मित्रता मा.वि., छात्रवृत्ति, बाख्राको पाठी र भुजेल

बाबुराम नेपाली
  • ख-
  • ख+

मित्रता माध्यमिक विद्यालयमा २०४७ सालमा एसएलसी मा सामेल हुने विद्यार्थीहरुले बनभोज खाए । सहपाठी दिपेन्द्र बाबु मल्लले यो कुरा सुनाएपछि मलाई आनन्द लाग्यो । सहपाठी साथी इशारा मल्लसँग सामाजिक संजालमा भेट भएपछि उहाँले हाम्रो ब्याचको साथीहरु सबैजना एकपटक भेट्न पाए कति रमाइलो हुन्थ्यो भन्नुभएको थियो । त्यतिबेला नै काठमाण्डौमा बस्ने साथीहरु भेट्ने मौखिक प्रस्ताव त भयो तर अघि बढेन १ एक दिन साथी राजु के.सी.(बिरेन्द्र) ले मेसेन्जर मा एउटा मेसेज लेखे , इशाराको असामयिक निधनको बारेमा थाहा पायौ म छाँगाबाट खसे झैं भएँ । त्यो खबर सुन्नासाथ उहाँको साथीहरु बीच भेटघाट गर्ने इच्छा ढक्क मेरो मनमा आयो र त्यो २०७२ को महाभुकम्पमा परेको उहाँको देहसँगै उहाँको इच्छाको पनि अन्त्य भएको थियो । प्रेरणा दिने साथी नै नभएपछि अब यो कार्य हुँदैन भन्ने लागेर त्यतातर्फ सोच्नै छोडिदिएको थिएँ तर दिपेन्द्रको त्यो कुराले मैले अचानक स्वर्गिय साथी इशाराको इच्छा जिवित रहेको महसुस गरेँ र हामीले एउटा मेसेन्जर ग्रुप बनायौं । अब भेट भएजति सबै साथीहरुले आफ्नो तर्फबाट सम्भव भएका सबै साथीहरु खोज्न थाल्यौं । कतिपय साथीहरुसँग सम्पर्क गर्न सकिएन , कतिपय साथीहरू सम्पर्कमा आउन चाहनुभएन । मलाई अझै निश्चित संख्या त थाहा भएन (विद्यालय मा पनि रेकर्ड रहेनछ) तर हामी ७२ जना SLC मा सहभागी भएको जस्तो लाग्छ त्यसमा करीब ५० जना जति सम्पर्कमा आउन सकियो । त्यसमा पनि सामाजिक सन्जालमा जोडिनुभएको साथीहरुसँग जुम मिटिङ गरियो । उत्साहजनक भर्चुअल भेटघाट थियो त्यो । पिक्निक जाने कुरा चलेको थियो साथी पुर्णजङ्ग भण्डारीले पैसा पठाइहाल्नुभयो । त्यसपछि बाध्य भएर कार्यक्रम बनाउन पट्टी लागियो । बिदेशमा रहनुभएका पुर्ण जङ्ग भण्डारी, प्रमिला अधिकारी, अमर श्रेष्ठ , मोहन श्रेष्ठ , जगन्नाथ भट्टराई , डिल बहादुर नेपाली, शिव श्रेष्ठ , दिपेन्द्र काराखेती लगायतका साथीहरुले आफु उपस्थित हुन नसकेपनि रकम पठाएर सहयोग गर्नुभयो । हामी ३३ जना साथीहरू जम्मा भएर आँदीमुल मन्दिरमा पिक्निक मनायौं । हाम्रा साथी धनपति अधिकारीले एउटा अक्षयकोष स्थापना गर्ने प्रस्ताव गर्नुभयो र त्यो उत्साहजनक रुपमा पास भयो । वैदेशिक रोजगारमा रहनुभएका साथीहरुले हामीलाई माया गरेर पिकनिकको लागि प्रदान गर्नुभएको रकम हामीले अक्षयकोष स्थापनाको लागि प्रयोग गर्ने निधो गर्‍यौं । यसक्रममा एक लाख रुपैया पुरा गर्नको लागि साथी शुक्रकुमार थापाले इच्छा देखाउनु भयो र हामीले सहर्ष स्वीकार गरी एक लाख रुपैयाको अक्षयकोष स्थापना गर्न सफल भयौं । त्यसैको व्याजले हामीले प्रत्येक वर्ष केही विद्यार्थीलाई छात्रवृत्ति दिन सफल भएका छौँ । २०७८ सालमा स्थापना भएको हाम्रो अक्षयकोष मार्फत हामीले आजसम्म ३ पटक छात्रवृत्ति दिएका छौँ र यो अनन्त चलिरहनेछ । प्रत्येक वर्ष छात्रवृत्ति प्रदान गर्दा म स्वर्गिय साथी इशारा मल्ललाई याद गर्ने गर्छु । हाम्रो प्रेरणाको स्रोत उहाँ नै हो ।
