्रिक टन मात्रै प्याज निर्यात भएको थियो । जुन, २६ प्रतिशतले कम हो ।

यस्तै, भारतले जुन महिनामा मात्रै २.९२ लाख मेट्रिक टन प्याज निर्यात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा १.५४ लाख मेट्रिक टन मात्रै प्याज निर्यात भएको थियो । भारतबाट सन् २०२३ मा विश्वका ६५ देशमा प्याज निर्यात भएको तथ्याङ्क छ । र, सबैभन्दा धेरै बंगलादेशमा १.३९ मेट्रिक टन निर्यात भएको समाचार संस्था इन्डियन एक्सप्रेसले उल्लेख गरेको छ । भारतबाट धेरै प्याज आयात गर्ने देशको सूचीमा बंगलादेशपछि मलेसिया, संयुक्त अरब इमरेट्स, श्रीलङ्का र नेपाल पर्छन् । सन् २०२३ को जुनसम्ममा नेपालले भारतबाट ०.३९ लाख मेट्रिक टन प्याज आयात गरेको तथ्याङ्क इन्डियन एक्सप्रेसले राखेको छ ।

रातोपाटी

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्