तनहुँ । नेपाल दशनामी समाज जिल्ला कार्यसमिति, तनहुँले बाढीपहिरो पीडितको राहत तथा उद्धारका लागि रु. ६४ हजार ४५५ सहयोग गरेको छ।
समाजले यस वर्ष महिला दिदीबहिनीहरूबीच आयोजना गर्ने तयारी गरिएको ‘दर खाने कार्यक्रम’ स्थगित गरी उक्त कार्यक्रमका लागि छुट्याइएको रकम तथा प्राप्त सहयोग रकम संकलन गरेर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो।
प्राकृतिक विपत्तिको कठिन परिस्थितिमा आपसी भेटघाट तथा दर खाने कार्यक्रमभन्दा बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा सहयोगलाई प्राथमिकता दिँदै कार्यक्रम स्थगित गरिएको समाजले जनाएको छ।
समाजका अनुसार विपत्तिमा परेका दाजुभाइ तथा दिदीबहिनीलाई सहयोग गर्नु सामाजिक उत्तरदायित्व र मानवीय कर्तव्य भएकाले कार्यक्रमको खर्चलाई राहत कार्यमा समर्पित गरिएको हो।
समाजले आफ्नो यो सहयोगले विपद्मा परेका नागरिकप्रति सहयोग, सहकार्य र मानवीय संवेदनाको सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरेको छ।












