तनहुँ । बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भिमाद नगरपालिकाभित्रका सदस्यहरूले रु. १ लाख १ हजार १११ सहयोग गरेका छन्।
रास्वपा भिमाद नगरपालिकाले आफ्ना सदस्यहरूले व्यक्तिगत रूपमा सहयोग गरिसकेपछि पनि पुनः थोरै–थोरै रकम संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरेको जनाएको छ।
देश प्राकृतिक विपत्तिको पीडामा रहेका बेला प्रभावित नागरिकको दुःखमा साथ दिनु साझा मानवीय दायित्व भएको भन्दै सामूहिक रूपमा सहयोग गरिएको हो। उक्त सहयोग व्यक्तिगत नभई सामूहिक भावना, सहकार्य र मानवीय संवेदनाको प्रतिबिम्ब भएको रास्वपा भिमाद नगरपालिकाले जनाएको छ।
रास्वपा भिमाद नगरपालिकाले अभियानमा आफ्नो क्षमता र मनले सकेको सहयोग गर्ने सम्पूर्ण सदस्यप्रति आभार व्यक्त गर्दै विपत्तिको समयमा राजनीतिकभन्दा मानवतालाई प्राथमिकता दिनुपर्नेमा जोड दिएको छ।
“विपत्तिमा राजनीति होइन, मानवता रोजौँ, दुःखमा एकअर्काको सहारा बनौँ” भन्ने भावनासहित गरिएको सहयोगले विपद्मा परेका परिवारलाई केही भए पनि राहत र आशा प्रदान गर्ने विश्वास व्यक्त गरिएको छ।












