आँधीमुलमा ठुलो ताल निर्माणको थालनीः परिसरको रेष्टुरेन्ट हटाइयो

बाबुराम नेपाली
  • ख-
  • ख+

२०८१ साल साउन महिनाको ३१ गते ,आँधीमुल भुजेल गाउँका युवा विशम भुजेलले सिर्जना गर्नुभएको भुजेल जातिको परम्परा , संस्कृति तथा पितृपुजा र प्राकृतिक पुजन सम्बन्धि ग्रन्थ ‘‘म्याहङो इम्याहङअ” को बिमोचन समारोहमा सहभागी भएपछि त्यस सम्बन्धि केही लेख्न बसिरहेको थिएँ । हिमाल थापाको फोन आयो ”दाई, आँधीमुलमा नयाँ ताल निर्माणको लागि काम शुरु हुन लागेकोले स्काभेटर ल्याएको छ ,भोलि विश्वकर्मा पुजा गरेर काम शुरु गर्ने हो । पुजामा सहभागी हुन  निम्तो छ है !” म पुग्दा पुजा सकिइसकेको थियो । आँधीमुल परिसरमा रहेको रेस्टुरेन्ट भत्काइएको रहेछ । त्यो दृश्यले मलाई घोचिरह्यो । त्यो रेष्टुरेन्टमा बसेर हिमालसँग थुप्रै चियाहरु खाएको सम्झँ । उनको आँधीमुल बिकास गर्ने महत्वाकांक्षा, सुर्योदय आधारभुत विद्यालय सुधार गर्ने सपना , यान्चोकमा होम स्टे संचालन गर्ने रहर, घोडा सफारीदेखि साइकल लेन, बन्दीपुर -आँधीमुल -छिम्केश्वारी हाइकिङ रुट आदी थुप्रै सपनाहरु बुनिए । उनले उत्साहित भएर त्यहाँ प्रयोगमा न आएको झाडी पन्छाएर पौडी पोखरी र रेष्टुरेन्ट बनाउन सहमति त पाए र रेष्टुरेन्ट तयार पनि भयो र अलि अलि व्यापार व्यवसाय चल्न थालेपछि उनीमाथि प्रहार हुने क्रम शुरु भयो । उनको अगाडी हाँसेर बधाई दिनेहरु पछाडीबाट सार्वजनिक जग्गा कब्जा गरेको आरोप लगाउन थाले । स्थानिय सरकारले व्यवसायिक अनुमति दिएन ।
एक दशक भन्दा बढी बिदेशमा श्रम गरेर कमाएको सम्पुर्ण जसो कमाई यो ठाउँको बिकास गर्छु भनेर आँधीमुलमा ल्याएर खन्याउनु चानचुने साहसको कुरा पक्कै थिएन । आँधीमुल परिसरमा व्यापारको लागि संरचना बनाइरहँदा तत्कालीन स्थानिय जनप्रतिनिधि , आँधीमुल मन्दिर संरक्षण समिति , स्थानियबासी कसैले पनि उचित सुझाव , चेतावनी , दावी , बिरोध गरिएन । जब उनले आफ्नो जीवनभरीको कमाई लगानी गरेर संरचना तयार पारिसकेपछि आँधीमुलमा पर्यटकको चहलपहल देखिन थालेपछि अनि अलिकति व्यापार व्यवसाय चल्मलाउन थालेपछि अनगिन्ती बिरोधका आवाजहरु सुनिन थाले । कसैलाई पनि सार्वजनिक सम्पत्ति व्यक्तिगत रुपमा उपभोग गर्ने छुट कदापि दिनु हुँदैन तर उसलाई स्वीकृती दिइसकेपछि सुरक्षित अवतरण गराउने जिम्मेवारी पनि समाजको हुनुपर्छ ।
हिमाल थापा ले वैदेशिक रोजगारीमा राम्रो कमाई हुँदाहुँदै आँधीमुल क्षेत्रको बिकास गर्ने पवित्र उद्देश्य लिएर नेपाल फर्किएका युवा हुन् । उनी वैदेशिक रोजगारीमा हुँदा नै फेसबुक ग्रुप बनाएर आँधीमुल बिकासको योजनाहरुको विषयमा बहस चलाएर धेरै जनाको सहमति भएपछि नेपाल फर्केका थिए । उनी नेपाल फर्केपछि बाचा गरेका अधिकांस साथीहरुले हात झिके । बालकृष्ण थापा र नारायण गुरुङसँग मिलेर योजना अघि बढाउन खोजेपनि