हामी आफै विकृतिले भरिभराउ बनाउदैछौ तिज

बाबुराम नेपाली
  • ख-
  • ख+

तीजको समयमा छोरी लिएर बाबु घर आउँदै थिए । बाटो लामो थियो। त्यतिबेला यातायात थिएन । बाटोमा खोला तर्नुपर्थ्यो । खोला तर्ने क्रममा आफ्नो साडी भिज्नबाट जोगाउन छोरीले साडी माथि सार्छिन । खोला गहिरो भएकोले उनको सारी घुँडा भन्दा अलि माथिसम्मै सर्न पुग्छ । हात समाउँदै खोलो तारिरहेको बाबुको आँखा त्यता पुग्छ । उसको मनमा पाप पलाउँछ । खोलो तरिसकेपछि उसले छोरीलाई आफ्नो यौन इच्छा जाहेर गर्छ । छोरीले नकारेपछि कम्मरमा भिरेको खुकुरी झिकेर छोरीलाई मार्ने धम्की दिन्छ । छोरी बिचलित हुन्नन । बा म यो कुकर्म गर्न सक्दिन। मलाई काट्नुस। बरु हजुरको सुकिलो कमिजमा रगत लाग्ला , अरुले देख्लान, झ्यालखानामा जानुपर्ला । यो कमिज फुकालेर काट्नुस मलाई ।
बाबुलाई छोरीको कुरा मनासिब लाग्छ र हातको खुकुरी भुइँमा राखेर कमिज फुकाल्न लाग्छ । त्यही मौकामा खुकुरी टिपेर छोरीले बाबुको घाँटी छिनाल्दिन्छिन ।
म सानो छँदा मेरी आमा घाँस काट्न जाँदा म पछि पछि जान्थेँ। कतिपय अनकण्टार ठाउँमा घाँस काट्नुपर्ने हुनाले सुरक्षाको लागि पनि आमाले मलाई लिएर हिँड्नु हुन्थ्यो ।भदौ लागेपछि आमाले तीजको गीत रच्नुहुन्थ्यो। उहाँलाई पढ्न लेख्न आउँथेन । घाँस काट्दै गीत बनाउनुहुन्थ्यो । अनि गाउँदै जानुहुन्थ्यो। एउटा टुक्का रच्यो , गायो । अर्को रच्यो , फेरि गायो । गाउँदै जाँदा एक दुइ टुक्का बिर्सिँदा सम्झाइदिने काम गर्थेँ म ।
त्यतिबेला आमाले बिरह र बेदनाको कैयौ गीत रच्नुभएको थियो ।ती गीतहरू घाँस काट्दा मात्रै गाउनुहुन्थ्यो । सायद तीजमा माइती जान पाउँँदा उतै गाउनुहुन्थ्यो होला । तर तीजमा मामाघर जानुहुँदैन भनेर मलाई जान दिइन्थेन घरबाट । आमाले रचेका गीतहरू आमाले रातो साडी लगाएर छमछमी नाचेको हेर्ने मौका मिलेन मलाई ।
यो माथिको कथा पनि अमाको गीतबाट सुनेको हो मैले । घटना सत्य हो कि होइन ? कताको हो ? मलाई थाहा छैन । तर त्यो गीतको सन्देश निकै शक्तिशाली छ । पितृसत्तात्मक अत्याचार प्रतिको ठुलो बिद्रोह छ त्यो गीतमा । एउटी एक्ली अबला छोरीले बलिस्ठ बाउको प्रतिकार गर्न सक्ने अवस्था नै थिएन । तत्कालीन कैयौं चेलीबेटी आफ्नै बाउ दाजुभाइ बाट बलात्कृत हुनुपरेको थियो होला (त्यो अहिले पनि छ) ।  उनीहरुले भौतिक रुपमा प्रतिकार गर्न नसकेपछि गीतमार्फत सांकेतिक बिरोध गरेका हुन सक्लान् वा घटना सत्य पनि हुनसक्छ ।
वर्षभरीको अन्याय र पिडालाई प्रस्फुटन गराउने तथा असन्तुष्टि पोख्ने प्लेटफर्म थियो तीज । तर अहिले यो बिकृत भएको छ । विभिन्न खाले प्रतियोगिताले त झन यसलाई कामै नलाग्ने लङ्गडो बनाइदिएको छ । समसामयिक विषय बस्तुमा आधारित भएर भन्ने नेल ठोकिदिएपछि तीज गीत प्रतियोगिताको क्षेत्र निकै साँघुरो भएको छ । प्रतियोगितामा सहभागी सबैको एउटै शब्द , एउटै भाव । यसपालिको तीजभरी जहाज दुर्घटना , सिमलताल बस दुर्घटना , ऐना पहरा दुर्घटना , अलि अलि नेताका आलोचना अनि कताकति बालेनको प्रसंसाका गीत मात्रै हुनेछन् । छाडापनलाई थोरै लगाम लगाएर स्वतन्त्र रुपमा गीत बनाउन दिने हो भने अझै पनि एक से एक गीतहरु बनाउने प्रतिभा छन् हाम्रो गाउँ घरमा । पर्व मनाउँदा साउण्ड सिस्टम लगाएर बिष्णु माझी र शान्तिश्री परियारको गीत बजाएर नाच्ने अनि प्रतियोगितामा निरस आदर्शको गीत गाउनुपर्ने भएपछि वास्तविक तीजका गीत आउन छोडेको दशकौ भयो । साँस्कृतिक मंचहरुले सोच्नुपर्ने बेला भएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?