विकासको नाममा राजनीति गरे सैह्य हुँदैनः निवर्तमान सांसद श्रेष्ठ

  • ख-
  • ख+

तनहूँ / प्रतिनिधि सभाका निवर्तमान सांसद एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य कृष्णकुमार श्रेष्ठ किसानले विकासको नाममा राजनीति गरे आफुलाई सैह्य नहुने बताउनुभएको छ । आफु विकासको काममा कहिल्यै पनि पार्टी र जाती नहेर्ने भन्दै श्रेष्ठले अरु कसैले पनि विकासको काममा राजनीति गरे त्यसलाई आफुले नसहने बताउनुभएको छ ।
व्यास नपा १ ठुलोगाउँ टोल स्थित ठुलोगाउँ टोल र लालिगुराँस आमा समुहको भवनको शनिबार शिलान्यास गर्दै श्रेष्ठले हिजो काँग्रेसले २५ वर्षसम्म तनहूँमा विकासको नाममा सिन्को नभाँचेको कारण आफु जवरजस्ती राजनीतिमाआउनु परेको श्रेष्ठले बताउनुभयो । ‘काँग्रेसले विकास गरेको भए, म आउनु नै पर्थेन’ श्रेष्ठले भन्नुभयो ‘तनहूँका जनताको माग र चाहाना बमोजिम नै आफु
राजनीतिमा आएको हो र अव जनताकै सेवामा लागिरहन्छु ।’ समृद्ध तनहूँ निर्माण गर्ने अभियानको नेतृत्व अव आफुले लिएको श्रेष्ठले बताउनुभयो ।
नेपाली काँग्रेसले २५ वर्षसम्म तनहूँलाई अन्धकारमा राखेको र आफु आएपछि जनता विकासप्रति लालायीत भएको श्रेष्ठको भनाई थियो । दमौलीदेखी छाब्दी बराही मन्दिर जाने बाटो कालोपत्रे गर्न पनि किसान नै आउनु प¥यो भन्दै श्रेष्ठले छाब्दी बाराही जस्ता धेरै बाटोहरु आफुले निर्माण गरिसकेको बतउनुभयो ।
व्यास नपा १ मा नेपाली काँग्रेसको नेतृत्वको स्थानीय तहले चार वर्षमा विनियोजन गरेको बजेट भन्दा धेरै आफुले एक वर्षमा ल्याएको श्रेष्ठको भनाई थियो ।
टोल विकास संस्थाको भवन शिलन्यास कार्यक्रममा नेपाली काँग्रेसका नेताहरु तथा नेपाली काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिको अनुपस्थिती प्रति ब्यङ्ग्य गर्दै श्रेष्ठले अब किसानको नाम सुन्नासाथ काँग्रेसहरु पर पर भाग्नु पर्ने अवस्था आएको बताउनुभयो । अव बैशाख १७ र २७ गते मध्यावधी निर्वाचन हुन गईरहेको भन्दै श्रेष्ठले उक्त निर्वाचनबाट विकास बिरोधीहरुलाई सँधैकोलागि परास्त गर्नु पर्ने बताउनुभयो ।


सो कार्यक्रममा व्यास नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष विश्व न्यौपानेले काँग्रेसको नेतृत्वको नगरपालिकाले विकासमा राजनीतिकरण गरेको आरोप लगाउनुभयो । जहाँ आफ्ना आसेपासेहरु छन् त्यही नै धेरै बजेट पार्ने र बजेटको रकमलाई खोलाको पानी बगाएसरी बगाउने गरेको न्यौपानेले आरोप उनुभयो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का जिल्ला सचिवालय सदस्य एवं दमौली अस्पतालका अध्यक्ष प्रदिपराज अधिकारीले किसान श्रेष्ठको नेतृत्वमा तनहूँ क्षेत्र नम्बर १ मा विकासको लहर आएको बताउनुभयो ।
ठुलोगाउँ टोल विकास संस्थाका अध्यक्ष कृष्णबहादुर दरैको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा नेकपा जिल्ला सचिवालय सदस्य सिद्धान्त थापामगर, नेकपा जिल्ला सदस्य निर्मल पण्डित, नेकपा व्यास ३ का वडा अध्यक्ष अनिल पाण्डे , नेकपा व्यास १ का वडा अध्यक्ष ज्ञानेन्द्र बसौला, सचिव बादल आले, सदस्य कृष्ण भट्ट, तालघरे टोल विकास संस्थाकी अध्यक्ष सोममाया गुरुङ लगायतले मन्तव्य राख्नुभएको थियो ।
उक्त कार्यक्रम संस्थाका सचिव रुमबहादुर थापाले संचालन गर्नुभएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्