आधा शुभकामना !

  • ख-
  • ख+

कहिले सासुको पालो कहिले बुहारीको पालो त होला ?

सक्नुहुन्छ हिजोका अवैधानिक तरिकाले बनाईएका सार्वजनिक सम्पत्तिहरु सार्वजनिकै बनाउने कुचेष्टा गर्नुहोला, सक्नुहुन्न अलिअलि बचेका नदिनालाका तिर, खोलाखोल्सि, वनजंगल, चौरहरु बचाउनुहोला, कसैको नाममा नगरिदिनुहोला ।


तनहूँ । नेपालमा सुकुम्वासी शव्द आफैमा अचम्मको छ, कति आफ्नो थात थलो छोडेर शहर वजारतिर झरेर आफुलाई सुकुम्वासी बनाईरहेका छन् भने कति शहरबजारतिर महल ठड्याएर भाडामा लगाउदै खोला छेउछाउका जग्गाहरु, सार्वजनिक सम्पत्तिको दोहन गरि सुकुम्वासी बनेका छन् । धेरैजसो जग्गा कब्जा गर्ने मनसायका साथ हुकुमवासीहरु सुकुम्वासी बनेका छन् । । जसले जे भनेपनि नेपालीहरु खाने बस्ने आफ्नो नाममा जग्गा नहुने सुकुम्वासीहरु खास्सै धेरै भेटिदैनन्, भेटिनुपर्ने सुकुम्वासीहरु आफ्नो नाँउमा लालपुर्जा आउछ भन्ने कुराको अत्तो पत्तो नभईकन चुहिएको घर, गन्हाएको कोठा अनि कसैले केहि गरेन हामी गरिबलाई भनेर सराप्दै जिन्दगी घिसारिरहेका छन् ।


नेपाल सरकारले देवी ज्ञवालीको अध्यक्षतामा गठित भुमि सम्बन्धि समस्या सामाधान आयोगको गठन गरेपछि अव्यवस्थित वसोवास गर्नेहरु र सुकुम्वासीहरुमा अलिकति आशा पलाएको छ तर सदा झै यसपटक पनि केहि नभएर सुकुम्वासी बनेका र अव्यवस्थित बसोवास गर्नेहरुभन्दा पनि नियतवश सरकारी जग्गाजमिन कव्जा गर्नेहरु सल्बलाएका छन् ।


सरकारले यसैक्रममा भुमि सम्बन्धि समस्या सामाधान आयोगको तनहुँ जिल्लामा पनि चयन गरेको छ । संयोजकमा पुराना कम्युनिष्ट नेता भिमाद नगरपालिकाका दधिराज सुवेदी चयन हुनुभएको छ । विज्ञ सदस्यहरुमा व्यास नगरपालिका वडा नं. १० निवासी दिर्घबहादुर दरै र बन्दिपुर गाँउपालिकाकी शान्ति कुवर चयन हुनुभएको छ ।


उक्त समितिमा पदेन सदस्यहरुमा नापि कार्यालय, जिल्ला वन कार्यालय, मालपोत कार्यालयका प्रमुखहरु रहनुहुनेछ भने जिल्ला समन्वय समिति तनहूँका समन्वय अधिकारी सदस्य सचिव रहने व्यवस्था रहेको छ ।


आयोगमा पदाधिकारी चयन राजनितिक नियुक्ति हो जुन पार्टीको सरकार आयो त्यहि अनुरुपमा नियुक्ति भयो त्यसमा भन्नु नै के छ र ? तर यतिबेला साच्चैका सुकुम्वासीको मनमा चिन्ता छ, साच्चै अव्यवस्थित बसोवास गर्नेको मनमा चिन्ता छ ? यो आयोगले पनि अघिल्ला सुकुम्वासी समस्या सामाधान आयोग झै काम पो गर्ने हो कि ? सुकुम्वासीहरु हेरेको हेर्यै हुने हुकुम्वासीको हातमा मात्र लालपुर्जा पर्ने हो कि भनेर ।


यसभन्दा अगाडि नेपाली कांग्रेसको सरकारले गठन गरेको सुकुम्वासी समस्या समाधान आयोगको पालामा तनहूँका हजारौ रोपनी जग्गाहरु व्यक्तिका नाममा दर्ता भए भलै पछि असली मालिकहरुको नाममा नामसारी गरिएपनि तर त्यतिबेला साच्चै सुकुम्वासी भएकाहरुले कमै लालपुर्जा पाएको देखियो, पंक्तिकारले जन्मदैदेखि देखेको व्यास ५ हाल व्यास १० नयाँवस्तिका वासिन्दाहरु, व्यास ३ हालको ११ कोकले डाँडाका लगायत थुप्रै सुकुम्वासी वस्तिका बासिन्दाहरुका लागि रातो लालपुर्जा साँच्चिकै सपना भएको छ । त्यतिबेला सयौ वस्तिहरु छुटे कि छुटाईए बहसको बिषय होला तर मुल्यवान जग्गाहरु ठुलाबडाहरुको नाममा गर्न कत्ति पनि छुटाईएको थिएन त्यस्को ताजा उदाहरणहरु आज हामी तनहुँ जिल्ला वरपर जताततै देख्न सक्छौ अझ तनहूँको सदरमुकाम दमौली बजारको कालिका मन्दिरको डाँडोमा चढेर छातिमा हात राखेर हेर्न र भन्न सक्छौ हिजो दमौली बजार कहाँ कहाँ खाली थियो, हिजो मादि नदि, बुल्दि खोला, डाङ्ग्रे खोल्सी कहाँ कहाँबाट बग्दथ्यो , दमौली वजार वरपरका जग्गाहरु कहाँ कहाँ कस्ले खेति गर्दथ्यो , दमौलीको कहाँ कहाँको जग्गामा कस्ले गोठ बनाएको थियो , दमौली वरपरका कुन कुन चौरमा कस्ले तिल छर्दथ्यो भनेर ।


