ऐतिहासिकता बोकेको बन्दिपुरको खड्ग माई मन्दिर

  • ख-
  • ख+

बाबुराम नेपाली । आँबुखैरेनी, तनहूँ । प्रत्येक वर्ष फुलपातीको दिन बन्दिपुर स्थित खड्गमाई मन्दिरमा ठुलो जात्रा लाग्ने गर्दछ। बन्दीपुर वरपरका आँबु खैरेनी गाउँपालिका भानु, व्यास नगरपालिका लगायत गोर्खा ,लमजुङ् कास्की तथा चितवनबाट मानिसहरु खड्गमाईको पुजा गर्न आउने गर्दछन। वर्ष भरी बन्द रहने खड्गमाई मन्दिर घटस्थापनाको दिन खोलिन्छ।

खड्गमाई मन्दिरमा शुरुवाती नगर्ची पुजारीका वंशज र वर्तमान नगर्ची पुजारी दयाराम परियारका अनुसार स्थानिय पाँच जना मगर , एक जना कटुवाल, एकजना ब्राम्हण , एकजना बिश्वकर्मा तथा एकजना नगर्ची पुजारीले घटस्थापनाको दिनदेखि मन्दिर सरसफाई र पुजा गर्दछन र फुलापातेको दिन सर्वसाधरणको लागि मन्दिर खुल्ला गरिन्छ। फूलपातीको दिन पुजा गरेर बोका र खुकुराको बलि दिइसकेपछि मगर पुजारीले खड्गमाईलाई मूल मन्दिरबाट बोकेर बाहिर ल्याएर मन्दिर प्राङ्गणमा बिश्वकर्मा पुजारीलाई हस्तान्तरण गर्दछन। विश्वकर्मा पुजारीले खड्गमाईलाई नजिकैको सानो मन्दिरमा लगेर पुजा गर्दछन। यो प्रक्रियालाई खड्गमाईलाई माइती लगेको भनिन्छ। साँझपख बजारस्थित मन्दिरमा लगेर खड्गमाई देवीलाई सिंगारपटार गरेर कपडा तथा गहना लगाइदिएर नगर परिक्रमा गराइन्छ र पुनः मगर पुजारीलाई हस्तान्तरण गराइन्छ। मगर पुजारीले खड्गमाईलाई मूल मन्दिरमा लगेर राख्दछन। दशमीको दिनसम्म सर्वसाधारणको लागि पुजा खुल्ला गरिन्छ र फेरी १ वर्ष सम्मको लागि मन्दिर बन्द हुन्छ। खड्गमाई मन्दिरलाई निकट भविष्यमा वर्ष भरी नै खुला गरिने विषयमा छलफल भईरहेको बन्दीपुर गाउँ पालिका वडा नं ४ का वडाध्यक्ष दान बहादुर थापाले जानकारी दिनुभयो।

करीब डेढ दशक अगाडीसम्म फूलपातीको दिन राति भेडा बलि दिने चलन थियो। सो बलि दिएको भेडा कब्जा गर्नको लागि वरपरका गाउँ टोलका बासिन्दाहरुमा प्रतिस्पर्धा हुन्थ्यो र जसले तानेर आफ्नो कब्जामा पार्न सक्यो त्यही टोल बिजयी हुन्थ्यो। यो प्रथा बढी प्रतिस्पर्धात्मक र अस्वथ्य हुनथालेपछि अप्रिय घटनाहरु घट्ने क्रम बढ्न थाल्यो र सुरक्षाको दृष्टीले सही नठानिएपछि सो चलनलाई रोक लगाइएको छ। यो विशिष्ट परम्परालाई निषेध गर्नुको साटो निश्चित नियम बनाएर एउटा खेलको रुपमा बिकसित गर्न सके राम्रो उक्त क्षेत्रका मानिसहरुको भनाई रहेको छ ।

खड्गमाई मन्दिरको स्थापना २ सय वर्ष भन्दा अगाडी भएको मानिन्छ। किम्वदन्ती अनुसार पाल्पाका राजा मुकुन्द सेन भारत जानेक्रममा यही क्षेत्रको बाटो आउँदा यहाँको मनोरम वातावरणमा केही दिन बिश्राम गरे र जानेबेलामा एक स्थानिय भट्टराई बृध्दालाई आफ्नो खड्ग राख्न दिएका थिए। फर्केर आउँदा लिएर जाने शर्त सहित छोडेको खड्ग लिन राजा न आएपछि ती वृद्धाले अनौठो सपनाहरु देख्न थालिन। यो कुरा तत्कालिन स्थानिय ठुलाबडाहरुलाई भनेपछि सो खड्गलाई मन्दिर स्थापना गरेर राखिएको हो।

(फुलपातीको दिनमा खड्गमाई मन्दिरको दृश्य)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्