धेरै जसो जसो आर्थिक भार उनी आफैले बेहोर्नु पर्ने अवस्था आइपर्‍यो । उनले पुल काटिसकेका थिए अब फर्किन बाटो थिएन । आफ्नो जागिर छोडिसकेको अवस्थामा जुनसुकै हालतमा आफ्नो सपना पुरा गर्नु थियो । आँधीमुल मन्दिरको तत्कालीन संचालक समिति तथा स्थानिय जनप्रतिनिधिको मौखिक सहमति र आश्वासनको आधारमा आँधीमुलमा रिसोर्ट निर्माण शुरु गरे । तिलडाँडादेखि आँदीमुलसम्म व्यक्तिगत रुपमा सडक बनाए ।परीवारलाई चितवनबाट गाउँ फर्काए। चितवनको सुबिधासम्पन्न निजी स्कुलमा पढिरहेको आफ्नो छोरालाई विद्यार्थी संख्या नपुगेर बन्द हुने अवस्थामा पुगेको गाउँको सरकारी स्कुलमा भर्ना गराए । यो कुरा हाम्रा गाउँपालिका अध्यक्ष शुक्र चुमानले आफ्ना छोराछोरी नीजी स्कुलबाट झिकेर सरकारी स्कुलमा हाल्नुभन्दा अगाडिको हो । उनीमा गाउँको बिकास गर्छु अनि मेरो गाउँको स्कुलको स्तरोन्नति गर्न सक्छु भन्ने आत्मविश्वास भएर नै यो कदम चालेका हुन। नभन्दै उनले दिनरात खटेर सुर्योदय आधारभुत विद्यालयलाई निजी स्कुलको दाँजोमा पुर्‍याउन सफल भए। मेरो विचारमा हाम्रा गाउँपालिका अध्यक्ष शुक्र चुमानलाई सरकारी विद्यालय शैक्षिक सुधार गर्न सकिन्छ भन्ने प्रेरणा हिमाल थापाको यो कदमबाट मिलेको हो ।
आँधीमुलमा रिसोर्ट बनेपछि चहलपहल बढ्न थाल्यो । गाउँका खानेपानी तथा अन्य सामाजिक कार्यहरुमा उनी अथक रुपले लागिरहेका छन् ।
आँधीमुलमा बिकासको नयाँ परियोजना आए पस्चात उनले आफ्नो जीवनभरको कमाइले स्थापना गरेको रिसोर्ट सहर्ष भत्काएका छन् । रिसोर्ट भत्काइरहँदा पनि उनमा पिडाबोध देखिएको छैन । आँधीमुल क्षेत्र संरक्षण समितिको अध्यक्षको नाताले पनि उनले आफैमाथि अन्याय गरिरहेका हुन कि !  हिमाल थापा भन्छन् , ”बालकृष्ण थापा नारायण गुरुङले केही लगानी र अफ्ट्यारो परिस्थितिमा पुर्ण रूपमा सहयोग गर्दै आइरहेका छन् । सायद बालकृष्ण र नारायणसग सहकार्य गरेको थिएन भने पहिले बिचमै मलाई मात्र अफ्ट्यारो पार्ने र गिजोल्नेहरुलाइ धेरै सजिलो हुने थियो।”
यता ताल निर्माणको लागि डोजर चलिरहँदा हिमाल थापाको रेष्टुरेन्टको भग्नावशेष हेरेर म भावुक भएको छु ।
”मैले चाहेको यो ठाउँको बिकास हो, यस स्थानमा ताल बनेर विद्युत उत्पादनसम्म गर्ने सम्भावना देखिएकोले मलाई यो रेष्टुरेन्ट भत्काउँदा झन खुशी लागेको छ ।” मसँग हाँस्दै भनेको यो पंक्तिले हिमाल थापाप्रति मेरो सम्मान बढेको छ । आँधीमुल मन्दिर परिसरमा हिमाल थापाप्रति अन्याय भएको हो कि ?
”यहाँ ताल बन्ने भए पछि अहिलेको स्थानीय सरकारले कानुनी आधारहरुलाइ टेकेर केही न केही राहत दिने मौखिक आश्वासन गाउँ पालिका अध्यक्ष शुक्र चुमानबाट प्राप्त भएको” कुरा हिमाल थापाले बताएका छ्न। * शिर्षक परिवर्तन गरिएको  (लेखकका निजी बिचार )

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?