तनहुँ, असार १५ — म्याग्दे गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि रु. ७४ करोड ३२ लाख ७८ हजारको बजेट, नीति तथा कार्यक्रम सर्वसम्मत रूपमा पारित गरेको छ।

गाउँपालिकाको २०औँ गाउँसभाको तेस्रो बैठकबाट उक्त बजेट पारित गरिएको हो। गाउँपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न बैठकमा उपाध्यक्ष बालकृष्ण घिमिरे, प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारी, वडा अध्यक्षहरू, गाउँसभा सदस्य, कार्यपालिका सदस्य, कर्मचारी तथा विभिन्न क्षेत्रका सरोकारवालाको सहभागिता रहेको थियो।

उपाध्यक्ष बालकृष्ण घिमिरेले दोस्रो गाउँसभामा प्रस्तुत गर्नुभएको बजेटमाथिको छलफलपछि गाउँसभाले सर्वसम्मत रूपमा अनुमोदन गरेको हो। पारित बजेटमध्ये रु. ४७ करोड ९३ लाख चालु खर्चतर्फ र रु. २६ करोड ३९ लाख पुँजीगत खर्चतर्फ विनियोजन गरिएको छ।

बजेटका लागि संघीय र प्रदेश सरकारका विभिन्न अनुदान, राजस्व बाँडफाँड, आन्तरिक आय, सामाजिक सुरक्षा भत्ता तथा नागरिक साझेदारी कार्यक्रमलगायतका स्रोतबाट आवश्यक रकम जुटाइने अनुमान गरिएको गाउँपालिकाले जनाएको छ।

वडागत बजेट विनियोजनअनुसार वडा नं. १ लाई रु. ५० लाख ७५ हजार, वडा नं. २ लाई रु. ५५ लाख ३१ हजार, वडा नं. ३ लाई रु. ४५ लाख, वडा नं. ४ लाई रु. ५० लाख ४७ हजार, वडा नं. ५ लाई रु. ४६ लाख, वडा नं. ६ लाई रु. ५१ लाख तथा वडा नं. ७ लाई रु. ५० लाख विनियोजन गरिएको छ।

गाउँसभाले शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन, पूर्वाधार विकास, खानेपानी, पर्यटन, युवा तथा खेलकुद, महिला सशक्तीकरण, सामाजिक सुरक्षा, वातावरण संरक्षण र सुशासनलाई आगामी वर्षका प्रमुख प्राथमिकताका रूपमा समेट्दै नीति तथा कार्यक्रम पनि पारित गरेको छ।

बैठकलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले पारित बजेट तथा योजनाको पारदर्शी, प्रभावकारी र परिणाममुखी कार्यान्वयनमार्फत नागरिकले प्रत्यक्ष अनुभूति गर्ने विकासलाई प्राथमिकतामा राखिने बताउनुभयो।

उपाध्यक्ष बालकृष्ण घिमिरेले जनप्रतिनिधि, कर्मचारी र स्थानीयवासीबीचको सहकार्यबाट गाउँपालिकाले तय गरेका विकासका लक्ष्य हासिल गर्न सकिने विश्वास व्यक्त गर्नुभयो।

प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारीले गाउँसभाबाट पारित नीति, कार्यक्रम र बजेटलाई समयमै कार्यान्वयन गर्न प्रशासनिक संयन्त्र पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभयो।