ब्यास नगरको समृद्धि शिक्षा, स्वास्थ्य, कृषि र पर्यटन

  • ख-
  • ख+

(रमेश प्रसाद आचार्य)

महर्षि वेदव्यासको तपोभूमि मादी र सेतीको संगम स्थल, पुलिम¥याङ्ग देखी मानुङ्गकोट सम्म केशवटार देखी सिसाघाट सम्म फैलिएको विभिन्न जात जाती भाषा भाषी कला संस्कृतिले भरिपुर्ण तनहुँ जिल्लाको सदरमुकाम दमौलीलाई काखमा लिएको नेपालकै एक महत्वपुर्ण स्थानीय तहको नाम हो ब्यास नगरपालिका । पूर्वमा बन्दिपुर गाउँपालिका, भानु नगरपालिका, उत्तरमा लमजुङ्ग र कास्की जिल्ला पश्चिममा शुक्ला गण्डकी नगरपालिका र म्याग्दे गाउँपालिका दक्षिणमा रिसिङ्ग गाउँपालिका सम्म सिमाना जोडिएको छ । तनहुँसुर, मानुङ्गकोट, पुलिम¥याङ्ग, छाब्दी बाराही, व्यास गुफा, पराशर आश्रम जस्ता पर्यटकीय स्थल दरै, बोटे, कुमाल, गुरुङ्ग, मगर, भुजेल, चेपाङ्ग, दुरा, नेवार, जनजातीको रहनसहन कला र सस्कृतिले भरिपुर्ण भएको यस नगरपालिका सम्भावनै सम्भावना भएको ठाँउ पनि हो ।
२०४६ सालको ऐतिहासिक परिवर्तन पछि २०४९ सालमा महर्षि वेदब्यासको नाम वाट नामाकरण भएको यस नगरपालिका २०७२ सालको संबिधान जारी पछि स्याम्घा, क्यामिन पोखरीभञ्ज्याङ्गका सबै वडा, केशवटार, घासिकुवा, तनहुँसुर, स्वातिश्वारा र रिस्तीका अधिकांश वडाहरु मिलेर बृहत नगरपालिका बनेको छ । छाब्दी बाराही, शिव पञ्चायन, तनहूँ कालिका, छाङ्ग बाराही, भगवति मनकामना, राजापानी मन्दिर, मस्जिद, चर्च, गुम्बा लगायतका धार्मिक स्थलले भरिपूर्ण भएको डाँडाकाडा समथर फाँटहरु रिस्ती, कलेस्ती छाब्दी, सिसा,सांगे, बुल्दी खोला नाला तथा मादी र सेती जस्ता नदिले बनाएका फाँटहरु यस नगरपालिकाको सम्पती हुन । लगभग ८०, ८५ हजार जनसंख्या भएको यस नगरपालिका कृषि पेशामा आश्रित जनसंख्या अधिक रहेका छन । यतिबेला मुलुक स्थानीय तहको निर्वाचनमा केन्द्रित भएको छ । यस नगरपालिका लाई कसरी समृद्ध बनाएर किसानका उत्पादित बस्तुलाई कसरी बजारिकरण गर्ने मजदुरलाई सेवा सुबिधा दिएर कसरी टिकाइराख्ने, बेरोजगार युवाहरुलाई कसरी बिदेश पलायन हुनवाट रोक्ने, उद्योगी व्यवसायीलाई व्यवसायमा कसरी टिकाइराख्ने, शिक्षक र कर्मचारीलाई कसरी काममा लगनशिल बनाउने जनताको सेवामा लगाउने भन्ने कुरामा यो पंक्तिकार राम्रो संग जानकार छ ।
ब्यास नगरपालिका लाई समृद्ध ब्यास नगर बनाउन निम्न लिखित महत्वपूर्ण विषयमा ध्यान पु¥याउनुपर्ने देखिन्छ ।
१) शिक्षा २) स्वास्थ्य ३) कृषि ४) पर्यटन

१) शिक्षा
शिक्षा ज्ञानको भण्डार हो यो जीवन पर्यत्न चलिरहने प्रक्रिया हो । शिक्षा औपचारीक, अनौपचारीक, अनियमित तवर वाट प्राप्त हुन्छ । औपचारीक शिक्षा विद्यालय, विश्वविद्यालयहरुवाट प्राप्त हुन्छ भने अनौपचारीक, अनियमित शिक्षा घर, गाउँ, समाज, देश, विदेश भित्र भएका जीवनका अनेक भोगाईवाट प्रप्त हुन्छ । यतिवेला अनौपचारीक शिक्षा भन्दा पनि औपचारीक शिक्षालाई कसरी अगाडी बढाउन सकिन्छ भन्ने विषयको उठान गर्नु सान्दर्भिक देखिन्छ । अवको शिक्षा सिपमुलक, व्यवसायिक, व्यवहारिक र श्रमलाई सम्मान गर्ने खालको हुनुपर्दछ त्यसैले शिक्षामा पुर्नसंरचना अवको युगको माग पनि हो । यस नगरपालिकाको शिक्षा क्षेत्रमा सुधार गर्नको लागि निम्नानुसारको विषय उठान गर्न सान्दर्भिक देखिन्छ । सामुदायिक विद्यालयमा पर्याप्त जग्गा जमिन हुनुपर्दछ जसले गर्दा आवस्यक भौतिक निर्माण गर्न सजिलो होस प्रयाप्त प्रविधिमैत्री कक्षा कोठा, सेमिनार, हल, होस्टेल, पुस्तकालय व्यवस्थित कार्यालय, खेलकुद मैदान निमार्ण गर्न कुनैपनि व्यवसायिक, सीपमुलक व्यवहारिक काम सहितको शिक्षा सिकाउन अप्ठयारो नहोस । प्रर्याप्त मात्रामा शिक्षक दरवन्दी र थोरै विद्यार्थी संख्या भएका विद्यालयमा कम्तीमा दिनको ६ पिरेड पर्ने गरी शिक्षक दरबन्दी हुनैपर्दछ । शिक्षा पूर्ण रुपमा निशुल्क र सर्वशुलभ हुनुपर्दछ जसका कारण गरिव र निम्न स्तरका नागरिकको पहुचमा होस ।

शिक्षक कर्मचारीलाई समयानुकुलको अनुसार तालिम दिदै विद्यालय लाई प्रविधिमैत्री बनाउनुपर्दछ । निजी विद्यालय र सामुदायिक विद्यालयमा निजी स्रोतमा पढाउने शिक्षकहरुको तलव सरकारी मापदण्ड अनुसार हुनैपर्दछ । निजी विद्यालय संचालनको लागि खेलकुद मैदान सहितको पर्याप्त जग्गा हुनुपर्दछ । क्याम्पस, विश्वविद्यालय तहमा पढ्ने विद्यार्थीका लागी सीपमुलक व्यवसायिक शिक्षा लागु गर्नुपर्दछ । कृषि तथा भेटेरिनरी, मेडिकल, नर्सिङ्ग, इन्जिनियरिङ्ग कलेज, साइन्स कलेज स्थापना गरि व्यास नगरलाई शैक्षिक केन्द्रको रुपमा बिस्तार गर्न सक्यौ भने समृद्ध व्यास नगर बन्नेछ ।
२) स्वास्थ्य
स्वास्थ्य जीवनको महत्वपूर्ण पक्ष हो । अस्वस्थ मानिसले चाहेर पनि कुनै पनि काम राम्रो गर्न सक्दैन । त्यसैले व्यास नगरले यस तर्फ सोच्नुपर्छ । यस नगरपालिकालाई स्वच्छ र सफा राख्नका लागी स्थायी रुपमा फोहोर फाल्न ल्याण्ड फिल्ड साइडको छनोट गरी निर्माण गर्नुपर्दछ । विगत समयदेखी यसतर्फ नगरपालिकाले ध्यान पु¥याउन सकेको देखिदैन । व्यास नगरपालिकाका नागरिकलाई निशुल्क र सर्वशुलभ स्वास्थ्य सेवा अवको आवस्यकता हो ।
व्यास नगरको सवै वडाहरुमा अत्याधुनिक स्वास्थ्य चौकी र सवै वडामा एम्वुलेन्स सेवा विस्तार गरिनुपर्दछ । व्यास नगरको समन्वयमा उद्योग व्यवसायी, सहकारी सवै नागरिकको संयुक्त लगानी हुने गरी अत्याधुनिक अस्पतालको निर्माण गर्नुपर्दछ । स्वास्थ्य खानेपानी वितरण गर्दै लिप्ट खानेपानी योजनामा लाग्ने बिद्युतमा व्यास नगरले अनुदान दिनुपर्दछ । कुहिने फोहोर वाट मल बनाउनका लागि मल कारखानाको स्थापना गर्नुपर्दछ । घर, विद्यालय, अस्पताल, होटल, कार्यालय लगाएत बिभिन्न ठाउँवाट निस्केका फोहोर पानीलाई सिधै खोला नदीनालामा मिसाईएको छ । त्यसलाई रोकी आवश्यक ठाउँमा पोखरी बनाई प्रदुषित पानीलाई सफासुग्घर बनाई नदीनालामा छोड्नुपर्दछ ।
३) कृषि
कृषि यस्तो क्षेत्र हो जुन क्षेत्र विना मानिसको जीवन यापन चल्न सक्दैन । मानिसलाई भोक लागेपछि खानेकुरा चाहिन्छ जुन चिज कृषिवाट मात्र प्राप्त हुन्छ त्यसैले कृषि विना मानिस लामो समय बाच्न सक्दैन, त्यसैले कृषि क्षेत्रमा आमुल परिबर्तन हुन आवस्यक छ । कृषि क्षेत्रमा बिकास गर्न सकियो भने व्यास नगरको कायापलट गर्न सकिनेछ । कृषि क्षेत्रलाई अगाडी बढाउन निम्नानुसारका काम हुनैपर्दछ ।
कृषकलाई तालिमको व्यवस्था गर्दै कृषको उत्पादनको लागत मुल्य तोकेर सहज बजारीकरण गरिदिनुपर्दछ । सबै वडाहरुमा कृषि पशुपालनका पर्याप्त प्राबिधिकहरु खटाई किसानलाई उत्पादनमा आधारित अनुदान दिनुपर्दछ । किसानका कृषि फर्म सम्म राम्रो बाटोघाटोको व्यवस्था गरिदिनुपर्दछ । प्रत्येक वडाहरुमा कृषक समूह, कृषि सहकारी र दुग्ध सहकारीको स्थापना गरि कृषकका उत्पादन संकलन गरी बजारीकरण गरिदिनुपर्दछ । कृषि उत्पादन गर्ने जग्गा चयन गरी जग्गा प्लटिङ्ग गर्न बाट रोक लगाउनुपर्दछ । भुमि बैंक स्थापना गरि कृषि पशुपञ्छी फर्म सञ्चालन गर्न चाहाने कृषकहरुलाई पर्याप्त जग्गा उपलब्ध गराउन सहयोग पु¥याईदिनुपर्दछ । बैंक तथा बित्तिय संस्थाहरुवाट सहज कर्जा किसानलाई उपलब्ध गराउन पहल गरिदिनुपर्दछ । कृषकलाई कृषि बिमा गराई सहज रुपमा क्षतिपुर्ति पाउने व्यवस्था गराईदिनुपर्दछ । सिंचाई नपुगेको ठाउँमा लिफ्ट सिंचाई मार्फत नहर र कुलो बनाई किसानलाई कृषितर्फ आकर्षित गराउनुपर्दछ साथै परम्परागत रुपमा चलिआएका नहर र कुलोलाई मर्मत सम्भार गर्दै सिंचाइका लगि सहजिकरण गरिदिनुपर्दछ । यस नगरपालिका क्षेत्रलाई तरकारी, फलफुल, मौरिपालन, माछापालन र पशुपञ्छीको पकेट क्षेत्र घोषणा गरि कृषकका लागि आधुनिक कृषि उपकरण उपलब्ध गराईदिइ लागत मुल्य कम गराउन अग्रसरता लिनुपर्दछ ।
४) पर्यटन
व्यास नगरपालिका पर्यटकिय दृष्टिले महत्वपुर्ण ठाउँ पनि हो । व्यास नगरपालिकामा आन्तरिक तथा बाह्य पर्यटकलाई वसौ वसौ बनाउन बिभिन्न जात जातिको मौलिक परम्परा र कला संस्कृतिलाई जोगाइराख्न सांस्कृतिक संग्रहालय बनाउनुपर्दछ । व्यासका १, ७, १०, र ११ वडामा दरै होमस्टे संचालनमा ल्याउनु पर्दछ । व्यासका ७, ८, ९, १० र ११ का वडाहरुमा गुरुङ्ग होमस्टे संचालनमा ल्याउनुपर्दछ । व्यासका ११, १२, १३ र १४ वडामा मगर होमस्टे संचालनमा