राजिनामा पश्चात नेपाल टेलिभिजनको कार्यकारी अध्यक्ष डा. महेन्द्र बिष्टले सुनाए आफुले गरेका कामहरु

  • ख-
  • ख+

३ वर्षे कार्यकाल पूरा गरेर राजिनामा दिनुभएका नेपालटेलिभिजनको कार्यकारी अध्यक्ष डा.महेन्द्र बिष्टले आफुलाई नियुक्त गर्ने सरकार हटेकोले आफुले राजिनामा दिएको र आफ्नो कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यवाद दिदै आफ्नो कार्यकालमा गरेका कामहरुको बेलिबिस्तार लगाउनुभएको छ । वहाँद्धारा जारी प्रेस विज्ञप्तिः

सम्माननीय प्रधानमन्त्री एबम् सञ्चार तथा सूचना प्रविधि मन्त्री शेरबहादुर देउवा समक्ष राजीनामा बुझाएर नेपाल टेलिभिजनको कार्यकारी अध्यक्षको जिम्मेवारीबाट विदा लिएको छु । मलाई विश्वास गरेर करिव ३८ महिना अघि यो जिम्मेवारी प्रदान गर्नुहुने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, विभागीय मन्त्री गोकुल बास्कोटा एबम् यो जिम्मेवारीमा रहुञ्जेल मलाई ऊर्जा प्रदान गर्नुहुने सबैमा अन्तर्मनबाट आभार व्यक्त गर्दछु ।
यस अवधिमा नेपाल टेलिभिजनका सबै च्यानलहरूलाई एचडी प्रविधिमा रुपान्तरण गर्ने, रुग्ण आयोजनाको रुपमा रहेको इटहरी प्रसारण केन्द्रको भवन निर्माण कार्य सम्पन्न गरी एनटीभी इटहरी च्यानल सञ्चालन गर्ने, लामो समयदेखि हप्ताको केही घण्टा मात्र उत्पादनमा सीमित रहेको एनटीभी कोहलपुर प्रसारण केन्द्रलाई एनटीभी कोहलपुर च्यानलका रुपमा समाचार बुलेटिनसहित दैनिक सात आठ घण्टाको कार्यक्रम उत्पपादनसहित चौबीसै घण्टा नियमित प्रसारणमा ल्याउने, डिजिटल प्लेटफर्ममा नेपाल टेलिभिजनको बलियो उपस्थिति गराउने, संस्थानको व्यापार विस्तार गरी तीन वर्ष अघिको तुलनामा करिव ३३ प्रतिशतले बृद्धि गर्ने जस्ता कार्यहरू भएका छन् । यस्तै समाचार निर्देशिका, शैली पुस्तिका, ड्रेस कोड, कार्यक्रम मापदण्ड, खर्च नियन्त्रण कार्यविधि आदि जारी गर्नुका साथै संस्थाको विद्यमान कानुन, संगठन संरचना, व्यावस्थापकीय शैली र रणनीतिमा परिवर्तन गरिएको छ । यसले संस्थालाई मितव्ययी, पारदर्शी र परिणाममुखी बनाउनुका साथै कर्मचारीमा उत्प्रेरणा बढाउन सहयोग पुगेको छ । समग्रमा यो अवधिमा नेपाल टेलिभिजनको विषयवस्तु, प्रस्तुति, प्रविधि र व्यापारमा भएको उल्लेखनीय सुधारले नेपाल टेलिभिजनको आर्थिक अवस्था सुदृढ हुनुका साथै लोकप्रियता र साख बढेको मेरो विश्वास छ ।
नेपाल टेलिभिजनले सुधारका यी प्रक्रियामा नयाँ इँटा थप्दै यसै आर्थिक वर्षमा विश्वमा नेपालको उपस्थिति अझ बलियो बनाउन एनटीभी वल्र्ड सञ्चालन गर्ने तयारी भएको छ भने शैक्षिक र मौसम च्यानल सञ्चालन गर्ने योजना पनि अघि बढेको छ । सिंहदरवार प्लाजामा अडिटोरियम हल सहितको बहुतले भवन निर्माणको साथै एनटीभीलाई विपतसम्बन्धी विषयको कार्यक्रम उत्पादन र प्रसारणमा नेतृत्वदायी र उदाहरणीय च्यानल बनाउन जापान सरकारको प्राविधिक सहयोगमा नयाँ परियोजना सञ्चालनको तयारी पनि अघि बढिसकेको छ ।
मेरो पेशागत जीवनमा यो अवधिलाई ज्ञान, अनुभव र योगदानको दृष्टिले उच्चतम बनाउने प्रयत्नसहित निष्ठापूर्वक समर्पित भएर विताएको छु । यसमा मलाई गौरव छ । पत्रकारिताको क्षेत्र फराकिलो छ, कतै भेट हुने नै छ । नेपाल सरकार, नेपाल टेलिभिजनका सहकर्मी मित्रहरू, सहकार्यमा रहेका एजेन्सी, निकाय तथा संघसंस्था एबम् सम्बद्ध सबैमा आभार तथा धन्यवाद अर्पण गर्दछु ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?