हामीले छात्रवृत्ति दिने क्रममा विभिन्न प्रयोग गर्‍यौं । २०७८ सालमा जना भुजेल छात्राहरुलाई नगद दिने मौखिक सल्लाह भयो । सल्ल्ह दिने बुज्रुक विद्वानले के सम्म भन्न भ्याए भने ”भुजेलहरुले पढ्दैनन् उनीहरुलाई पैसा दियो भने बाउ आमाले रक्सी खाएर सिध्याउँछ्न ।” उहाँहरुलाई गलत सावित गर्दै हाम्रो छात्रवृत्ति पाउने ३ विद्यार्थीहरु सिर्जना भुजेल, नीरा भुजेल र अबिगेल भुजेलले आफ्नो अध्ययनलाई निरन्तरता दिइरहनुभएको छ । अर्को वर्ष हामीले २० जना विद्यार्थीलाई पोशाक वितरण गरियो । पोशाक वितरणमा अलिकति प्राविधिक गल्ती भएछ विद्यालयमा जुनियर र सिनियर कक्षाको लागि फरक पोशाक रहेछ हामीले एउटै पोशाक खरीद गरेर काटेर तयार पारिसकेको थियौं । अलिकति गल्ति भएपचि अलिअलि आलोचना पाउनु सामान्य नै भयो । यसपटक हामीले नगद नै दिने निर्णय गर्‍यौं । मेरो आफ्नो व्यक्तिगत बिचारमा हामीले बिद्यार्थीलाई सहयोग गर्ने हो उनीहरुको पढाइमा टेवा पुर्‍याउने हो । त्यसको लागि शैक्षिक सामाग्री, पोशाक , नगद वा अन्य उपयोगी जे कुरा दिँदा पनि हुन्छ । नगद दियो भने उनीहरुको आवश्यकता जे छ त्यसैलाई पुरा गर्छन् । हामीले दिएको नगदले उनीहरुको छाक टर्‍यो भने पनि त्यो उनीहरुको शिक्षामा नै सहयोग हैन र ?
मित्रता माध्यमिक विद्यालय को ५३औं वार्षिकोत्सबमा १३ वटा अक्षयकोष तथा संस्था मार्फत ३५ विद्यार्थीलाई १ लाख १० हजार भन्दा बढी नगद वितरण गरिएको भने ३ वटा पाठी (बाख्रा) वितरण गरिएको थियो । अहिले सामाजिक संजाल भरी त्यही ३ वटा बाख्राको चर्चा भइरहेको छ । यसले दुई वटा अर्थ राख्छ ,
१. तपाईंले गरिरहेको भन्दा फरक तरिकाले काम गर्नुभयो भने त्यो प्रभावकारी हुन्छ ।
२. राम्रो काम धेरै जनाले वर्षौंदेखि गरिरहनु भएको छ तर चर्चा कसै कसैले मात्रै पाउँछन् ।
राम्रो उद्देश्यले राम्रो काम गरिन्छ भने त्यसले चर्चा पाउनु नपाउनुले फरक पार्दैन ! त्यो कामको प्रभाव तुरुन्त परेन भने पनि फरक पर्दैन । त्यसले प्रवाह गर्ने सकारात्मक प्रभावले समाजलाई परिवर्तन गरिरहेको हुन्छ । पढिरहेका शिक्षित समुदायमा ३ जनालाई सहयोग प्रदान गरिएमा ती सबैले त्यसको सदुपयोग गर्छन् । त्यसको शतप्रतिशत सदुपयोग हुन्छ तर त्यो सहयोग बिना पनि त्यो समुदायले आफ्नो सन्तानलाई शिक्षित बनाउँछ तर शिक्षामा पिछडिएको समुदायमा १० जनालाई सहयोग गर्दा ५ जनाले मात्रै सदुपयोग गरे भने पनि त्यसलाई ठुलो उपलब्धि मान्नुपर्छ । अगाडी बढेकालाई झन् अगाडी बढाउनु अवस्य राम्रो हो तर पछाडि रहेकालाई त्यहीँ छोडियो भने सिङ्गो समाज पछाडी नै रहन्छ ।
(लेखकः आँबुखैरेनी १ को श्री मित्रता मा.वि. को २०४८ साल एसएलसी व्याचको बिद्यार्थी पनि हुनुहुन्छ ।)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्