राम्रै हो आयोग त बन्यो आयोगले सुकुम्वासी र अव्यवस्थित बसोवासलाई त व्यवस्थित बनाउनुपर्छ तर धेरैको मनमा संशय छ नेपालबाट सुकुम्वासी समस्या निर्मुल गर्ने उद्धेश्यका साथ गठन भएको यो आयोगले भुमिहिनहरुको लागि जग्गा उपलब्ध गराउने र अव्यवस्थित जग्गाहरुलाई व्यवस्थित गर्ने लक्ष्य लिएको छ, यो अयोगले पनि फेरि हाम्रा खोला खोल्सि पुर्ने पो हो कि , सार्वजनिक जगाहरु कार्यकर्ताको नाममा अझ बिशेषगरि जुनसुकै पार्टीका भएपनि पैसावाला र पावरवालको नाममा गर््ने पो हो हुन् कि ? जनताको मनमा संशय छ परापूर्वकालदेखि खेलिरहेको चौर, हिडिरहेको वाटो, पिसाव फेरिरहेको खोल्सि भोलि कसैले मेरो हो भनेर लालपुर्जा देखाउछ कि ? यसो कुनै आदिवासीको जनजातिको घर नजिकैको वन, जंगल, खोला , चौर यसो उसैको नाममा दर्ता गरेर पछि आफुले किनेकोे झै गरेर आफ्नो नाममा नामसारी गर्ने अर्को समुह जन्मिन्छ कि भनेर ?
बजारभर हल्ला छ सरकारले सुकुम्वासी र अव्यवस्थित बसोवासलाई त व्यवस्थित बनाउनुपर्छ भनेर भुमि सम्बन्धि समस्या समाधान आयोग त गठन गर्यो तनहूँँमा पदाधिकारीहरु त तोक्या राम्रै हो तर अघिल्ला सुकुम्वासी समस्या सामाधान आयोगका कामकारवाहि नियाल्दै शंकाको लाभ लिदै मानिसहरु भन्न थालेका छन् ‘कहिले सासुको पालो कहिले बुहारीको पालो’ भनेको जस्तै त होला नि ? बडो मझधारमा उभिएको छ भुमि सम्बन्धि समस्या समाधान आयोग तनहूँका पदाधिकारीहरुको कार्यकाल । पदाधिकारीहरुलाई आशिंक बधाई तथा शुभकामना सक्नुहुन्छ हिजोका अवैधानिक तरिकाले बनाईएका सार्वजनिक सम्पत्तिहरु सार्वजनिकै बनाउने कुचेष्टा गर्नुहोला सक्नुहुन्न अलिअलि बचेका नदिनालाका तिर, खोलाखोल्सि, वनजंगल, चौरहरु बचाउनुहोला, कसैको नाममा नगरिदिनुहोला ।
केहि नहुनेलाई सुकुम्वासी भनिन्छ त्यस्ता सुकुम्वासीलाई पुर्जा दिनुहोला र केहि नहुने मानिस कहि छाप्रो हाल्ने ठाँउ नपाएपछि अव्यवस्थितरुपमा बस्न बाध्य हुन्छन् त्यस्तालाई व्यवस्थित बनाउनुहोला, फेरि तपाईहरु पनि अव्यवस्थित बसोवासलाई व्यवस्थित बनाउने नाममा करोडपतिलाई अरबपति बनाउन लाग्नुभो भने अघिल्लो पालामा जस्तै फेरि हामी तनहूँवासीले कहिले सासुको पालो कहिले बुहारीको पाला भन्दै आयोगलाई कुरीकुरी भन्दै बस्नेछौ । हामी चाहान्छौ त्यस्तो दिन कहिल्यै नआवोस् फेरि पनि आधा शुभकामना, पुरा शुभकामना त हुकुम्वासीले हैन सुकुम्वासीले जग्गा लालपुर्जा पाए पछि दिउँला, पुरा शुभकामना त सार्वजनिक जग्गा हडपेको धनिमानीले हैन साच्चै अवस्थित बसोवास गर्ने गरिव गुरुवाले लालपुर्जा पाएपछि दिउँला ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्