रामचन्द्र पौडेल र गोविन्दराज जोशीको मिलन गराउदै शंकर भण्डारी

  • ख-
  • ख+

अब चाडै नै नेपाली कांग्रेसले गोविन्दराज जोशीको कारवाही फुकुवा गर्नेछ र तनहूँ कांग्रेसका कार्यकर्ताले पौडल र जोशी एउटै मन्चमा गम्लागं अंगालो हालेको देख्ने दिन आउनेछ । कांग्रेसका कार्यकर्ता त्यहि दिनको प्रतिक्षा गरिरहेका छन् र यो बुढेशकालमा पौडेलबाले जोशीसरसग कसरी नजर जुधाउलान् त्यो दिनको बडो व्यग्रताका साथ प्रतिक्षा गरिरहेका छन् ।

राजनीतिमा कोहि पनि स्थायी मित्र हुदैन र कोहि पनि स्थायी शत्रु हुदैन भन्ने भनाईलाई नेपालका नेताहरुले बेलाबेलामा प्रमाणित गरिरहनुभएको छ । सत्ता र स्वार्थको लागि सिद्धान्त, बिचार र भन्दा राम्रो सुनिने गरिएको नैतिकता र राजनीतिक दुश्मनी पनि सजिलै भुलेका प्रसंगहरु जताततै देखिदै आईएको छ । पछिल्लो समय तनहूँ कांग्रेसमा पनि त्यस्तै दृश्य देखिने आंकलन धेरैले गरिरहेका छन् ।
नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल तनहूँको नेता अनि गिरीजाप्रसाद कोईरालाको प्रधानमन्त्रीकालमा पावरफुल मन्त्री र गिरीजाप्रसाद कोईरालाको भित्री मान्छे नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशी पनि तनहूँकै , दुवैको काम गर्ने भिन्न शैली, कार्यकर्तालाई जागिर लगाउने, कार्यकर्ता संरक्षण गर्ने शैली पनि भिन्नभिन्न, को गिरीजाबाबुको नजिक पुग्न सकिन्छ ? भन्ने दौडादौडले गर्दा एउटै जिल्लाका समकालिन नेता भएपनि वहाँहरु बिच कहिल्यै पनि सुमधुर सम्बन्ध रहन सकेन । वहाँहरु मात्र होईन वहाँका कार्यकर्ताले पनि एक अर्का गुटको नेताको बदख्याई र बदनाम गर्न जिल्लामा कुनै कसर राख्नुभएन । रामचन्द्र पौडेल र गोविन्दराज जोशीले जिल्लामा मात्र होईन केन्द्रमा पनि एकले अर्कोको अस्तित्वलाई नस्विकार्ने अवस्था आईरहदा एकाएक पूर्व गृहमन्त्री गोविन्दराज जोशीको गिरिजाप्रसाद कोईरालासग सम्बन्ध खराब हुन पुग्यो त्यहि खराब सम्बन्ध चल्दाचल्दै वहाँलाई भ्रष्टाचारको मुद्धा लागेपछि त के चाहियो र जोशीका बिरोधीहरुलाई ? गोविन्दराज जोशीलाई उठ्नै नदिने गरि पछार्ने प्रयाश गरियो त्यहि प्रयाशका बिच तनहूँमा अर्को नेताको जन्म भयो वा गराईयो । वहाँ हनुहुन्थ्यो नेपाल शंकर भण्डारी, गोविन्दराज जोशी चुनाव लडिरहने क्षेत्र जोशीको पोल्टाबाट खोसी शंकर भण्डारीलाई दिईयो ।
आफ्ना सधैका प्रतिद्धन्द्धि गोविन्दराज जोशीलाई तह लगाउन नसक्नुभएका रामचन्द्र पौडेलले आफ्नो गुटको नभएपनि शंकर भण्डारीलाई अगाडि बढाएर गोविन्दराज जोशीको शक्ति तेजवोध गरेर सन्तोषको सास फेर्न खोज्दा खोज्दै आफै तत्कालिन नेकपा एमालेका युवा उमेदवार कृष्णकुमार श्रेष्ठ किसानसग निर्वाचनमा नराम्ररी पराजित हुन पुग्नुभयो । रामचन्द्र पौडेलले निर्वाचनमा पराजय पश्चात कृष्णकुमार श्रेष्ठ किसानलाई फुलमाला लगाएर विजयी जनप्रतिनिधि स्विकारे पनि “मलाई हराउन गोविन्दराज जोशीको नै प्रमुख भुमिका छ ” भन्दै सूका अर्थात सूर्यमा भोट हाल्ने कांग्रेसलाई कारवाही गर्नुपर्छ भन्दै देउवालाई मनाएर केन्द्रिय कार्यालयबाट नै गोविन्दराज जोशीलाई पार्टीमा कारवाहिको प्रक्रिया अगाडि बढाउनुभयो ।