ल्याउनुपर्दछ साथै व्यास ११ मा दुरा समुदायको होमस्टे संचालनमा ल्याउनुपर्दछ त्यसैगरी नेवार समुदायको बाहुल्यता भएका गुठी हरुलाई संरक्षण गरि नेवार समुदायको कला संस्कृतिलाई जगेर्ना गर्दै नेवार होमस्टे संचालन गर्नुपर्दछ । व्यास नगरलाई फुलैफुलको शहर बनाउने, ढलानयुक्त घरहरुका छतमा फुल रोेप्ने, गाउँघरका कच्ची घर अगाडी फुलको बगैचा बनाएर वातावरण लाई सुगन्धित बनाउनुपर्दछ । मादी र सेती नदिमा जलविहार गर्दै जल पर्यटनलाई व्यवस्थित बनाउनुपर्दछ । व्यास नगर प्याराग्लाईडिङ्गको संभावना भएको ठाउँ पनि भएको हुनाले यस तर्फ नगरपालिका वाट ध्यान पु¥याई काम अगाडी बढाउनुपर्दछ । सामुदायिक बनजंगल भित्र व्यवस्थित पार्क बनाउने र नगर क्षेत्र भित्र स्तरिय होटल संचालनमा ल्याई बिदेशी पर्यटकलाई आकर्षित गराउनुपर्दछ । धार्मिक मठ, मन्दिर, गुम्बा, चर्च र मस्जिदहरुलाई व्यवस्थित बनाई धार्मिक पर्यटन मार्फत पर्यटक भित्राउन पर्दछ । कृषि फर्म संचालन भएका ठाउँमा कृषि पर्यटन मार्फत आन्तरिक तथा वाह्य पर्यटक आकर्षित गर्न सकिन्छ । व्यास ५ को चिन्तुटारमा निर्माणाधिन रंगशाला र व्यास ११ मा निर्माणाधिन क्रिकेट रंगशाालालाई छिटो भन्दा छिटो सम्पन्न गरि खेल पर्यटन मार्फत युवा खेलाडी तथा खेल प्रेमीहरुलाई आर्कषित गर्नुपर्दछ ।

अन्त्यमा व्यास नगरलाई समृद्ध व्यास नगर बनाउनका लागी बजार व्यवस्थित बनाउदै बिजुली, टेलिफोन, केवल, इन्टरनेटका तारहरुलाई जमिन मुनी वाट विस्तार गर्नुपर्दछ । व्यास नगर भित्र एकिकृत बस्ती विकास गरी प्रत्येक घरहरुमा कार पार्किङ्ग गर्न मिल्ने गरी सुन्दर शहरमा रुपान्तरण गर्नुपर्दछ । उद्योग व्यवसायी सग हातेमालो गर्दै नगरभित्र उद्योग, कलकारखाना स्थापना गरि युवाहरुलाई रोजगार दिन अग्रसरता देखाउनुपर्दछ । बैदेशिक रोजगारिमा जान चाहेका र फर्किएका युवाहरुलाई बिभिन्न किसिमका सिपमुलक तालिम दिई आफ्नै ठाउँमा उद्यम व्यवसायमा लगाउन अग्रसरता लिनुपर्दछ । प्रबिधि मार्फत सेवाग्राही लाई छिटो भन्दा छिटो सेवा दिई नागरिकको मन जित्नुपर्दछ । नगर भित्रका सवै ठाउँका बारेमा नागरिकलाई सुसोचित गराउन जि.पि.एस प्रणालि लागु गर्नुपर्दछ जसले गर्दा कुन ठाउँमा जानुपर्ने हो पर्यटकलाई जानकारी होस, त्यसैले अवको स्थानीय तहको निर्वाचनमा यो पंक्तिकारलाई मेयर बन्ने सौभाग्य मिल्ला नमिल्ला तर माथि उल्लेखित विषयलाई राम्रो सग उठान गर्न सकिएमा साच्चैनै व्यास नगर समृद्ध व्यास नगरपालिका बन्नेछ । (लेखक विवेकशील साझा पार्टी ततहूँको नेता तथा स्थानिय तहको निर्वाचनमा व्यास नगरपालिकामा नगरप्रमुखको आकांक्षी हुनुहुन्छ ।)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्