“दुनियाँलाई नैतिकताको पाठ पढाउने, १४ , १४ बर्ष जेल बसेको मसग सिगौरी खेलेर मलाई चुनाव हराउने ? लौ खा ठिक पारे” भनेर लामो सास फेर्न नपाउदै बुढेशकालमा फेरि जोशी मार्काकै प्रतिद्धन्द्धि जिल्लामा जन्मेको आभाष भएपछि नचाहदा नचाहदै पनि केन्द्रमा गोविन्दराज जोशीलाई कारवाहि फुकुवा गर्न वडाबाट माग गरिएको पत्र पठाउन तनहूँ कांग्रेस सजिलै तयार भयो, रामचन्द्र पौडेलले नचाहेको भए जावो वडाको कारवाही फुकुवा गरि पाँउ भन्ने सिफारिस पत्र केन्द्रमा पठाउने कस्को मजाल ?
बडो रोचक र घोचक रहेको छ तनहूँमा रामचन्द्र पौडेल र गोजिन्दराज जोशीको दुश्मनी तर आज अचानक नजिक हुने दिन आउन लाग्दा कांग्रेसका नेता तथा कार्यकर्ताहरु दंग परिरहेका छन् । धेरैले कम्युनिष्टहरुको फुट भईरहेको समयमा आगामी निर्वाचनमा सजिलो होस् भन्नका खातिर जोशीलाई कारवाही फुकुवाको प्रसंग उठ्दा पौडेल चुपचाप रहेको आंकलन गरेका छन् । कतिले भने तनहूँका सम्पूर्ण युवा नेताहरु शंकर भण्डारी, गोविन्द भट्टराई, प्रदिप पौडेल, ध्रुव वाग्ले शेरबहादुरको नजिक र त्यता शक्तिशालि बन्न लागि रहदा जिल्लामा बलियो बन्नको लागि पौडेलले जोशीसग एकता गर्नको लागि चुपचाप बसेको अर्थ लगाईरहेका छन् । विपरित ध्रुवका नेपाली कांग्रेसका नेताहरु अझ जोशीलाई नेपाली कांग्रेसका नेता नै नठान्ने वरिष्ठ नेता पौडेल जोशीको कारवाहि फुकुवाको प्रसंगमा उठ्दा चुपचाप बस्नुको कारण रामचन्द्र पौडेलको मन फर्केको नभई बाध्यता रहेको बुझिरहेका छन् र त्यो जवरजस्त बाध्यता श्रृजना गर्नेे नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पूर्व मन्त्री शंकर भण्डारीलाई सम्झदै मुसुमुसु हाँसिरहेका छन् ।
गोविन्दराज जोशीलाई तह लगाउन टिकट सिफारिस गरेपछि खुमबहादुर गुट हुदै शेरबहादुर गुटमा पनि शक्तिशाली बन्न लाग्नुभएका भण्डारीले तनहूँ जिल्लाको निर्वाचन क्षेत्र नं. १ मा आँखा लगाउन थालेको पौडेल र वहाँको खेमाका लागि लागि बिझाईरहेको छ भने खुमबहादुरसग भिड्ने सामर्थ राख्ने जोशीलाई खुमबहादुरको चेलो जिल्लामा शक्तिशाली हुने दिशामा अग्रसर भईरहेको अवस्था कसरी पाच्य हुन सक्छ ?
“अरे राजा म पनि नेपाली कांग्रेसको युवा नेता हो, केन्द्रिय सदस्य हो, यो जिल्लाको पूर्व जनप्रतिनिधि हो, पूर्व मन्त्री हो, तरुण दलको विभाग प्रमुख हो के मलाई नेपाली कांग्रेसको जिल्ला नेतृत्वले कुनै कार्यक्रममा प्रमुख अतिथि बनाउनै नहुने ? जिल्लाको कार्यक्रम हुँदा कि पौडेल दाई कि पौडेल दाईले तोकेको नेताभन्दा अरुलाई कांग्रेसको जिल्ला नेतृत्वले गन्दै नगन्ने ? बाहिर रहेका कम्युनिष्ट शक्तिसग त लडिन्छ लडिन्छ कोठे बैठकबाट पछाडि पार्न खोजेको खोज्यै गरियोे भने आफ्नै पार्टीमा पनि लडिन्छ” भन्ने शंकर भण्डारीको बढ्दो कद र बढ्दो कुटनीतिले विपरित धु्रवका दुई शेरहरुलाई एकै ठाँउमा उभ्याउन गईरहेको छ ।
अब चाडै नै नेपाली कांग्रेसले गोविन्दराज जोशीको कारवाहि फुकुवा गर्नेछ र तनहूँ कांग्रेसका कार्यकर्ताले पौडल र जोशी एउटै मन्चमा गम्लागं अंगालो हालेको देख्ने दिन आउनेछ । कांग्रेसका कार्यकर्ता त्यहि दिनको प्रतिक्षा गरिरहेका छन् गम्लागं अंगालो हाल्नुको कारक शंकर भण्डारीलाई मनमनै धन्यवाद दिईरहेका छन् र यो बुढेशकालमा पौडेलबाले जोशीसरसग कसरी नजर जुधाउलान् त्यो दिनको बडो व्यग्रताका साथ प्रतिक्षा गरिरहेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्